प्रेस विज्ञप्तिमा रमाएको सरकार र मनवीर नेपाली -रमेश लम्साल

आखिर मुलुक त ठूला बडा रु सहरी क्षेत्रमा बस्नेका लागि न रहेछ । मान्छे फरक होइन र छैन, कानुनले यही भन्छ । राज्यले गाह्रो गरी एक थान नागरिकता दिएको छ । त्यो पनि सहज रुपमा पाइएको होइन । काठमाडौँले उपत्यका बाहिरलाई मुलुक ठान्दैन । भोट माग्ने बेलामा एकाध थान नेताहरु जनताको नाममा घर दैलो पुग्छन् र उनको सपना साकार बनाइदिने हवाइ कल्पनाको बिस्कुन पनि सुकाउँछन् । चिल्ला, मिठा र गुलिया भाषणको रहमा चोपलेर निमुखा जनतालाई मूर्ख बनाउँछन् र एक तिहाई भन्दा कम मत लिएर विजयको बहुरङ्गी टिका लगाएर राजधानी फिर्छन । त्यसपछि जनता र जर्नादनको भेद नखुलेको भन्दै साखुल्य बन्छन् । आज जाजरकोटामा पाँच हजार भन्दा बढी नागरिक मौसमी फ्लूको प्रकोपमा परेका छन् । २४ जनाको त अकालमा निधन भइसकेको छ । उपचार नपाएर मर्नेको सङ्ख्या अझै बढ्ने देखिन्छ । तर सिंहदरबारले जाजरकोटेको पीडा आजसम्म सुनेको छैन ।
सादगी प्रधानमन्त्रीले मुलुक चलाएका छन् । उनको साथमा सम्पत्तिको नाममा तीन थान मोबाइल रहेको सूचना राजधानीका सञ्चार माध्यमले दिएकै हो । उनी क्यान्सर पीडित छन् । प्रधानमन्त्री भइसकेपछि उनको उपचार गर्नु राज्यको दायित्व हो । तर जाजरकोट जस्ता दूरदराजका जनताले दिएको भोट उनको पार्टीले पाएको छ । कानुनत प्रधानमन्त्री र जाजरकोटका जनताको हैसियत एउटै हो । तर उपचार सिंहदरबारमा बस्ने प्रधानमन्त्रीले सहज रुपमा पाएका छन् तर जाजरकोटीले पाएका छैनन् ।
सिंहदरबार र बालुवाटारमा दिनहुँ जसो सत्तारुढ दलको बैठक हुन्छ । प्रतिपक्षीहरु पनि के कम विगतका सहमतिको आधारमा संविधान जारी हुनुपर्छ भन्दै बैठक बोलाउँछन् र छलफलमा जुट्छन् । तर आजसम्म जाजरकोटका जनताको उपचार कसरी गर्ने र उनीहरुलाई अकाल मृत्युबाट कसरी जोगाउने भन्ने बारेमा कोही बोल्दैनन् । तिनले बोली हालेपनि तिनको आवाज प्रष्ट छैन। एकदमै कुटनीतिक र सतही बोल्छन् । राज्य छ, प्रशासन पनि चलेकै छ । प्रहरी प्रशासन छ, जनताको स्वास्थ्य सुविधाका लागि भनेर अस्पताल र स्वास्थ्य चौकीहरु पनि बनाइएका छन् । तर जाजरकोटका जनताले आजसम्म गतिलो स्वास्थ्य सुविधा पाएनन् । पेटभरी खान नपाएका जाजरकोटीले स्वास्थ्यकर्मीको नाक मुख देखेका छैनन् । देखेका भएपनि औषधीमूलो होइन, केही थान सल्लाह मात्र पाएका छन् ।
सादगी प्रधानमन्त्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिएको खबर पनि आएकै हो । तर त्यो निर्देशन राजधानीको चार भन्ज्याङ काटेर बाहिर गएन । स्वास्थ्य सचिवको भाषा पनि त्यस्तै छ । तर जाजरकोटले उपचार पाएको छैन, मान्छे मरेका मर्‍यै छन् ।
जाजरकोटबाट आज मात्रै एउटा समाचार आएको छ मनवीर नेपालीले आफ्ना बिरामी परिवारलाई उपचार गराउन सकेका छैनन । छिमेकी रोग सर्ने चिन्ताले मनवीरलाई सहयोग गर्न तयार छैनन् । उनको श्रीमती, छोरा, छोरी र नातिनी मृत्युको नजिक पुगेका छन् । तर सिंहदरबारले मनवीर जस्ताको उद्धारमा केही पहल गरिदिएको छैन । आज प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेताको उपचारमा राज्य करोडौ रकम खर्च गर्न तयार छ । तर मनवीरको पक्षमा आज सरकार त भएन भएन । हिजो जनयुद्धको समयमा ज्यान दिएर जोगाएका माओवादीका नेता तथा कार्यकर्ता समेत उनका भएन ।
