पृष्ठभूमी :
मनुष्यलाई बाँच्नको लागि तिन चिजको आवश्यकता हुन्छन् र ती तिन चिज हावा, पानि र खाना हुन् । यसको अतिरिक्त मनुष्यलाई चाहिने महत्वपूर्ण चिज ईज्जत तथा आत्मसम्मान हो र यसको आलावा भौतिक शरिर बाँच्न त सक्छ तर जीवन खुकुलो, अधुरो र असन्तुष्ट हुनजान्छ । आत्मसम्मान विनाको जीवन आज पनि अधिकाँस मनुष्यहरु खास गरि महिला, दलित, अति सिमान्तकृत व्यक्ति तथा समुदायहरु बाँच्न बाध्य छन् । दलितका लागि अतित र केही हदसम्म वर्तमान नर्क भन्दा भयावह छ भन्ने दृष्टिकोण सित असहमत हुनुपर्ने कुनै कारण छैन । ऐतिहासिक परिदृष्यमा दलितले आफ्नो पहिचान कतै पनि फेला पार्दैन भन्ने कुरा एकदमै साँचो हो । यसको कारण यो होईन कि उसवाट केही गल्ती भएका छन् उनीहरुको जन्म एउटा यस्तो परिवारमा भएका छन् जसको कारण सामाजिक रुपमा संरचित छुवाछुत सहितको वर्णव्यवस्थाद्धारा अनुसासित समुदायमा जन्म भएको कारणले उनीहरुलाई जीवनभरि कुनै इज्जत तथा आत्मसम्मान हुदैन् ।
मनुष्यको जन्मको प्रक्रिया विसुद्ध जैविक हो र उसलाई परिवार वा जात छनौटको स्वतन्त्रता हुदैन् । यो त केवल जैविक दुर्घटना (bio-logical accident) हो जुन दुर्घटना हरेक मिनेट छोरी तथा दलित वच्चाको जन्मको रुपमा समाजमा घटिरहेका छन् र वर्ण व्यवस्थाद्धारा निर्देशित राज्य व्यवस्थाले संरक्षण गरिरहेका छन् । समयको परिवर्तन संगसगै छुवाछुतको चरित्रमा केही भएको जस्तो लागे पनि आज पनि यो ब्यवस्था कायम छ । त्यसैले यस विषयमा सचेतपूर्वक आमजनमानसको स्तरमा छलफल गर्नुपर्छ । जात व्यवस्थालाई कायम गर्नकोलागि छुवाछुत दण्ड÷सजाय हो । यसको मुल चरित्र अलगापन (segregation) र एउटा छुट्टै छिमेकीपन (neighborhood) हुन्छन् यसको मुल उदेश्य समाजमा तहगत संरचना कायम गरि अगलापन (segregation) र आफ्नै रक्त सम्बन्ध (blood relation) लाई कायम गर्नु हो । समाजमा अगलापनले मनुष्यको आत्मसम्मानलाई हरण गर्छ र उ आफुसँग सम्झौता गरिहाल्छ कि म आफ्नो घरमा नै ठिक छु । यसलाई अर्को भाषामा रोटी र बेटिको सम्बन्ध पनि भन्न सकिन्छ । हिन्दु समाजमा दलित विषयलाई केलाएर हेर्दा दुई प्रकारका गम्भिर समस्या देखिन्छन् । पहिलो वैचारिक समस्या र दोस्रो दलित विषयलाई आन्तरिक रुपमै प्रस्तुत गर्ने समस्या । हामि एक्कैचोटी १६औँ शताब्दि र २१औँ सताब्दिमा सँगै बाँचिरहेका छौँ । आज हामिलाई यी दुबै विचारसँग एकसाथ लड्न परिरहेका छन् ।
दलित के हो ?
