पर्यटकीय घलेगाउँको उत्पीडित समुदायमा होमस्टे कार्यक्रम सञ्चालन हुने

२०७२ वैशाष ११
विभेद बिरुद्ध अभियान
घलेगाउँ (लमजुङ)-सार्क राष्ट्रकै नमूना पर्यटकीय घलेगाउँको उत्पीडित समुदायमा होमस्टे (घरबास) कार्यक्रम सञ्चालन हुने भएको छ। सामाजिक सद्भाव कायम गर्दै जातीय अन्तर्घुलन र दलित समुदायको आम्दानी बढाउने उद्देश्यले घरबास सञ्चालन गर्न लागिएको हो। बिहीबार घलेगाउँमा भएको सरोकारवालाको बैठकले दलित समुदायमा घरबास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
जिल्ला विकास समितिको अघिल्लो बैठकले सार्ककै नमूना घलेगाउँ र नेपालकै उत्कृष्ट होमस्टे गाउँ काउलेपानीको दलितबस्तीमा घरबास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा घलेगाउँमा जिविस प्रतिनिधि, पर्यटन व्यवस्थापन समिति, राजनीतिक दलका प्रतिनिधि, पर्यटनकर्मी, दलित तथा गैरदलित समुदायका प्रतिनिधि सहभागी बैठकले निर्णय गरेको हो।
परम्परागत संस्कारको सकरात्मक पक्षको अनुकरण गर्दै घरबास कार्यक्रम अघि बढाउन स्थानीय सहमत भएका छन्। सामाजिकरुपमा विचलन आउन नदिने गरी व्यावसायिक रुपमा पर्यटकीय कार्यक्रम र गतिविधि सञ्चालन गर्ने तयारी भएको जिविसका योजना अधिकृत खिमबहादुर विकले बताए। उनका अनुसार जिविसले यस वर्ष ४ घरमा घरबास सञ्चालन गर्न १ लाख २० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने छ। इच्छुक व्यक्तिले समितिसँग माग गरी आफ्नै लगानीमा पनि सञ्चालन गर्न पनि सक्छन्।
घलेगाउँमा घरबास सञ्चालन गर्न न्यूनतम मापदण्ड अनुरुपको भान्छा, सुत्नेकोठा, शौचालय, स्नानगृह निर्माण र घरआँगनदेखि बाटोघाटोको सरसफाइ गर्नुपर्ने नियम बनाइएको घलेगाउँ पर्यटन व्यववस्थापन समितिका अध्यक्ष प्रेम घलेले बताए। ‘समितिको नियममा रहेर होमस्टे चलाउनेलाई हामी सहयोग गर्छौं,’ घले भन्छन्, ‘तर घलेगाउँको अहिलेसम्मको इज्जतमा दाग लाग्ने काम कसैलाई गर्न दिँदैनौं।’ आफ्नो समुदायमा घरबास सञ्चालन गरी पाहुनाको स्वागत र सत्कार गर्न पाउने भएपछि स्थानीय दलित समुदाय पनि निकै उत्साहित भएको घलेगाउँ पर्यटन व्यववस्थापन समितिका सचिव उमल विक बताउँछन्। २०५७ सालदेखि ग्रामीण पर्यटनको अवधारणा अनुरुप घलेगाउँमा पर्यटन तथा घरबास कार्यक्रम सञ्चालन गरिएको थियो। अहिले घलेगाउँका २८ घरमा होमस्टे छन्।

No comments:

Post a Comment