मुसहर समुदायका महिलाहरु आयआर्जनका लागि सामुहिक खेतीतर्फ अग्रसर


सिरहा, चैत २७ – जीवनभर अरुको मजदुरी गरेर गुजारा चलाउँदै आएका सिरहा भगवानपुरका दलित मुसहर समुदायका महिलाहरु आयआर्जनका लागि सामुहिक खेतीतर्फ अग्रसर भएका छन् । तराइमा भूमीपुत्र भनि चिनिएपनि मुसहरहरुको आफ्नै जमिन नहुँदा मजदुरी गरी गुजारा चलाउँदै आएका थिए ।
तर अहिले सिरहाका मुसहर महिलाहरु चार विगाहा जमिन भाडामा लिएर सामुहिक खेती थालेका हुन् । उनिहरुले भाडामा लिएको जमिनमा फर्सी, लौका लगायत विभिन्न वेमौसमी तरकारी लगाएका छन् ।
दलित महिला कृषक समुह महासंघ भगवानपुर ६ र ७ वडाका ४० घर मुसहर जातिका महिलाले सुरु गरेको सामुहिक खेतीको शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी अव्दुल कलाम खाँले फर्सीको विरुवा रोपी उद्घाटन गर्नुभयो । राष्ट्रिय कृषक समुह महासंघले भाडा वापतको वार्षिक १ लाख ७६ हजार रुपैयाँ अनुदान सहयोग गरिदिएपछि सामुहिकरुपमा खेती गर्न आफुहरु अग्रसर भएको समुहकी अध्यक्ष लडुवती सदाय मुसहरले बताउनुभयो ।
बस्ने जमिनसमेत आफ्नो नाममा नभएका भूमीहिन मुसहरहरुले कृषक समुह महासंघले सहयोग गरेपछि अध्यक्ष लडुवतीले भन्नुभयो ‘सधंैभरी अरुको जमिनमा मजदुरी गर्दै आइरहेको थियौं, अहिले आफैले जमिन पाएका छौ, हामी सक्दो मेहनत गर्छौ र जिल्लामा नमुना भएर देखाउँछौं ।’
४० घर परिवार मुसहरसमुदायको वसोवास रहेको भगवानपुर ६ र ७ वडामा ७ घर परिवार मुसहरको मात्र बस्ने जमिन रहेको छ । बाँकी सवै सडक किनार र गाउँको सार्वजनिक जमिनमा घर बनाई बस्दै आएका छन् ।
राष्ट्रिय कृषक समुह महासंघ सिरहाका अध्यक्ष मुक्ति नारायण यादवले आफ्नै स्वामित्वमा खेती गर्ने जग्गा नभएका अति विपन्न समुदायका दलित मुसहर समुदायलाई खेतीगरि आयआर्जन अभिवृद्धि गराउन पहिलो पटक १० वर्षका लागि नमुना करार खेतीका लागि आकर्षित गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो नमुना हो, यसको उज्यालोले अरु दलितहरुलाई पनि खेती तर्फ आकर्षित गर्नु छ ।’ जिल्लामै पहिलो पटक सुरु गरिएको सामुहिक नमुना करार खेतीका लागि जिविस, गाविस, पशु र कृषि कार्यालयले समेत प्राविधिकसहितको बीउ, मल, कृषि सामग्रीहरु सहयोग गरेको छ ।

No comments:

Post a Comment