दलित कसलाई भन्ने सवालमा पनि विवाद नभएको भने होईन । अधिकतम व्यापक अर्थमा र व्यवहारिक प्रयोगको सिमाका आधारमा यसको अर्थ पनि फरकफरक तरिकाले लगाउने गरिएको छ । नेपाली बृहत् शब्दकोशले दलितको अर्थ दमन गरिएको, थिचिएको, कुल्चिएको भन्ने दिएको छ भने दलित वर्ग भनेर त्यसले समाजमा हक, इज्जत र प्रतिष्ठा समान रुपले पाउन नसकेको जाति वा समुह, सामाजिक व्यवस्थाको असामानताले सोसिएको वा पछि परेको समुदायलाई जनाएको छ । यस शब्दको इतिहास र ऐतिहासिक परिप्रेक्ष्यले पनि यही तथ्यलाई प्रमानित गर्दछ । दलित शब्दले अङ्ग्रेजी भाषाको Oppressed, Depressed, Suppressed, Downtrodden आदिसित मिल्दोजुल्दो अर्थलाई जनाउने गर्दछ । जातिव्यवस्थाको विरुद्ध सङ्घर्षको क्रममा यो शब्द धेरै पछि मात्र प्रचलनमा आएको हो । दलितको चलन ठिकै भए तापनि यसको अर्थ र परिधिलाई ठिक रुपमा लिइनुपर्दछ । यसलाई संङ्कीर्ण रुपमा होईन व्यापक अर्थमा विशाल शोषित वर्गलाई बुझाउने अर्थमा नै उपयोग गरिनुपर्दछ । यसको प्रारम्भिक र सही व्याख्या पनि यही नै हो । यसलाई केही जातिहरुसम्म सीमित गर्नु उपयूक्त हुँदैन । ब्यापक परिधिमा राखेर दलित शब्दलाई अथ्र्याउन चाहने विद्वानहरु भारतमै पनि थुप्रै छन् । उदाहरणका लागि हिन्दीका प्रख्यात साहित्यकार राजेन्द्र यादवलाई प्रस्तुत गर्न सकिन्छ । उनी नारीहरु र पछि पारिएका जातिहरुलाई समेत दलित भित्र सामावेश गर्दछन् । दलित शब्दलाई कतिपय व्यक्तिहरुले सर्वहारा शब्दको समानार्थी शब्दका रुपमा ग्रहण गर्ने गरेका छन् ।
तर केही दशकअघिदेखि दलितले पारिभाषिक शब्दका रुपमा विशेष अर्थ दिने गर्दछ । यस शब्दले आम रुपमा सामाजिक, साँस्कृतिक–धार्मिक, आर्थिक एवम् राजनीतिक शोषणलाई इङ्गीत गर्दछ भने उत्पीडित शब्दले चाँहि मात्र आर्थिक एवम् राजनीतिक शोषण उत्पीडनलाई सङ्केत गर्दछ । यस अर्थमा दलित समुदायको समर्ग अवस्थालाई मसिनो संग विश्लेसन् गर्दा उत्पीडित समुदाय भन्दा दलित शब्द नै बढि सान्दर्भिक वा बस्तुवादी विश्लेसन हुन्छ ।
दलित समस्यालाई कसरी बुझ्ने ?
लामो समयदेखि दलित समस्यालाई नेपालमा केबल छुवाछुत भेदभावको समस्याका रुपमा बुझ्ने–बुझाउने र प्रचार गर्ने गरियो । यी समस्या दलितको मात्र समस्याको रुपमा मात्र चित्रण गरियो । यी दुवै बुझाई आधारभुत रुपमै गलत छन् वा तिनले आंशिक सत्य मात्रै पक्रेका छन् । वास्तवमा छुवाछुत भेदभाव दलित समुदायको मात्र समस्या होईन् र दलित समस्या पनि दलितसंग मात्र सम्बन्धित समस्या होईन । जसरी महिलाको समस्या मात्र माहिलाको समस्या होईन त्यसरी नै दलितको समस्या पनि केवल दलितको समस्या होईन् । यो सम्पूर्ण मानव समाजको समस्या हो । दलित मूक्तिको प्रश्न पनि केवल दलित मूक्ति नभएर समर्ग मानव मुक्तिको नै प्रश्न हो । दलित समस्यालाई समग्रतामा हेर्न जरुरी छ । यसलाई सामाजिक न्याय तथा मानव मूक्तिको दृष्टिकोणवाट बुझ्नु पर्छ । समस्याको सहि पहिचान नै समाधानको उपाय हो भने जस्तै समस्याको बुझाईले मात्र समाधान खोज्दैन यसको लागि सम्पूर्ण मानव जातिले आ–आफ्नो ठाउवाट सचेत प्रयास गर्नुपर्छ ।
