दाङमा विपन्न समुदायका लागि इनार खन्न सहयोगका लागि अपील

चैत्र २२ 
भनिन्छ भोकोलाई भरपेट खान दिनु र तिर्खाएकालाई पानी दिनु सबैभन्दा ठूलो धर्म हो। अहिले दाङका विपन्न समुदायका लागि आउँदो सुख्खायाममा दशवटा इनार खन्ने अभियानमा सहयोग जुटाउन सामाजिक अभियन्ताहरुले आह्वान गरेका छन्। झण्डै १४ वर्ष अघि स्वयंसेवकको रुपमा नेपाल पुगेकी एकजना ब्रिटिश नागरिक एलिस रथ फिशरले शुरु गरेको उक्त अभियानमा उनका साथीहरुका साथै संसार भरि फैलिएका नेपालीहरुले पनि सघाइ रहेका छन्। 

आउँदो पन्ध्र अप्रीलसम्म चार हजार पौण्ड (झण्डै छ लाख रुपियाँ) जुटाउन क्राउडफण्डिङ मार्फत थालिएको उक्त अभियान अन्तर्गत अहिलेसम्म २४०० पौण्ड भन्दा बढी जुटीसकेको छ। “हामीले १५ अप्रिलसम्म चार हजार पौण्ड जुटाउनै पर्छ, नत्र यो अभियान असफल हुनेछ। त्यसैले म नेपाललाई माया गर्ने ब्रिटिश र संसारभरि फैलिएका गैरआवासीय नेपालीहरुलाई यो अभियानमा सक्दो सघाउन अपील गर्दछु,” एलिसले भनिन्। तपाईंहरुको सानो सहयोग पनि विपन्न परिवारहरुकालागि एउटा अमूल्य उपहार हुनेछ,” उनले भनिन्। दाङका सौंडियार, हापुर, नारायणपुर र धर्ना गाविसमा स्थानीय थारु तथा दलित समुदायका लागि बनाइने ती इनारहरुले विपन्न परिवारहरुलाई पिउने पानी जस्तो अत्यावश्यक स्रोतसम्म पहुँच सुनिश्चित गर्ने अभियानमा संलग्न एकजना युवा तीर्थ पौडेलले बताए। 

“यसबाट प्रदूषित पानीका कारण झाडा पखालाबाट ज्यान जाने कैयौं बालबालिकाहरुको जीवन बाँच्ने छ भने एक गाग्री पानी भर्न टाढा टाढा जान वाध्य ग्रामीण महिलाको समय पनि बचत हुनेछ,” उनले भने। पुण्य कमाइने यो अभियानमा http://www.crowdfunder.co.uk/dig-deep-10-fresh-water-wells-in-nepal मा गएर सहयोग गर्न सकिन्छ। इनार निर्माणको काम दाङको प्रतिष्ठित गैरसरकारीसंस्था मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रसंगको सहकार्यमा गरिने पनि अभियानकर्ताहरुले जनाएका छन्। 

साभार :-nepalbritain.com

No comments:

Post a Comment