चालक धनसुधा रणपहेलीलाई २० हजार रुपै‌या पुरस्कार

काठमाडौं, चैत २६ – ट्याक्सीमा छुटेको ४ हजार ८२ अमेरिकी डलर अर्थात नेपाली चारलाख भन्दा धेरै रकम फिर्ता गर्ने ट्याक्सी चालक पुरस्कृत भएका छन् । चालक धनसुधा रणपहेलीलाई चार थाई नागरिकले २ सय अमेरिकी डलर अर्थात नेपाली झण्डै २० हजार रुपै‌या पुरस्कार दिएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफ्नो हराएको पैसा ट्याक्सी चालकबाट फिर्ता लिँदै थाई नागरिकले इमान्दार चालकको प्रशंसा गरे । थाई नागरिक भारुवुतले भने, ‘नेपालीहरु इमान्दार हुन्छन् भन्ने सुनेका थियौं, त्यसको प्रत्यक्ष अनुभूति गर्न पायौं ।’
अर्की थाई नागरिक थानामोनले खुशी व्यक्त गर्दै भनिन्, ‘हामी १३ दिनका लागि नेपाल घुम्न आएका थियौं, काठमाडौं उत्रिएको भोलिपल्टै पोखरा जांदै थियौं, यदि त्यो पैसा नभेटिएको भए हामी काठमाडौंमै बेखर्ची हुन्थ्यौं, चालकको इमान्दारिताले हामी आफै‌ले गुमाएको पैसा फिर्ता पायौं ।’ भारुवुत र थानामुन सहित चाओवालित र थान्यापात सहितका चार थाई नागरिक बुधबार मलेसिया हुँदै नेपाल आएका थिए । बुधबार दिउँसो साढे ३ बजे काठमाडौं उत्रिएका उनीहरुले रणपहेलीले चलाएको बा १ ज २८९३ नम्बरको ट्याक्सी चढेर ठमेल गएका थिए ।
अमेरिकी ६ डलर भाडा तोकेर ठमेल पुगेका उनीहरुले १ डलर चालक रणपहेलीलाई टिप्स सहित ७ डलर दिएर उत्रिएका थिए । भाडा दिने क्रममा आफ्ना पैसाको थैलो ट्याक्सीको सिटमा खसेपनि आफुहरुले चाल नपाएको भारावुतले सुनाए ।
चालक रणपहेली एयरपोर्टमै पुगेर ग्यारेजमा ट्याक्सी थन्क्याउने क्रममा ढोका लक गर्ने क्रममा सिट मुनी रहेको थैलो देखेपछि खोलेर हेर्दा पैसा भेटे । त्यसपछि उनी फेरि ठमेल पुगी पैसा फिर्ता दिएका थिए ।
चालक होटलमा फर्किएर आउँदासम्म आफुहरुको पैसा हराएको थाहा नै नपाएकोले सुरुमा बेवास्ता गरेको थानामुनले बताईन् । पछि मात्र थाहा पाएर होटलको सहयोगमा प्रहरी समक्ष आएको उनले बताईन् ।
 झापा शिवगञ्जका ट्याक्सी चालक ४९ वर्षीय रणपहेली २०५२ सालदेखि यातायात मजदुरीमा छन् । हाल काठमाडौं एयरपोर्ट कालिमाटी टोल बस्दै आएका उनी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी ईकाईका सदस्य हुन्।  उनी १० वर्षदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ट्याक्सी चलाईरहेका छन् । 

1 comment: