मैना सुनुवार अझै बाकसमै
Friday, April 10, 2015
काठमाडौं, चैत्र २८ - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक मेडिसिन विभागमा दुईवटा काठका बाकस छन् । बाकसबाहिर एउटामा लेखिएको छ, मैना सुनुवार । १५ वर्षका सुनुवार द्वन्द्वकालमा सुरक्षाफौजले पक्राउ पछि बेपत्ता बनाइएका थिए । बेपत्ता भएको वषौर्ंपछि मानव अधिकार आयोग र अधिकारवादी संस्थाको पहलमा सुरक्षाकर्मीले गाडेको ठाउँबाट उनको शव निकालिएको थियो ।
• मैना सुनुवार : तत्कालीन शाही नेपाली सेनाले २०६० फागुन ५ मा घरबाट सोधपुछका लागि भन्दै पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा लगेको । पछि खोजतलास गर्दा हत्या गरेर गाडिएको पत्ता लागेको ।
तत्कालीन शाही नेपाली सेनाले २०६० फागुन ५ गते सुनुवारलाई घरबाट सोधपुछका लागि भन्दै पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा लगेको थियो । उनकी आमा देवी सुनुवार र अधिकारवादी संस्थाले खोजतलास गर्दा सुनुवारलाई सेनाले हत्या गरेर गाडेको खुल्न आएको थियो । २०६३ चैत ९ गते राष्ट्रिय मानवअधिकार आयोगको अगुवाइमा महाराजगन्ज अस्पतालका फरेन्सिक एक्पर्ट डा. हरिहर वस्ती सहितको टोलीले शव उत्खनन गरेको थियो । उत्खननपछि पोस्टमार्टम गर्दा सुनुवारलाई तीनवटा गोली पछाडिबाट लागेको पाइएको थियो । त्यस दिनपछि सुनुवारको शरीरका हड्डीहरू फरक-फरक कागजको खाममा बाकसभित्र राखिएको छ ।
सुनुवारकी आमा देवीले आफ्नी छोरीको हत्या गर्नेलाई कानुनी कठघरामा नल्याएसम्म शव नबुझ्ने बताइन् । 'हत्यारालाई कानुनी दायरासम्म नल्याउँदा मेरी छोरीको आत्माले शान्ति पाउँदैन,' उनले भनिन्, 'कलकलाउँदो उमेरकी छोरीलाई त्यसरी निर्मम हत्या गर्नेहरू कानुनी दायरामा अाएपछि मात्र शव बुझेर दाहसंस्कार गर्छु ।' समयमै न्याय नपाउँदा छोरीको आत्माले आफूलाई पोलिरहेको उनले बताइन् । मैनाका बाबु पूर्णबहादुर सुनुवारको पनि निधन भइसक्यो । पाँच वर्षअघि पाँचखालबाट बनेपा जान हिँडेका उनी ४ दिनपछि मृत फेला परेका थिए ।
डा. वस्ती भने अस्पतालको साँघुरो ठाउँमा अस्थिरपञ्जरहरू व्यवस्थित गरेर राख्न समस्या भएको बताउँछन् । उनका अनुसार जनकपुरमा सुरक्षाफौजबाटै मारिएका ५ युवाको शव पनि गएको जेठसम्म त्यसै थियो । डीएनए परीक्षण भएपछि उनीहरूको शव आफन्तले बुझेर दाहसंस्कार गरेका छन् ।
महाराजगन्ज अस्पतालमा हरेक दिन चारदेखि पाँच शव पोस्टमार्टमका लागि आइपुग्छन् । कतिपय शव आफन्त आएपछि उनीहरूले लैजाने गरेका छन् । कोही लिन नआए एनोटोमी विभागले अध्ययनका लागि उपयोग गर्ने गरेको छ । त्यसपछि २/३ महिनाको फरकमा ४० देखि ५० वटा शव खाल्डो खनेर गाड्ने गरिएको डा. वस्तीले बताए ।
सरोकार
No comments:
Post a Comment