सभासद् अनिता परियारकाे कथा

नेपाल राष्ट्रिय प्रावि लक्ष्मीनिया-८ महोत्तरीमा कक्षा तीन पढ्ने छात्रा अनिता परियारलाई प्यास लाग्यो । स्कुलको आँगनमा राखिएको घैलाबाट लोटाले पानी उघाउँदै गर्दा उनलाई 'माथ्लो जात' का एक शिक्षकले कानबाट रगत चुहिने गरी पिटे । पिटाइभन्दा असह्य त गुरुकै गाली थिए । त्यस बेला ती बालिकाले जीवनमा पहिलोपल्ट 'म दोस्रो दर्जाकी मानिस हुँ' भन्ने चाल पाइन् ।
उनले सहिन् र बिर्सिन् । अर्को साता त्यसैगरी पानी पिउन खोज्दा तिनै शिक्षकले मरणासन्न हुने गरी पिटे । घैला लडाइदिए । अनिताको पक्षमा कोही चुइँक्क बोलेन । उनी स्तब्ध भइन्, किन कोही मेरा लागि बोलिदिएनन् ?
अनिता मेहनत गरेर पढ्दै गइन् । कक्षामा प्रथम हुन्थिन् । आमा मनमाया र बुवा जनकलालले लुगा सिलाउँदै भए पनि छोरीलाई पढाए । घरमा पढ्न पुग्ने पैसा थिएन । केही सहयोगी अग्रज र संस्थाहरूले अनिताको प्रतिभा थाहा पाए । कसैले पुस्तक, कापी उपहार दिए, कसैले पढ्नलाई लालटिन । उनले त्यही लालटिनको मधुरो उज्यालोमा पढिन् ।
अनिता अलि परको मावि स्कुलमा पढ्न थालिन् । एक दिन विद्यार्थी संगठनका कार्यकर्ता आए । फस्टब्वाई, फस्टगर्लहरूमा तिनको आँखा पर्नु स्वाभाविक थियो । अनितालाई संगठनको सदस्यता दिए । समयक्रममा अनिता नेकपा एकता केन्द्रको पूर्णकालीन कार्यकर्ता भइन् । 'उपल्लो जात' का हरू बुवा जनकलालसँग कुरा गर्न आए, 'कत्ति न जान्ने भएर राजनीतिमा छाडा
छाडेका छौं । रातदिन केटा फेर्दै हिँड्छे । एक दिन कुनचैंको भुँडी बोकेर आउँछे, अनि हामीसँग गुहार माग्दै नआउनू ।'
घरकाहरू डराए । उनको बिहेको कुरा चल्न थाल्यो । ऊर्जावान कार्यकर्ता निष्क्रिय बस्न लागेको थाहा पाएर पार्टीले २०५६ सालको आखिरीमा एक नेता अनिताको घर पठायो । उनले आन्दोलनमा लागेपछि मात्रै दलितको मुक्ति हुन्छ भनी सबैलाई सम्झाए । बुझ्दै जाँदा थाहा भयो, ती नेता विश्वभक्त दुलाल थिए । नेपाली साहित्यमा उनी 'आहुति' नामले चिनिन्छन् ।
आहुतिले लेखहरू लेख्न सिकाए । धेरै पढ्न उत्प्रेरित गरे । अनिताले कम्युनिस्ट पार्टी र समानताका मुद्दाहरू पुस्तकबाट बुझ्दै गइन् ।
तर, क्रान्ति पुस्तकले गर्दैनथ्यो, यही समाजका मानिसले गर्थे । उनी जे सोचेर पार्टीमा हिंडेकी थिइन्, भित्र त्यस्तो समानतापूर्ण अवस्था थिएन । दिनभरि संगठन बनाउन सँगै खटिने साथीहरू दालमोठ चिउरा र पानी खाएको भरमा चल्थे । जब रात पथ्र्यो, कमरेडहरू भित्र हाँस्दै रमाउँदै सुत्थे, अनिता बाहिर सिकुवामा एक्लै पर्थिन् । 'म एक त छोरी मान्छे, सुरक्षाकै डर हुन्थ्यो,' उनी विगततिर र्फकन्छिन्, 'रातभरि ओसरा, सिकुवामा सुत्दा झिमिक्कै निद्रा पर्दैनथ्यो ।'
जनमोर्चा अरूभन्दा आक्रामक मानिने कम्युनिस्ट पार्टी थियो । यसले एकताकेन्द्र नामक अर्धभूमिगत संगठनको समेत अभ्यास गर्‍यो । तुलनात्मक रूपमा अरू कम्युनिस्ट पार्टीभन्दा 'प्रगतिशील' देखिए पनि नेता/कार्यकर्ताको चित्तमा कहीँ न कहीँ सांस्कृतिक विभेदको चेतना पसेकै थियो ।
'ऊ पनि डीसीएम -जिल्ला कमिटी सदस्य), म पनि डीसीएम,' अनिता सम्झन्छिन्, 'तर मैलेचाहिँ मिटिङमा माथिल्लो कमिटीको सर्कुलर दैलोबाहिर बसेर सुन्नुपथ्र्यो ।'
१५-२० जनाको टिम नियमित हुन्थ्यो । अनिताले घरभित्र छिर्न नपाएपछि घरायसी काममा अभ्यस्त हुन पाइनन् । जनताको कमाइ त्यत्तिकै खाइदिने कुरा आउँदैनथ्यो, सघाउनुपथ्र्यो । घरआँगन बढारिदिने, घाँस काटिदिने, बाख्रावस्तुलाई हालिदिने गर्थिन् । तर 'चुलोचौको नजान्ने छोरी, के छोरी' चेतना बोकेको समाजमा उनी आफ्नै जातिका साथीहरूको घर जाँदा भित्र गएर भान्छामा काम सघाउन पनि नजान्ने भइसकेकी रहिछन् ।
साथीहरूले आलोचना गरे, 'यो अलि ठडौली खालकी छे, छोरीमान्छे भएर घरको कामै नजानेपछि कसरी जनतासँग घुलमिल हुन सकिन्छ ?'
