अभागीले मात्रै छोराछोरीको मलामी जानुपर्छ भन्थे - विक दम्पती

अमेरिका जान हिंडेको छोरोको मृत्युले दुखी विक दम्पती । तस्वीर: गोपाल गडतौला
गोपाल गडतौला, झापा दमक– १० को एक सुकुम्मबासी परिवारले देखेका सपना र सुखका सम्भावना भीमसेन स्तम्भसँगै ढलेका छन् । घिल्लो सोमबार हसिँलो अनुहार लगाँउदै घरबाट हिँडेको कान्छो छोरो रमेश सम्झिँदै आमा हिरादेवी विक (५२) बारम्बार भक्कानिन्छिन् । घरबाट काठमाडौं लाग्नुअघि छोरोले उनलाई हातमा फुलको थुँगा थमाँउदै भनेको थियो,“आमा अब हाम्रा दुखका दिन सकिए, तपाइँले मजदुरी गर्नु पर्दैन ।” निरक्षर हिरादेवीलाई छोरोले बेलडाँगी शिबिरकी भुटानी शरणार्थी युवतीसँग कागजी विवाह गरी अमेरिका उड्न लागेको पत्तै थिएन् । बाबु वीरबहादुर (५९) लाई भने रमेशले केही साताअघि बिहेबारे बताउँदै आफू अमेरिका जाने संकेत दिइसकेका रहेछन् । “हाम्रो सुकुम्बासीको छाप्रेबास सकिन्छ भन्थ्यो” वीरबहादुरले बलिन्द्र आँसुधारा चुहाँउदै भने, “बिचरा दुखको भारी बोकाएर गयो ।” शनिबार मध्यान्ह हुन केही मिनट बाँकी हुँदा भूकम्पले राजधानीलगायतका स्थानमा विध्वंस मच्चाएको खबर सञ्चार माध्यमले फुक्न थाले । भोलिपल्ट बिहानै हिरादेवी र वीरबहादुरले उनीहरुलाई सुखका सपना देखाउने कान्छो छोरो धरहरामै पुरिएको खबर सुन्नु पर्‍यो ।
रमेश जसको धरहरामा पुरिएर मृत्यु भयो ।
“हामी साह्रै अभागी रहेछौं” रुँदै विक दम्पतीले भने, “अभागीले मात्रै छोराछोरीको मलामी जानुपर्छ भन्थे ।”
वीरबहादुर दमक ११को एउटा सुन पसलमा गहनाबनाउने कलिगढको काम र श्रीमती हिरादेवी डकर्मी काम गर्छन ।
करिब एकसाता काठमाडांै बसेका रमेशले शनिबार बिहान अन्तिमपटक घरमा फोन गरी आफू सोमबार अमेरिका उड्दैछु भनेकाथिए ।दाँयाहातमा मायाँ लेखिएको ट्याटु बनाएका रमेश पाँच वर्ष अघिदेखि पुनर्वास भएर बिभिन्न मुलुक पुगेका भुटानी शरणार्थीले मगाएका सामान दमकबाट कुरियर गरी पठाँउथे । १२ कक्षा पढेका रमेशको कमाई राम्रै थियो ।
गाँउको २७ वर्षे तन्नेरी बितेको खबरले दमक १०को सुकुम्बासी बस्तीमा शोक छाएको छ ।भत्किएकोे धरहराबाट भिकिएको रमेशको शव धरान ल्याई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
रोजगारीको लागि साउदी अरब गएका रमेशका दाजु तेजबहादुर फर्किएपछि उनको बुधबार अन्त्येष्टी गरिने परिबारले बताएको छ ।
साभार : हिमाल खबर 

No comments:

Post a Comment