छुवाछुत र भेदभावः
सामाजिक एवम् सांस्कृतिक क्षेत्रमा दलितहरुको उत्पीडनमय अपमानपूर्ण शोषित जीवन हुनु त वर्णव्यवस्थाको विशेषतै भइहाल्यो । पहाड र तराई मधेशमा दलितको वस्ती सबैभन्दा अप्ठ्यारो स्थानमा हुन्छन् । कानुनी रुपमा प्रतिबन्ध नभए पनि अधिकाँश मन्दिरमा दलितहरुको गर्न पाउँदैनन् । सर्वजनिक कुवा, धारो, पँधेरो छुन पाउदैनन् वा उनीहरुले छुट्टै अछुत कुवा प्रयोग गर्नुपर्छ । छुट्टै कुवाको व्यवस्था नभएका ठाँउमा कुवावाहिरै बसेर कथित माथिल्लो जातिकाहरुसँग पानी माग्नुपर्छ । उनीहरुले पानिको भाँडा वा खानेकुरा छोइदिँदा शारीरिक दण्ड, अपमानपूर्ण व्यवहार सहनुपर्छ र जरिवानास्वरुप भाँडा वा खानेकुराको क्षतिपुर्ति दिनुपर्छ ।
नेपालमा दलितको समस्या उठानः
नेपालमा दलित समस्याको उठानको कुरा गर्नु भन्दा अगाडी भारतमा वर्णव्यवस्थाको जन्म वारेमा कुराकानी गर्दा सान्दर्भिक होला । दक्षिण एसियाको समथर भूमीमा आर्यहरुको प्रवेशभन्दा पहिलेको साहित्य प्राप्त छैन । तर आर्यहरुको प्रवेशभन्दा पहिले आजको भारतमा मूलतः द्रविड र आस्ट्रिक मूलका विभिन्न जातिको बसोबास र सभ्यता रहिआएको कुरामा सबै सहमत छ । ती जातीबीच आदिम कविला समाज र दासयुगका चरण कसरी विकसित भए भन्नेवारे अझैपनि अनुसन्धानका समस्या रहेपनि उनीहरुले भव्य रुपले सिन्धुघाँटीमा निर्माण गरेको हडप्पा र मोहेनजोदारोको सभ्यता (इ.पू. ३२५० देखि इ.पू. २७५०) साक्षिको रुपमा उपस्थित छ -Hawkes १९९३) । भारतिय समथल भूमि उष्ण कटिबन्ध क्षेत्र भएकाले यहाका द्रविड र आस्ट्रिक मूलका जाति कालो, रातो र पहेलो वर्णका थिए । नाक बुच्चो, कपाल कालो र टाउको थेप्चो उनीहरुको शारीरिक बनौट थियो । आर्यहरुले शीत प्रदेशवाट यात्रा शुरु गरेकाले उनीहरुको वर्ण गोरो, कपाल खैरा, नाक धारिलो र टाउको लाम्चो थियो र भारतमा उनीहरु इरानबाट प्रवेश गरे भन्नेमा धेरैको सामान मत छ । इ.पू.३००० तिर अर्थात करिब छ हजार बर्षपहिले आर्यहरु भारत प्रबेश गरी यहाँको सामाजिक राजनीतिक जीवनमा हस्तक्षेप गर्न थालेको मानिन्छ ।
संसारकै एउटा पूरानो संकलित ग्रन्थ ऋगवेद आर्यहरुद्धारा रचित ग्रन्थ हो र यसको रचनाकाल इ. पू. १५०० देखि १००० मानिएको छ । ऋगवेदको रचनाकाल यस्तो भए पनि ऋगवेदमा भारतमा आर्यहरुको प्रवेशपछिका वा आर्यहरुबीच कम्तीमा पनि पाँचहजार बर्षअघिदेखि प्रचलित धारणा संकलित छन् । आर्यहरुबीच एक पुस्तावाट अर्को पुस्तामा सर्दैआएका ऋचालाई नै इ.पू. १५००–१००० बिचमा संकलित र सम्पादित गरिएको थियो । त्यसलाई संकलन र सम्पादन गर्ने काम व्यासले गरेकाले नै उनको नाम वेदव्यास रहेको भन्ने अनुमान धेरैको छ । एक पुस्ताबाट अर्को पुस्तामा सर्दैआएको धारणा र मान्यतामा वेदव्यासकालको धारणा र मान्यता पनि वेदव्यासले समाबेश गरेको मान्य मतलाई स्वभाविक मान्न सकिन्छ । ऋगवेदका दस मण्डलमध्ये दसौँ मण्डल वेदव्यासकालिन धारणा र मान्यता भएको मानिएको छ । ऋगवेदका अघिल्ला मण्डलका ऋचामा कतै पनि वर्णव्यवस्थाको उल्लेख छैन । पछिल्लो दसौँ मण्डलमा पुगेपछि मात्र त्यस विराट पुरुषको मुख ब्राहमण, हात क्षत्रिय, जाँघ वैश्य र खुट्टा शुद्र थिए भनी उल्लेख गरेको भेटिन्छ । यसको अर्थ हो, इ.