२०५६ सालबाट पूर्णकालीन कार्यकर्ता भएकी अनिता प्राय: सधैं 'जनताकै घर' मा हुन्थिन् । कार्यालयको आवासमा त कुनै भेद हुँदैनथ्यो, तर जनताको घरमा त्यस्तो भेदभाव भइहाल्थ्यो ।
बिस्तारै अनिताको पार्टीभित्र हैसियत बढ्दै गयो । मतलब, छुवाछूत पनि अलि कम हुन थाल्यो । कम्तीमा नेताहरूले चाहिँ घरभित्रै सुत्नलाई ओछ्यान दिन थाले । प्राय:ले सहज माने पनि कतिपयको मुखाकृतिमा असहजता पढ्न पाइन्थ्यो ।
अनिताले पार्टीकै अर्का सदस्य निर्मल बरालसँग सात वर्षअघि अन्तर्जातीय बिहे गरिन् । निर्मलले उनका लागि क्रियाशील हुने वातावरण बनाउन सक्दो सघाए ।
कालान्तरमा एकताकेन्द्र र माओवादीबीच एकता भएर एमाओवादी बन्यो । अनिता र निर्मल पनि अब एमाओवादीका नेता भए । अनिता समानुपातिक उम्मेदवार बनिन् ।
छोरीका लागि बुवा जनकलाल लुगा सिलाउने काम छाडेर भोट माग्न थाले । विभिन्न पार्टीमा रहेका आफ्नो समुदायकाहरूसँग रातदिन नभनी भोट मागे । दलित समुदायमा पैसाको चलखेल हुनेगथ्र्यो । राप्रपा नेपालका एक नेता एक्लैले पैसाको बलमा डेढ सय घरपरिवार घुमाउँदा रहेछन् । बुवाले ती परिवारहरूलाई भने, 'तिमीहरू पैसा खाऊ, तर भोट मेरी छोरीको पार्टीलाई हाल ।'
दोस्रो सभा चुनावसँगै एमाओवादी तेस्रो दलमा खुम्चियो । सभासद सिट स्वात्तै घट्यो । अनिता चुनिने सम्भावना कम भयो । उसमाथि उनी एकता केन्द्रबाट गएकी । अनिताले आस मारिन् ।
समानुपातिकको नाम छान्ने साँझ नेता नारायणकाजीलाई फोन गरिन्, 'कमरेड, हाम्रो समूहबाट को-को पर्ने भए त ?'
नारायणकाजीले मलीन आवाज फर्काए, 'एकदमै निराशाजनक अवस्था छ । महिला त एउटै परेनन् ।'
'अर्थात्, म पनि परिनँ !' अनिताले फोन राखिन् । मनलाई सान्त्वना दिइन्, 'धेरै सिट पाएको एमालेमा रामकुमारी झाँक्री त परिनन् । म नपर्नु के अनौठो भो !'
राति एक बजेतिर बुवा जनकलालले प्रफुल्लित हुँदै फोन गरे, 'मैले भनेको कस्तो लाग्यो ?'
अनिताले पत्याउनै सकिनन् । एकछिनपछि तारन्तार फोन बज्न थाल्यो ।
पछि बुझ्दा थाहा पाइछन्, 'कुन्नि के सोचेर, पछि अध्यक्ष पुष्पकमल दाहाल आफैंले अनिताको नाम चढाएका रहेछन् ।'
भोलिपल्ट, घर-मावलीतर्फका आफन्त भेला भए । बुवा जनकलालले विजयको खुसियालीमा भाले काटेर भोज खुवाए । गह भिजाउँदै आमा मनमायाले टीका लगाइदिइन्, आशीर्वाद दिइन् ।
त्यो उत्पीडित परिवारले राज्यसत्तासँग लिएको 'बदला' थियो । मधेसकी पहाडी, दलित र महिला । तेहरो सीमान्तकरण झेलेर पनि अनिता उठेरै छाडिन् ।
अनिता सभासद त भइन्, तर 'अत्याधुनिक' काठमाडौं महानगरमा यी नवनिर्वाचित माननीयले डेरा पाइनन् । डेरा माग्दा घरबेटी भन्थे, 'भइहाल्छ नि । बरु माननीयज्यूको नाम के पर्‍यो होला ?'
