अभिभावककै सहमतिमा अन्तरजातीय बिहे

अभिभावककै सहमतिमा अन्तरजातीय विवाह गरेका रुकुम छिवाङ ९ की
कौशिला ओली र सिम्ली १ का चंखबहादुर बिक । तस्बिर : कृष्णप्रसाद गौतम/कान्तिपुर
रुकुम, चैत्र २६ - अन्तरजातीय विवाहका कारण विभिन्नखाले सामाजिक बहिष्कारका घटना बढिरहेका बेला यहाँस्थित दुर्गमको सिम्लीमा अभिभावककै सहमतिमा अन्तरजातीय विवाह भएको छ । छिवाङ ९ का भीमबहादुर ओली र पत्नी सुशीलाले छोरी कौशिलाको सिम्ली १ का चंखबहादुर विकसँग बिहे गराएका हुन् । अन्तरजातीय विवाह गर्ने जोडी गाउँ निकाला, घरनिकाला, कुटपिट, विस्थापित तथा समाजबाट बहिष्कृत हुने खबर आइरहेका बेला दुर्गम गाउँमा अभिभावककै सहमतिमा बिहे गराएर ओली दम्पती उदाहरणीय बनेका छन् ।
संयुक्त दलित जनअधिकार मञ्चका अध्यक्ष पूर्णबहादुर कसेराले जिल्लाभर ३५ भन्दा बढी जोडीको अन्तरजातीय बिहेका कारण परिवारबाट अलग भएको अवस्थामा यो पहिलो घटना भएको बताए । उनीहरूको तीन वर्षअघिको प्रेम सम्बन्धलाई ओली दम्पतीले विवाहमा परिणत गराएका हुन् । 'छोरीको मन मिलेपछि जातले के गर्‍यो ?' ओलीले भने, 'सामाजिक रूपमा जातीय सद्भाव देखाउन दलित केटासँग छोरीको बिहे गराएको हुँ ।' विवाहमा आफन्त र गाउँलेलाई भोजसमेत खुवाइएको थियो । दुई साताअघि बिहे गरेका जोडी पनि अभिभावककै सहमतिमा तीन वर्षदेखिको प्रेम सफल भएकामा खुसी थिए । 'अन्तरजातीय प्रेम भएकाले परिवारले साथ दिँदैनन् कि भन्ने चिन्ता थियो,' चंखबहादुरले भने, 'दुर्गम गाउँमा पनि हाम्रो प्रेम स्वीकार भयो ।'
विवाहपछि दुवै परिवारको राम्रो सम्बन्ध रहेको छिमेकीले जनाए । उनीहरू कृषि पेसामा संलग्न छन् । ओली र विक एउटै विद्यालयमा अध्ययन गर्थे । अध्ययनकै क्रममा आफ्नो प्रेम रहेको विकले जानकारी दिए । जिल्लालाई जातीय छुवाछूतमुक्त घोषणा गर्ने अभियान चलेकै बेला यस्तो विवाहको सुरुवात हुनु दलित समुदायका लागि खुसीको कुरा भएको अध्यक्ष कसेराले जनाए ।

No comments:

Post a Comment