भेदभाव अपराध हो भन्ने थाहा भएपछि जाजरकोटको कथा फेरियो

चैत्र १८ , जाजरकोट । मणिलेक गाविस–१ को बडम होटेलबाहिर १५ देखि २० वटासम्म गिलास अट्ने खोपा हुन्थे । दलित समुदायका कोही चिया खान आए दिइने गिलास ती खोपामा राखिएका हुन्थे । उनीहरू आफैँले गिलास निकालेर चिया थाप्थे । चिया पिइसकेपछि आफैँ गिलास सफा गरेर फेरि त्यही खोपामा राख्नुपथ्र्यो । जिल्लाका चियापसलमा दलित समुदायका लागि चियाको गिलास राख्न बनाइएका छुट्टै ठाउँ अर्थात् खोपा आजभोलि भेटिन मुस्किल पर्छ । जातीय छुवाछुत तथा विभेद केही समययता कम हुँदै गएपछि यस्ता खोपा पनि हराउँदै गएको अधिकारकर्मी कौशिला दामार्इंले बताइन् । ‘यस्ता खोपा आजभोलि खाली भएको देख्न सकिन्छ,’ उनी भन्छिन्, ‘तर, परम्परादेखि सामाजिक कुरीतिका रूपमा रहेको जातीय छुवाछुत दुर्गम गाविसमा भने कायम छ ।’ 
उनका अनुसार मणिलेक र कोटेली गाविसमा छुवाछुत हराउँदै गएको छ । यस्तै स्थानीय गैरदलित अगुवा महिला तुलसी अवस्थीले पनि जातीय भेदभााव तथा छुवाछुत जनचेतना नहुँदा न्यूनीकरणमा समस्या भएको बताइन् । ‘अहिले कानुनी कुरा पनि थाहा भए, भेदभाव गर्नु हुँदैन भन्ने चेतना पनि फैलियो,’ उनले भनिन्, ‘भेदभाव अपराध हो भन्ने थाहा भएपछि बिस्तारै मानिस सचेत हुँदै गएका छन् । आफूले पनि दलितको अधिकारको पक्षमा गाउँमा आवाज उठाइरहेको उनको भनाइ छ । जातीय विभेद भनेको ठूलो अपराध हो भन्ने थाहा भएपछि आफ्नो होटेलबाटै खोपा हटाएको कोटेली गाविस चोराका स्थानीय होटेल सञ्चालक सुरेन्द्रबहादुर ऐरले बताए । 
दलित समुदायलाई पसलभित्रै चिया पिउन र नास्ता गर्न दिन थालेको उनको भनाइ छ । उनले भने, ‘मेरो होटेलमा अहिले भेदभाव छैन, दलित र गैरदलितसँगै बसेर चिया नास्ता खान्छन् ।’ यसअघि छुवाछुतविरुद्ध पीडितले उजुरी गर्न डराउँथे । तर, अहिले जातीय विभेदमा परेकाले उजुरी दिन थालेका छन् । पछिल्लो एक वर्षमा नौवटा जातीय विभेदका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी योगेन्द्रसिंह थापाले बताए । उनले भने, ‘प्रहरीले जुनसुकै अपराधका विरुद्ध कानुनी उपचार गर्ने भए पनि छुवाछुतका उजुरी पहिले आउँदैन थिए, अहिले यस्ता उजुरी पनि धमाधम आउन थालेका छन् ।’ चेतना फैलिँदै गएपछि दलित मात्र होइन, गैरदलित पनि सचेत भएको थापाको भनाइ छ । 

No comments:

Post a Comment