जनताको नाममा राजनीति गर्ने काँग्रेस र एमालेका नेतालाई त जाजरकोटमा नागरिक मरिरहँदा छोएन/छोएन, विपक्षीलाई समेत छोएको छैन । हजारौ नागरिक बिरामी परेका छन् । स्वास्थ्य उपचारको जिम्मा लिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कहाँ सुतेर बसेको छ मनवीरहरुले थाहा पाएका छैनन् । सुखमा त कसले खोज्छ र राज्य, सरकारलाई । दुःखमा न हो , आज जाजरकोटका जनता चरम दुःखमा परेका छन् । त्यो पीडाले नत प्रधानमन्त्री कोइरालालाई वास्तविक रुपमा छोएको छ , नत एमाले अध्यक्ष केपी ओलीलाई । उनी त आफै बिरामी छन् । न त एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई नै छोएको छ । घर पालेर खरानीको व्यापार गर्ने मानसिकतामा राजनीतिक नेतृत्व राजधानीको चौघेरामा रमाइरहेको छ । संविधान रुपी जन्जालले छोपेको राजनीतिक नेतृत्वलाई जाजरकोटको पीडाले पटक्कै छोएको छैन ।
हिजो जनयुद्धको समयमा आफूहरुसँग आँटो पिठो खुवाएर राज्यको आँखाबाट जोगाएका जाजरकोटीले कमसेकम आˆनो पीडामा माओवादीले बोलिदेओस भन्ने अपेक्षा राखेको छ । तर लाजिम्पाट बोल्दैन, पेरिसडाँडा बोल्दैन । बालुवाटारले त लत्तो छाड्यो छाड्यो । बल्खुलाई मतलब भएन तर पेरिसडाँडा बोल्नुपर्ने होइन, सरकारलाई दबाव दिनुपर्ने होइन, आज सिमित स्वार्थको पगरी गुथेर लाजिम्पाट, बालुवाटार र बल्खु काठमाडौँको चौघेरो नापीरहेको छ ।
संविधानको जप गर्न थालेको आठ वर्ष बित्यो । तर सिंहदरबार र बानेश्वरको ओहोर दोहोरले संविधान दिन सकेको छैन । जनताले संविधान त पाएन, पाएन । बिरामी हुँदा जीवनजल खोजेका हुन् । एक बोत्तल सलाइन पानी खोजेका छन् । घरका सबै सदस्य बिरामी छन् । स्वास्थ्य चौकी खोजीरहेका छन् ? आज एमाओवादीका नेता कहाँ छन् । सरकारी नेता कहाँ छन् ? कर्मचारी कहाँ छन् ? तर रोगी देखेर निरोगी भागीरहेका छन् । रोग सर्ने कारणले स्वास्थकर्मी पनि बिरामीको नजिक जान मानीरहेका छैनन् । राजनीतिक नेतृत्व स्वार्थको अहालमा डुबीरहेको छ । सत्तापक्षलाई सरकार गुम्ला भन्ने चिन्ता छ , प्रतिपक्ष कुहिराको काग बनीरहेको छ । एक थान विज्ञप्ति जारी गरेर आत्मरतीमा रमाउँदैछ काठमाडौँ । पेरिसडाँडा रमायो, तर बल्खु र सानेपाले भने त्यो पनि गरेन ।
काठमाडौँले एक थान मिस नेपाल पायो । मानौ मुलुकले संविधान नै पाए जसरी मिस नेपालको प्रचार प्रसार भएको छ । आजका छापाहरु हेरे हुन्छ । रातको दश नबज्दै मिस नेपाल पायो मुलुकले यस्तै यस्तै आए छापाहरुमा । तर जाजरकोटमा लाश उठाउने मान्छे नहुदा जनमत तयार पार्ने सञ्चारमाध्यम मिस नेपालको प्रचारमा मग्न छ ।
राजनीतिक नेतृत्व मिस नेपालको प्रत्यक्ष प्रसारण हेरेर आनन्द मानिरहेको छ । सामाजिक सञ्जालमा देखिएका लाइक र कमेन्टको आशय पनि त्यस्तै देखिन्छ । राजधानी र सहरी क्षेत्रमा स्वास्थ्य सेवाको नाममा सयौ अस्पताल खुलेका छन् । तर विशेषज्ञ भनिएकाहरु जाजरकोट जान नमानेको समाचार पनि आएकै छ । जाजरकोटका जनतालाई एक थान नागरिकता भिराइदिएकै भरमा काठमाडौँले दिएको प्रताडना कति महङ्गो पर्ला । विचरा मनवीर नेपाली आँगनको डिलमा बसेर आकाशमा उडेको चील गाडी हेर्दै परिवारको मृत्यु कुरीरहेका छन् । छिमेकीबाट समेत साथ नपाएका उनको जीवन रक्षा गर्ने दायित्व सिंहदरबारको होइन र ?
(साभार # अनलाइन खबर//लम्साल राससमा कार्यरत छन् )

No comments:

Post a Comment