'अनिता ।'
अनि थरचाहिँ ?
अनिताले झुक्याउने कुरै थिएन, 'परियार ।'
घरबेटी अँध्यारो मुख लाउँथे, तत्कालै निर्णय 'सच्याउँथे ।' बहाना मिलाएर डेरा दिँदैनथे । अनितासँग यस्ता दर्जनौं होइन, सयौं अनुभूति रहेछन् ।
अहिले अनिता सहरको पल्लोछेउ भक्तपुर सल्लाघारी बस्छिन् । यो डेरा पनि उनका पतिले आफ्नो मित्रसँग कुरा गरेर मिलाएका हुन् । 'तपाईं नै भन्नुस् अब, यो देशमा के परिवर्तन आयो ?' अनिता सोध्छिन्, 'म आफैं यस्ता प्रश्नहरूको बीचमा छु ।'
अनिता जोड्छिन्, 'एउटा दलितको मुक्तिमा अर्को गैरदलितको भूमिका हुनुपर्छ । अनिमात्रै समानता स्थापित हुन्छ ।'
अहिले पनि अनितालाई मानिसहरू अघिल्तिर 'माननीयज्यू नमस्कार' त भन्छन्, तर घरभित्र छिराउन आनाकानी गर्छन् । बाहिरै खुवाउँछन् । उनी त्यसलाई मिलाएर बुझ्छिन् । केही बोल्यो भने पिठयूँपछाडि कुरा काट्दा रहेछन्, 'आखिर सानो जात त हो, सानो जातको सानै बुद्धि ।'
समावेशी, समानुपातिक प्रणाली स्थापित नभएको भए यो देशका दर्जनौं अनिताहरूलाई माथिल्लो तहसम्म आइपुग्न सम्भव हुँदैनथ्यो । उनीहरू पुरुषसँगै, कथित माथिल्लो जातसँगै कुम जोडेर प्रतिस्पर्धा गर्ने दिनको पर्खाइमा छन् । अनिता भन्छिन्, 'यो समावेशिताले हामीलाई अरूसँग प्रतिस्पर्धा गर्ने मञ्च दिएको हो । सधैंभरिको आरक्षण हामीलाई चाहिएको होइन ।'
अहिलेको संविधानसभामा 'ककस' बन्न नदिने नियमावली तयार भए पनि ४१ दलित सभासदले ककस बनाएरै छाडेछन् । स्थानीय स्तरमा क्षतिपूर्ति, भूमिहीन दलितलाई राज्यले भूमि दिनेजस्ता मुद्दाहरू उठाइरहेका छन् ।
र, अहिले प्राप्त आरक्षण अरू त अरू, उनकै दलका कतिपयका लागि 'आफ्नो भाग खोस्न आएका हुन्' भन्ने परेको छ । अनिता भन्छिन्, 'हामीजस्ता आर्थिक अभाव झेलेका, तल्लो वर्गका मानिसले पुरानै अवस्थामा आफ्नो विकास गर्न सम्भव नै थिएन । मधेसमा दलित परिवारकी छोरीले पढ्न पाउनु नै दुर्लभ कुरा थियो ।'
अनिता सबै खाले उत्पीडनलाई पैतालाले टेक्दै आइन् । 'पानी नचल्ने समाज' मा उनी लड्दै गइन्, आफूलाई प्रमाणित गर्दै गइन् । निश्चित समुदायले शोषण गरेको देखिए पनि संरचना जिम्मेवार हुन्छ । पीडक जाति वा समुदाय पनि त्यही संरचनाको अन्धचेतनाबाट अन्यायमा परेको हुन्छ । अनि अनिता परियारहरूले दु:ख पाउँछन् ।
जुन शिक्षकले अनितालाई दलित भन्दै पिटे, गाली गरे । तिनै शिक्षकले एक साताअघि देहातको उक्त गरिब स्कुललाई सहयोग गरिदिन 'माननीय अनिता' गुहारे । स्कुलमा आयोजित कार्यक्रममा अनिताले पुराना दिनहरू अनायासै सम्झिन्, भीडकै बीचमा रोइन् । भद्रभलाद्मी र सर्वसाधारण स्तब्ध भए ।
अनिताले निर्माणाधीन भवन पूरा गर्न सघाउने वचन दिएकी छन् । आफूलाई नीलडाम बस्नेगरी पिट्ने शिक्षकसँग ईख लिनलाई अनिताको हृदयमा कुनै ठाउँ छैन ।
अनिताको गाउँ लक्ष्मीनियामा बिजुलीबत्ती पुगिसकेको छ । छुवाछूतको पीडा भोग्दै स्कुल गएकी अनिताको त्यो लालटिन अहिले सुरक्षित छैन । स्कुल पढ्दा कसैबाट उपहार पाएको त्यो लालटिनको उज्यालोलाई अनिता अहिले अर्थ दिइरहेकी छन् । 

No comments:

Post a Comment