भ्रम र अन्धविश्वासको पछि लाग्दा बालिकाको हत्या

बैशाख ५,स्याङ्जा : झुण्डी आत्महत्या वा हत्यामा प्रयोग भएको डोरीको गाँठो तीन करोडमा बिक्री हुने अपत्यारिले भ्रम र अन्धविश्वासको पछि लाग्दा ८ वर्षीया  बालिकाको हत्या भएको छ ।
स्याङ्जाको केवरेभन्ज्याङ् गाविसकी ८ वर्षीया रिता विकलाई योजनावद्ध रुपमा झुण्ड्याई मारेको आरोपमा उनकी सौतेनी आमा २१ वर्षीया कल्पना (केसी) विकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने अन्यमा कल्पनाका ४७ वर्षीय बाबु सोबितबहादुर विक, तनहुँको ब्यास नगरपालिका बस्ने ३९ वर्षीय सिद्धकुमार शाही र सल्यानका हरिप्रसाद बोहोरा रहेका छन् ।
सिद्धकुमारले मानिस झुण्डिएर मर्दा प्रयोग गरिएको डोरीमा परेको गाँठोको मुल्य तीन करोड पर्ने बताएपछि चारैजनाको मिलेमतोमा रितालाई झुण्ड्याई मारेर खाडलमा पुरेका हुन् ।
खाडलमा पुरेपछि गन्ध आई बालिकाको शव कुकुरले उधिनेर बाहिर ल्याएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा शाही, बोहोरा र विकको योजनामा बालिकाकी सौतेनी आमा कल्पनाले बालिकाको हत्या गरेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
केवरेभन्ज्याङकी ५२ वर्षीया पविसरा विकका तीन छोरा र ती छोरीमध्ये रिता कान्छी छोरी थिइन् । आफूसँग भन्दा बढी कान्छी आमासँग बस्न रुचाउने रिताको तिनै आमाले ज्यान लिएकी हुन् ।
रिता फागुनको दोश्रो सातादेखि हराएकी थिइन् । बालिका हराएको भन्दै उनका बाब सोबितबहादुर र कान्छी आमा कल्पनाले नै प्रहरीमा उजुरी गरेका थिए ।
‘आफैं बोक्सी, आफैं झाँक्री’ भनेझैं दोहोरो भूमिकाले हत्याको रहस्य खुलेको प्रहरी निरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । अनुसन्धानका क्रममा खाडल खनेर हेर्दा मासुजति गलिसकेर अस्थिपञ्जर (मानव कंकाल) मात्र भेटिएकोे प्रनि सुवेदीले जानकारी दिए ।
तनहुँका सिद्धबहादुर र हरिप्रसादले हत्याको क्रममा झुण्ड्याउन प्रयोग गरेको डोरीको गाँठो महंगो मुल्यमा विक्री हुने लालच देखाएपछि हत्या गरेको बयान कल्पनाले दिएकी छन् ।
रितालाई झुण्ड्याएको डोरीको गाँठो रातो कपडाले बेरेको अवस्थामा कल्पनाको घरबाटै प्रहरीले बरामद गरेको छ ।
- साभार # अन्नपूर्ण

No comments:

Post a Comment