पू. १००० पछि नै वर्णव्यवस्थाको अवधारणाको जग वसाईएको थियो । भारतमा आर्यहरुको प्रवेश पछि स्वभाविक रुपमा सामाजिक र राजनितिक प्रभुत्वको निम्ति यहाँका द्रविड र आस्ट्रिक मूलका जातिको सभ्यतामाथि उनीहरुको आक्रमणको क्रम सुरु भयो । आर्यहरुको वर्ण(रङ्ग) गोरो र अरुको वर्ण रातो, कालो र पहेलो भएकाले आर्यहरुको विजयको क्रमसँगै गोरो वर्णबाहेकका जातिलाई घृणा गर्ने आर्य अहङ्कारको थालनी भएको कुरालाई सजिलै बुझ्न सकिन्छ । शुरुमा वर्ण शब्दको प्रयोग रङ विभेदको अर्थमा मात्र भएको थियो ।
इतिहासकार र समाजशास्त्रीहरुको भनाईमा नेपालमा विद्यमान दलित समस्या भारतबाट नेपालमा आएका वर्णव्यवस्थाका अनुयायीहरुसँगै प्रवेश गरेको समस्या हो । ईसाको प्रथम शताब्दीसम्ममा पूर्ण विकसित नेपालको किरात राज्यमा मानिसहरुलाई विभिन्न श्रेणीमा विभाजन गरेर शासन गर्ने दमनकारी वर्णव्यवस्था प्रथा–प्रचलनमा थिएन् । भारमा त्यतिखेर उत्कर्षमा पुगेको छुवाछुत सहितको वर्णव्यवस्थामा आधारित सामन्ती मूल्य–मान्यता एवम् संस्कार आफूसँगै लिएर इसाको प्रथम शताब्दीदेखि भारतवाट विभिन्न समयमा र विभिन्न प्रवेशद्धारबाट हिन्दुधर्मका अनुयायीहरु नेपालमा प्रवेश गर्ने गरेका थिए र यो क्रम इसाको सत्रौँ शताब्दीसम्म नै जारी रहेको थियो । भारतवाट आएका लिच्छविहरुको शासनव्यवस्था बाग्मती उपत्यकामा कायम भएपछि नेपालमा वर्णव्यवस्था लागु गरिए तापनि छुवाछुत व्यवस्था भने छैठो शताब्दीको वरिपरि मात्र लागि भएको भनाइ इतिहासकारहरुको रहेको छ । उनीहरुको भनाई अनुसार नेपालको मैथली तथा अवधी भाषाभाषी तराईका मधेसी समुदायमा इसाको छैटौँ शताब्दीसम्ममा वर्णव्यवस्थाको आधारमा शासन प्रणालीलाई दरिलो वनाउने काम भैसकेको थियो । पश्चिम नेपालमा पश्चिम सिमाना देखि गण्डकी क्षेत्र सम्म पन्घ्रौँ शताब्दीपछि नेपाल छिरेका हिन्दु धर्मावलम्बी शासकहरुले वर्णव्यवस्था लागु गरेका थिए । यस क्रममा नेपाल उपत्यकाका मल्लराजा जयस्थिति मल्ल (१३६०–१३९५ इ.सं.) ले वर्णव्यवस्थालाई कठोर बनाउने काम गरे । गोरखाका राजा राम शाह (१६०५–१६३६) ले पनि यसैको अनुकरण जस्तै गरेर चार वर्ण छतिस जातको व्यवस्था कायम गरेको थिए । पृथ्वीनारायण शाहले ‘असली हिन्दुस्तान’ निर्माण गर्ने उदेश्यसहित नेपाललाई आफ्नो शासनमा गाभेपछि भने वर्णव्यवस्थामा आधारित हिन्दु धर्म नेपालका शासक वर्गको जातिय धर्म बन्यो । शासक वर्गले वर्णव्यवस्थालाई आफ्नो संस्कृति नमान्ने सारा नेपालको जातिहरुमाथि समेत यसलाई लाद्ने काम गरियो र छुवाछुतप्रथाबाट पृथक रहेका अन्यजातिहरुलाई समेत छुवाछुत प्रथा लागु गर्न बाध्य पारियो । नेपालको पहिलो औपचारिक कानुनका रुपमा लिने गरिएको मुलुकी ऐन प्रथम राणाप्रधानमन्त्री जङ्गबहादुर राणाले वि.सं. १९१० मा जारि गरेका थिए । शुद्रलाई पानि चल्ने र नचल्ने अनि छोइछिटो हाल्नुपर्ने र नपर्ने जस्ता परम्परा बसाएर यसले छुवाछुत परिपाटीमा अरु जटिलता थप्यो र यसलाई अझ गहिरो रुप प्रदान गरियो । यसका विरुद्ध विषेसतः दलित समुदायले लामो सँघर्ष पनि गर्दैआईरहेका छन् ।
दलित समस्यालाई सम्बोधन गर्नको लागि रणनीतिक कार्यक्रम
दलित समुदायका समस्याको आधारभुत विशिष्ट चरित्र के हो त ? यो विभिन्न समुदाय भित्रका एउटै धर्म, एउटै वंश परम्परा, एउटै संस्कृति, एउटै भाषा भएका जात विचको शोसन, उत्पीडन र बहिष्करणको समस्या हो । यो फरक वंश परम्परा, फरक धर्म, संस्कृति आदि भएका जाति विचको समस्या होईन । त्यसैले दलित मूक्तिको रणनितिक कार्यक्रम आत्मनिर्णयको अधिकारको अवधारणा अनुसार वेग्लै दलित राष्ट्र राज्य बनाउने हुन सकिदैन । दलित मूक्तिको कार्यक्रम आर्थिक रुपमा समानता, राजनितिक प्रशासन रुपमा समानता र सामाजिक सांस्कृतिक रुपमा अन्तर्घुलनलाई बनाउनुपर्छ । अगामी नेपाली संघीय शासन प्रणालीमा दलित समस्यको समाधान गर्न निम्न प्रकारले गरिनु आवश्यक छ ।
१. आर्थिक क्षेत्रमाः
- भुमिहीन दलितलाई सामाजिक न्यायको आधारमा बाँच्न पुग्ने जमिन उपलब्ध गराउनुपर्दछ ।
- बालीघरे प्रथाको खारेजी सँगै परम्परागत पेसालाई नगद प्रणालीमा ल्याउनुपर्दछ ।
- सरकारी, अर्ध–सरकारी र निजि क्षेत्रमा समानुपतिक ढङ्गले रोजगारको ब्यवस्था गरिनुपर्दछ ।
- दलितहरुका परम्परागत पेसासँग सम्बन्धित व्यवसायमा दलितलाई अग्राधिकारको व्यवस्था गरिनुपर्दछ ।
- दलितले प्राप्त गर्ने सम्पूर्ण प्रतिनिधित्व र सुविधामा मधेशी दलितले सामानुपातिक ढङ्गले हिस्सा पाउने व्यवस्था गरिनुपर्दछ ।
२. राजनीतिक–प्रशासनिक क्षेत्रमा
२. राजनीतिक–प्रशासनिक क्षेत्रमा
- केन्द्रीय सङ्घमा र संघीय एकाई अथवा प्रदेशमा, तिनका राजनीतिक निर्माण गर्ने सम्पूर्ण तहमा जनसङ्ख्याको आधारमा सामानुपातिक तथा क्षतिपुर्तिसहित दलित प्रतिनिधित्वलाई ग्यारेन्टी गरिनुपर्दछ ।
- राज्यका आधारभुत प्रशासनिक अङ्ग, सेनादेखि न्यायपालिका सम्मका अङ्गमा समानुपातिक हिसावले दलित उपस्थिति हुने व्यवस्था गरिनुपर्दछ ।
- राजनितिक प्रशासनिक क्षेत्रमा प्रतिनिधित्व गरिँदा दलित मध्ये ५०% दलित महिला हुने व्यवस्था ग्यारेन्टी गरिनुपर्छ ।
३. सामाजिक साँस्कृतिक क्षेत्रमा
- छुवाछुत भेदभावलाई मानवजातिको कलङ्का रुपमा संविधानको प्रस्तावनामै स्वीकार गरि त्यसलाई गम्भीर सामाजिक अपराध घोषणा गरिनुपर्छ ।
- छुवाछुत भेदभाव गर्ने अपराधीलाई राज्यले दिदैआएको सुविधा निश्चित अवधिसम्म कटौती गर्ने स्तरसम्मको कडा कारवाहीको व्यवस्था गरिनुपर्दछ ।
- संबैधानिक अधिकारसम्पन्न दलित अधिकार आयोग गठन गरिनुपर्छ ।
- छुवाछुत भेदभावजन्य अपराधलाई हेर्ने विषेस इजलास गठन गर्ने व्यवस्था गरिनुपर्दछ ।
- प्राथमिक देखि उच्च शिक्षासम्म दलितलाई छात्रवृतिसहित निःशुल्क शिक्षा उपलब्ध गराईनुपर्दछ । प्राविधिक उच्च शिक्षामा समानुपातिक कोटा छुट्याईनुपर्दछ ।
लेखकः बाले विक (बाल अधिकृत) किर्डाक नेपाल कालिकोट
साभार : - साझा सवाल
No comments:
Post a Comment