जहाँ सहजै स्विकारिन्छ दलितसँगको विवाह

बाँकेको कोहलपुर ११ मा बसोबास गर्ने गन्धर्व र मगर समुदायका महिला र बालबालिका । तस्बिरः ठाकुरसिंह/कान्तिपुर
कोहलपुर (बाँके), वैशाख ११,विभेद बिरुद्ध अभियान । - कोहलपुर ११ मा गन्धर्व र मगर समुदायको २१ परिवार बस्छन्। डुडवा खोलाको बाढीले घर बगाएपछि उनीहरू नगरपालिकाको खाली जग्गामा अस्थायी रूपमा बसेका छन्। उठबस र खानपिन सँगै चल्छ, बस्तीमा छुवाछूत छैन। आर्थिक अवस्था निकै कमजोर भए पनि मनका भने धनी छन्। दुवै समुदायबीच दुःख, सुख सटासाट मात्र होइन, बिहेबारी पनि चल्न थालेको छ। त्यसका पछिल्ला उदाहरण हुन्, सुरेश गन्धर्व र दीपा आले मगर।
गत चैत २१ मा विवाह बन्धनमा बाँधिए, दीपाका परिवारले कुनै विरोध गरेनन्। दुवैका आमाबाबुले आशीर्वाद दिए। 'हामीले एकअर्कालाई मन पराएर बिहे गरेका हौं। त्यसमा दुवै परिवारबाट विरोध भएन,' सुरेशले भने, 'प्रेम बसेपछि जातभातले रोक्ने कुरै भएन।' बिहेअघि पनि दुवै घरमा आउजाउ थियो, त्यसयता समेत निरन्तर छ।
उक्त बस्तीका दुवै समुदायको आर्थिक अवस्था एकनासको छ, फुसको छाप्रोका घर पनि उस्तैउस्तै। भूमिहीन रहेकाले घर बनाउने जग्गा हुने कुरै भएन। बसिरहेको स्थानबाट समेत हट्न कोहलपुर नागरपालिकाले उर्दी जारी गर्दै आएको छ। गन्धर्वहरू सारंगी रेटेर माग्न छाडेर मजदुरी गर्छन्। मगर समुदायका किशोरकिशोरी पनि कोहलपुरमै मजदुरी गर्छन्। केही युवा भारत पलायन भएका छन्। एकअर्काका घरमा सबै आउजाउ र उठबस गर्छन्।
स्थानीय दिलबहादुुर गन्धर्वले पनि छिमेकी कमला थापा मगरसँग बिहे गरेका छन्। 'हामी सँगसँगै बसाइँ सरेर कोहलपुर आएका हौं। सँगै बसेपछि एकअर्काको दुःख, सुखमा साथ दिंदै आएका छौं। यसले दुवै समुदायको सम्बन्ध बलियो बनाएको छ,' दिलबहादुर भन्छन्। उनको भनाइमा धेरै वर्ष एकै ठाउँमा बसेपछि जातभात हराइसकेको छ।
मगर समुदायका युवाले पनि गन्धर्व महिलासँग बिहे गरेका छन्। तीमध्येका हुन्, भीमबहादुर थापा मगर। उनले स्थानीय मनिषा गन्धर्वलाई जीवनसाथी बनाएका छन्। उनीहरूका २ सन्तान छन्। 'यहाँ बसेका सबैको अवस्था मिल्छ। दुःखमा साथ दिनेहरू नै नजिकका हुन्छन्,' भीमबहादुर भन्छन्।
स्थानीय चन्द्रबहादुर गन्धर्वले लक्ष्मी चन्द ठकुरी र रूपसिंह गायनले पार्वती बुढा छेत्रीसँग प्रेम विवाह गरेका छन्। अन्तरजातीय विवाह सामान्य बनिसकेको गाउँका अगुवा लालबहादुर बैगर बताउँछन्। 'हाम्रो गाउँमा विभेद छैन,' उनी भन्छन्, 'अन्तरजातीय विवाहले फरक समुदायबीच सम्बन्ध पनि कसिलो बनाउँदो रहेछ।'
source:- कान्तिपुर

No comments:

Post a Comment