दलित महिलाका सवाल स्थापित गराउन मिडिया नै समावेशी बनाइनुपर्ने-राजेन्द्र ताम्राकार

काठमाडौं÷२७ चैत, दलित महिलाका सवाललाई स्थापित गराउनका लागि सबैभन्दा पहिले मिडिया नै समावेशी बनाइनुपर्नेमा जोड दिइएको छ ।शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि लगायतका क्षेत्रमा सबैभन्दा पछाडि पारिएको समुदाय दलित भएको र त्यसभित्र पनि दलित महिला निक्कै पछाडि पारिएकाले उनीहरुका मुद्दालाई सञ्चारले विशेष प्रथमिकता दिनुपर्नेमा पनि जोड दिइएको छ ।आमसञ्चारमा दलित महिलाको अवस्था कस्तो छ ?, उनीहरुका मुद्दालाई सञ्चारमाध्यमले कसरी उठाइरहेका छन् ? सञ्चारलाई दलित महिलामैत्री बनाउन के गर्नुपर्ला ? आगामी दिनमा दलित तथा दलित महिलामैत्री सञ्चार नीति बनाउन के कस्तो पहल गर्नुपर्ला भन्ने लगायतका विषयमा छलफल गर्ने उद्देश्यले दलित महिला संघले आयोजना गरेको ‘सञ्चारमा दलित महिलाका सवाल’विषयक अन्तरक्रियामा सहभागी विभिन्न सञ्चारमाध्यममा क्रियाशिल पत्रकारहरुले आमसञ्चारमाध्यमले दलित महिलाका मुद्दामा विशेष बहस चलाउनुपर्ने बताएका हुन् । अन्तरक्रियामा बोल्दै बरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीले दलित महिलाका सवाललाई बाहिर ल्याउनका लागि मिडिया नै समावेशी बन्नुपर्नेमा जोड दिनुभएको छ । यसका लागि दलित महिला संघजस्ता सामाजिक संघसंस्थाले सञ्चारकर्मीलाई आवश्यक स्रोत सामाग्रीहरु उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
भण्डारीले बेलाबेलामा संघले समाजका विविध विषयमा आ–आफ्नो क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वलाई बोलाएर छलफल चलाउनुपर्ने र त्यसमा सञ्चारकर्मीलाई पनि सहभागी गराउँदा सवालले प्राथमिकता पाउने बताउनुभयो ।
कार्यक्रममा पत्रकार त्रिभूवनचन्द्र वाग्लेले सञ्चारमा दलित महिलाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । यसका लागि सम्बन्धित समुदाय, सरोकारवाला निकाय लगायतले आफ्ना सवाल स्थापित गराउनका लागि निरन्तर सञ्चार निगरानी गर्नुपर्ने धारणा राख्नुभयो ।दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले सञ्चार आवाजविहीनहरुको आवाज भनिएपनि व्यवहारमा सञ्चारजगत जुन व्यक्ति तथा समुदायको पहुँच छ त्यसैकोआवाज बनेको धारणा राख्नुभयो । आगामी दिनमा सञ्चारलाई साँच्चिकै आवाज विहीनको आवाज बनाउने हो भने यसका लागि दलित महिलामैत्री सञ्चार नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सोबले दलित महिला संघले दुरदराजका महिलालाई लक्षित गरी कार्यक्रम गर्दै आइरहेको बताउँदै संघले परियोजनामा मात्र नभइ सवालमा केन्द्रित भएर काम गर्ने भएकाले आफ्ना कार्यक्रमबारे स्थलगत अध्ययन गरी दलित महिलाका सवाललाई बाहिर ल्याइदिन सञ्चारकर्मीसंग आग्रह गर्नुभयो । कार्यक्रममा कान्तिपुर, गोरखापत्र, अन्नपूर्ण पोष्ट, द हिमालयन टाइम्स, रिपब्लिका, कमाण्डर पोष्ट लगायतका सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
दलित महिलाका अधिकार सुनिश्चितताका लागि साझा दबाब आवश्यक यसैगरी आजै दलित महिला संघ (फेडो) ले नयाँ बर्ष २०७२ को अवसर पारी दलित महिलाको हकहित र अधिकार प्राप्तिको सवालमा के कस्ता कार्यक्रम आवश्यक छन् । अब बन्ने संविधानमा दलित महिलाका सवाललाई स्थापित गराउनका लागि क–कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला भन्ने विषयमा एक अन्तरक्रिया गरेको छ ।
पहिलो संविधानसभामार्फत भएगरेका दलित तथा दलित महिला सम्बन्धि व्यवस्थालाई सुरक्षित र संस्थागत गर्दै अब छुटेका सवाललाई कसरी सुनिश्चित गर्ने भन्ने विषयमा साझा धारणा बनाउनुपर्ने र त्यसका लागि सामूहिक दबाब दिनुपर्नेमा सहभागी सभासद्, अधिकारकर्मी, दलित महिला नेत्री लगायतले जोड दिनुभएको छ । कार्यक्रममा सभासद् कमला विश्वकर्मा, ज्ञानु गैरे, पूर्व सभासद् एवम्ने पाल दलित संघकी महासचिव लक्ष्मी परियार, अधिकारकर्मी नानीमैया परियार, राजन विश्वकर्मा, राष्ट्रिय दलित आयोगकी सदस्य कोपिला विश्वकर्मा लगायतले दलित महिलाका अधिकार सुनिश्चितताका लागि संयुक्त आन्दोलनको खाँचो औंल्याउनुभएको छ ।
उहाँहरुले यसका लागि गैर दलित सभासद्, पुरुष सभासद्, नागरिक समाज लगायतसंग संयुक्त छलफल चलाउनुपर्ने र दलित महिलाका सवाललाई स्थापित गराउनका लागि सबै पक्षसंग आवश्यक सहयोग लिदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।कार्यक्रममा सभासद्, अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी लगायत गरी ३१ जनाको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment