दलितभित्रको छुवाछूत गैर दलितले गर्ने व्यवहार जस्तै - गोकर्ण दयाल

बैतडी । छुवाछूत मुक्त राष्ट्र घोषणा भए पनि बैतडी जिल्लाका ९० प्रतिशत दलित समुदायले अझै छुवाछूत जन्य व्यवहार खेप्नु परिरहेको बताएका छन् ।दलित हक अधिकार र समानताका लागि गैर सरकारी संस्थाहरुले करोडौ रकम खर्च गरे पनि गैर दलितको जस्तै दलित समुदाय भित्र पनि “रोटी” र “बेटीको” विभेद कायम रहेको बैतडीका दलित अगुवा नेताहरुले बताउनुभएको छ ।
बैतडीको सित्तड गाउँविकास समिति–४ घर भई हाल डडेल्धुरा जोगबुडा गाविस बस्दै आएका भीमबहादुर विकले सोही ठाउँ बस्ने विपना खाती क्षेत्रीसित आन्तरजातीय विवाह गरेपछि दलित परिवारलाई ज्यान मार्ने धम्की दिदै स्थानीय गैर दलितले विश्वकर्मा परिवारलाई गाउँ निकाला गरि घरमा ताला लगाएपछि न्ययका लागि पीडित परिवार बैतडी सदरमुकाम आईपुगेका छन् ।
छुवाछूत तथा जातीय विभेदका बिरुद्ध राज्यले कडा कानुन बनाएको भए पनि छुवाछूत अन्त्य नभएको र स्वरुप बदलिएर त्यो नयाँ तरिकाले व्यवहारमा आईरहेको हलियाका अगुवा नेता राजुराम भुलले बताउनुभयो । राशन,आशन र शासनमा दलित समुदायको पहुँच नहुनुले यो कुराको पुसष्टि भएको नेता भुलले बताउनुभयो । सार्वजनिक मठ मन्दिर र समारोहमा दलितहरुले स्वतन्त्र पूर्वक प्रवेश गर्न सक्ने वातावरण सिर्जना हु्न नसकेको दलित अगुवा नेता भुलले बताउनुभयो ।
जातीय विभेद र छुवाछूत दलित र गैर दलित समुदाय भित्र नराम्रो चिन्तन र संस्कारका रुपमा रहेकाले चिन्तन र संस्कार नबद्लिएसम्म छुवाछूतको अन्त्य नहुने स्थानीय बुद्धिजिवी महेश वडले बताउनुभयो । विश्वकर्मा,सार्की,परियार र अन्य दलित समुदायवीच जातीय विभेद कायम रहेको भन्दै दलित सुमुदायका बिद्यार्थी नेता दिनेश नागारीले दलित समुदायभित्र गैर दलितको जस्तै रोटी र बेटी नचल्ने भएकाले दलितभित्रको छुवाछूत गैर दलितले गर्ने व्यवहार जस्तै भएको बताउनुभयो । दलित समुदायभित्र पनि रोटी र बेटी न चल्ने भएकाले जातीय विभेद कायम रहेकोमा दलित अगुवाहरु सहमत देखिन्छन् ।
जातीय विभेद केवल जातीय छुवाछूतको मात्र विषय नभएर यो सामाजिक समस्या भएकाले समाजले छुवाछूत र विभेदलाई घृणा नगरेसम्म यो अन्त्य नहुने भएकाले राज्यले छुवाछूत गर्नेलाई कार्वाही र नगर्नेलाई प्रत्साहन दिनु पर्ने अधिवक्ता राजेन्द्र साउदले बताउँनुभयो । छुवाछूतका विषयमा बलियो कानुन बनेको भए पनि राज्यका निकायहरु उदासिन बनेका कारण बैतडीमा पछिल्लो समय जातीय विभेदका घट्ना बढ्दै गएको अधिवक्ता साउदले बताउनुभयो । बैतडी जिल्लामा राष्ट्रिय दलित आयोगले २१ वटा दलित समुदायलाई दलित जातीको सूचिमा सुचिकृत गरेको बताउँदै दलित अगुवा सरस्वति नेपालीले दलित समुदायभित्र पनि गैर दलितको जस्तै छुवाछूत गर्ने संस्कारको अन्त्य हुन नसको दाबी गर्नुभयो ।

विश्वकर्मा समुदायले अझै पनि परियार अन्य दलितहरुसित रोटी र बेटीको साईनो गाँस्न चाहँदैनन् भन्ने कुराको पुष्टि गत वर्ष बैतडीको रुद्रेश्वर गाविसका नरेश परियारले सोही ठाउँका विश्वकर्मा समुदायकी युवतिसित प्रेम विवाह गरेपछि स–परिवार गाउँ निकाला हुनु परेको घटनाले दलितभित्रको विभेदलाई पुष्टि गरेको दलित अगुवा सरस्वती नेपालीले बताउनुभयो । दलित र सिमान्तकृत समुदायका बारेमा राज्यले काननुन बनाएको छ,गैर सरकारी संस्थाहरुले पनि करोडौं रकम खर्च गरिरहेका छन् तर छुवाछूत र जातीय विभेदका घट्ना बढ्दै गएका छन् । पछिल्लो समय दलित आन्दोलन चिन्तन र विचारमुखी भन्दा पनि डलरमुखी भएकाले केही सिमित व्यक्ति मोटाएको र दातृ निकायले सहयोग रोक्ने बित्तिकै एनजीओमुखी दलित आन्दोलन सकिने हलिया नेता राजुराम भुलले बताउनुभयो ।

No comments:

Post a Comment