मागेरै अन्तरजातीय विवाह

गाेविन्द शर्मा / उज्यालाे । नेपालगन्ज, चैत २५ – नेपालगञ्जमा परिवारको सहमतिमा क्षेत्रीको छोरा र दलित समुदायकी छोरीबिच विवाह भएको छ । बाँकेको फत्तेपुर ७ सइयापुरका २१ वर्षका सुकलाल विष्टले आफ्नै गाउँकी नरमती विकसँग अभिभावकको सहमतिमा मागी विवाह गर्नुभएको हो ।
छोरी माग्न आएका विष्ट परिवारलाई नरमतिका बुबा मतीलाल र आमा दिलकुमारीले विवाहपछि छोरीले दुःख पाउने हो कि भनेर प्रश्न समेत गर्नुभएको थियो ।
छोराको रोजाई अनुसारको  केटी माग्न गएका दुर्गाबहादु विष्ट र मिनाकुमारी विष्टसँग विक परिवार भविष्यमा छोरीले दुःख नपाओस भन्दै सजिलै विवाहका लागि राजी भएका थिए ।
धुमधामसँग भएको विवाह भोज खान अधिकांश गाउँलेहरु पनि विष्टको घरमा पुगेका थिए ।  विष्ट स्थानीय उच्च माविमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ  भने विकले भर्खरै एसएलसी परीक्षा दिनुभएको हो ।
एक महिनाअघि फागुन ७ गते विवाह गरेका सुकलाल र नरमतिले प्रोत्साहन रकम माग गर्दै बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएपछि बिक र क्षेत्रीबिच परिवारकै सहमतिमा विवाह भएको जानकारीमा आएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका नायब सुब्बा केशव पौडेलले दलित र गैरदलितबीचको अन्तरजातीय विवाहलाई प्रोत्साहन स्वरुप सरकारले एक लाख रुपैयाँ दिन व्यवस्था रहेको बताउनुभयो । पौडेलका अनुसार गएका तीन आर्थिक बर्षमा अन्तरजातीय विवाह गरेका ३१ जोडीले प्रोत्साहन रकम पाउनका लागि प्रशासनमा लिखित निवेदन दिएका छन् ।
साभार # उज्यालाे

No comments:

Post a Comment