धरहराबाट खसेका कृष्ण रम्तेल कसरी बाँचे ?

काठमाडौं, वैशाख १६ – सधैजसो  जस्तै वैशाख १२ गते पनि बिहानै उठेँ । हातमुख धुने, चिया पकाउने र कोठा सफा गर्ने काम सकेपछि मन्दिर जाने योजना थियो हाम्रो । दुई दिन अघि वैशाख १० गते माईतबाट आमा आउनुभएको  थियो । आमासँगै बहिनी प्रमिला पनि आएकी थिइन ।
आफूलाई जन्म दिने आमा र सँगै हुर्केकी बहिनी साथमा भएकाले मन फुरुङ्ग थियो । ज्वाँइ मलेसियामा भएकाले बहिनी ज्वाइसँग फोनमा कुरा  गर्न थालिन । म चिया पकाउन थाले ।  आमालाई चिया दिएँ । श्रीमानलाई पनि उठाएर चिया दिएँ । अघिल्लो दिन नै आमाले पनौतिको धनेश्वर मन्दिर दर्शन गर्ने इच्छा राख्नुभएको थियो ।
त्यसैले १२ गते विहान आमालाई मन्दिर लैजानु थियो ।  त्यसैले छिटो छिटो गरी आमासँगै म मेरा श्रीमान कृष्ण रम्तेल र बहिनी प्रमिला पनौतिको धनेश्वर मन्दिर गयौं । आमासँगै हामीले पनि भगवानले हामी सबैको कल्याण गरुन भनेर आशिष माग्यौं । आमालाई माला र घर लैजान कोशेली किन्यौं । 
हाम्रो घर त काठमाडौंबाट नजिकै धादिङको साङकोस गाविस (हाल निलकण्ठ नगरपालिका) मा छ । घर टाढा नभए पनि आमा त्यति धेरैपटक काठमाडौं आउनुभएको थिएन । त्यसैले आमालाई जतिसक्यो धेरै ठाउँ घुमाउने मेरो इच्छा थियो । तर आफू ८ महिनाकी गर्भवती भएकाले धेरै हिडडुल गर्न सजिलो भने थिएन । पनौतिमा मन्दिरमा पूजा गरेर घुमघाम गरेपछि हामी सिधै काठमाडौंको जाने बस चढ्यौं र शहिदगेटमा ओर्लियौं । शहीदगेटमा उत्रेपछि आमाले धरहरा चढ्ने रहर गर्नुभो । आमाले रहर गरेपछि मेरा पति र वहिनीले पनि आमासँगै धरहरा चढ्ने रहर देखाए । रहर त मलाई पनि थियो, तर ८ महिनाको गह्रौं जीउसित के सकिएकला जस्तो लाग्यो ।  
उहाँ (कृष्ण रम्तेल) सित ६ वर्षअघि मेरो विहे भएको हो । हामी दुबै काठमाडौंमा पढ्थ्यौ । जात नमिले पनि एक अर्कालाई मन पराएपछि  हामी विवाह बन्धनमा  बाँधिएका थियौं । म नेवारकी छोरी । उहाँ चाहिँ हाम्रो समाजले तल्लो दर्जा दिएको कथित दलितको छोरा हुनुहुन्थ्यो ।
तर हाम्रो विबाहमा घरपरिवार कसैले औंँलो ठड्याएन । त्यसैले पनि हामी खुशी थियौं । एक अर्कालाई हामी निकै माया गर्थ्यौ । मलाई घरमा छाडेर उहाँ काम गर्न जानुहुन्थ्यो । मलाई पढाउनु, काठमाडौंको मँहगीमा काठमाडौंमा बस्नु र बेला बेलामा घर परिवारमा सहयोग गर्नु श्रीमानको लागि त्यति सजिलो छैन । तर उहाँले यो सबै गरिरहनु भएको छ । उहाँको आँट र दुखलाई म जहिल्यै सलाम गर्छु । 
शनिबार पनौतिबाट शहिदगेटमा झरेपछि धरहरा चढ्ने कुरा भयो, हामी धरहरातिर लाग्यौं । बिहानैदेखी चिया मात्र खाएका थियौं । भोकाएकाले धरहराको फेँदमा केही फलफुल किन्यौ र चाउमिन खायौं । एकछिन रेष्टुरेन्टमा बिताएपछि धरहरा चढ्न टिकट लिने कुरा भयो । श्रीमानलेसँगै धरहरा चढौ भन्नु भयो । मेरो पेटमा ८ महिनाको बच्चा हुर्कदै थियो ।
त्यसैले म त्यो ९ तलाको धरहरा चढ्न सक्दिन भनेँ । श्रीमानले एकछिन त चढ्नै पर्छ भनेर कर गर्नुभो । तर मैले नमानेपछि उहाँले जम्मा ३ वटा टिकट किन्नुभो । मनले परिवारसँग धरहरा चढ्न जा भनिरहेको थियो । तर ज्यानले साथ दिएको थिएन, धरहरा चढ्न नपाउँदा मन कटक्क भैरहेको थियो ।  
मेरी आमा, बहिनी प्रमिला र श्रीमान धरहरा चढ्न मुलढोकातिर लाग्नुभयो । म भने टिकटघर अगाडि सर्वसाधारण बस्न बनाइएका बेञ्चा बसेँ । साथमा धनेश्वर दर्शन गरेर ल्याइएक प्रसाद पनि थिए । आमा, दिदी र श्रीमान कतिखेर धरहराको टुुप्पोमा पुग्नुहुन्छ भनेर बेञ्चबाट हेरिरहेकी थिएँ ।  उहाँहरु उक्लेको ५ मिनेट भयो तर देखिन । सोचेँ आमा बुढि भएकाले सिँढी चढ्न सक्नु भएन होला । मनमा अनेक कुरा खेलाउँदै म धरहरा मुन्तिरको बेञ्चमा बसिरहेँ । एक्कासी जमिन जोड जोडले हल्लिन थाल्यो । मैले भुँइचालो आएको अनुमान गरिहाले । जब पुरै पृथ्वी हल्लियो मेरो पुरै मन मेरा धरहरा चढेका आफन्तमा पुग्यो । पुरै पृथ्वी अध्यारो जस्तै भएको थियो । 
बेञ्चमा बस्दा बस्दै आफूलाई चक्कर लागेर ढलौला जस्तो भएको थियो, एक्कासी मेरो आँखा अगाडिको धरहरा ढल्यो । म अर्धपागल जस्तै भएँ । मेरो श्रीमान, आमा र बहिनी धरहरासँगै ढलेका थिए । हेर्दा हेर्दै धरहरा इट्टाको थुप्रोमा परिणत भयो । धुलोले पुरै सुन्धारा ढाक्यो । मेरा आफन्त धरहरामा हराए । एकैछिनमा केही सर्वसाधारणले धरहराको भग्नाबशेषबाट लासहरु निकाल्न थाले । लास हेर्छु मेरा आफन्त पनि परे कि भनेर ।
लासमा मेरा आफन्तका अनुहार देख्दिन । लास नदेखेपछि म उनीहरुको खोजीमा ढलेको धरहरा वरिपरी घुमिरहेँ । घुम्दैगर्दा फेरी ठुलो भूकम्प आयो भनेर सबैजना दौडधुप गर्न लागे । तर मलाई भने मेरा आफन्तको पिरले नाथे भूकम्प केही जस्तो पनि लागेन । मेरी आमा, जीवनसाथी र बहिनीको खोजीमा धरहराको वरिपरि घुमिरहे । धरहरा चढेका आफन्तको न लास भेटिन्छ, न कसैले केही भन्छन् । मन थामिसक्नु भएन । 
करीब १२ बजेतिर भुइचालो गएको थियो । मेरा आफन्त धरहराको भग्नावशेषमा खोज्दा खोज्दै दिउसोको ३ बजिसकेको थियो । ८ महिनाकी गर्भवती म निकै थाकेकी थिएँ । निकै अत्तालिएर रुदै रुदै धरहरा वरिपरि घुम्दै थिएँ । २ जना नचिनेका बहिनीले नजिकै आएर के भएर यसरी आत्तिएर रोएकी भनेर सोधे । मैले उनीहरुलाई मेरो सबै कहानी बताएँ । उनीहरुले धरहराबाट खसेका केही घाइतेलाई वीर अस्पताल पुर्‍याएको जानकारी दिए । अनि उनीहरुले आफूसँगै मलाई पनि डोर्‍याउँदै वीर अस्पताल लगे । अस्पतालमा लहरै राखिएका घाइते हेर्दा आमा, बहिनी र श्रीमान कसैलाई पनि देखिन ।
घाईतेको लाममा आफन्त नदेखेपछि मेरो मन काम्यो । त्यसपछि मेरो भएको होस पनि हराउन थाल्यो । धरहरा चढेका आफन्तलाई मैले धरहराको भग्नावशेषमा पनि देखिन र घाइतेको लाममा अस्पतालमा पनि देखिन । तर अस्पतालका केही कर्मचारीले केही घाइते पल्लो कोठामा पनि छन् भनेपछि उतै लागेँ । पल्लो कोठामा भएका घाइतेमध्ये पहिलो लाइनमा मैले मेरा श्रीमानलाई देखेँ ।
उहाँ केही बोल्दै गरेको जस्तो लाग्यो, तर के हो भनेर सुन्न सकिन । उहाँलाई ज्युँदो देख्दा मैले छुट्टै संसार पाएजस्तो लाग्यो । मैले गर्लम्मै अँगाले मारे । अनि रुन थाले । एकछिन पछि डाक्टर आएर हामिलाई छुट्याए र उपचारको लागि कोठामा लगे । श्रीमानलाई ज्युँदो देख्दा मेरो मन केही खुसी भएको थियो । तर आमा र बहिनीको हालत के छ अझै थाहा छैन । निकै छटपटाइरहेँ ।
मेरो भाइ पनि काठमाडौंमा बस्छ । उसले काम गर्ने क्षेत्र पनि सुन्धारा नै हो ।  त्यो दिन पनि भाइ सुन्धारामै रहेछ । हामी धरहरा चढ्दैछौं भन्ने कुरा उसलाई पनि थाहा थियो । हामी धरहरामा छौं भन्ने कुरा उसलाई पनि थाहा थियो । धरहरा हेर्न आएको भाइले आमाको लास देखेछ । उ रुदै कराउदैँ उस्ले आमाको मृत्यु भएको बतायो । म पुरै पागल भएँ । श्रीमान हलचल गर्न नसक्ने, आमाको मृत्यु, बहिनी बेपत्ता । यी सबै कुराले मलाई पागल बनाए । 
आमाको लास पनि वीर अस्पतालमा ल्याएछन् । भाइ रुँदै मलाई भेट्न आयो । उसले भन्यो आमाको लास पनि यही ल्याएका छन् । बिहानभरि म आमाको काखमा थिएँ, भर्खरै आमाको लास हेर्नुपर्ने । हे दैव, यो के भाको ! आमालाई गुमाए पनि आमाको मुख हेर्न आत्तुर थिएँ । लास राखेको स्थानमा गएर  आमासँग धित मारुञ्जेल रुन मन लाग्यो । तर अस्पतालका कर्मचारीले जान दिएनन् । निकै रोइकराई गर्दा पनि उनीहरुले मलाई मेरी आमाको मुख अन्तिमपल्ट हेर्न दिएनन् । 
श्रीमानको उपचार भैरहेको थियो । आमाको लास अस्पतालमा थियो । बहिनीको खबर थाहा थिएन । वीर अस्पतालमा सूचना आयो धरहराका केही घाइतेलाई शिक्षण अस्पताल महाराजञ्ज पनि लगिएको छ । आफन्तलाई बुझ्न भने । एकछिनमै फोन आयो, बहिनी प्रमिलाको लास शिक्षण अस्पतालमा छ । गएको असारमा मात्र विहे गरेकी बहिनीका श्रीमान मलेसियामा छन् । मैले ती मायालु ज्वाँइलाई सम्झिएँ ।
आमा र बहिनीलाई गमाएँ श्रीमानको हालत निकै खराब छ । त्यै बेलुकी श्रीमानलाई ट्रमा सेन्टर सारियो । गाउँबाट जेठाजु आउनुभयो । मलाई सम्झाइ बुझाइ गर्नुभयो । तर मन बुझाउने ठाउँ नै थिएन । अर्को दिन आमाको लास धादिङ लगियो, बहिनीको भने पशुपतिमै अन्त्यष्टी गरियो । आमाको मृत शरीर त अस्पतालमा झुलुक्क हेर्न पाएँ । तर बहिनीको त मुहार हेर्न नपाइ उसको शरीर जल्यो । 
त्यो दिनदेखि आज पर्यन्त ट्रमा सेन्टरमा छु । श्रीमानको दायाँ खुट्टा पुरै थिचिएको छ । अप्रेसनको लागि अझै ३/४ दिन लाग्छ रे । माइतीमा भाई आमाको किरिया बसेको छ । श्रीमानलाई छाडेर जान सक्ने अवस्था छैन । घरको आर्थिक अवस्था पनि नाजुक छ ।
कमाइ खान दिने श्रीमान अस्पतालमा लड्नुभएको छ । मेरो बच्चा जन्मने दिन आउँदैछ । त्यो बेलासम्म पनि श्रीमान निको नभए के गर्ने हो पत्तो छैन । आज म ट्रमा सेन्टरको पाँचौ तलामा भाग्य सराप्दै बसेकी छु । आँखै अगाडि आमा र बहिनी गुमाउँदा म आफै गुमे जस्तो लागिरहेछ । बाँच्न मन त छैन तर के गर्नु  बाँच्न बाध्य छु । 

source:-प्रस्तुतिः अर्जुन पोख्रेल //उज्यालो

No comments:

Post a Comment