साउदी अरब हिँडेका राजेन्द्र परियार खोजी दिन अनुरोध

रञ्जना लम्साल/नवलपरासी, वैशाख ८, विभेद बिरुद्ध अभियान - ‘बाबु विदेश गएपछि जन्मेको छोरा अहिले बाबा खोइ भन्न लागिसकेको छ, म के भनेर जवाफ दिउँ ?’ चारवर्षे छोरो डोर्याउँदै श्रीमान खोजिदिन सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र नवलपरासीको कावासोती आइपुगेकी पूजा परियार आँखा भरी आँसु पार्दै भन्नुहुन्छ, ‘जिउँदो छ कि छैन, जिउँदै आउलान भन्ने आशैमा छु ।’
परिवारको सुख खोज्दै २०६७ चैत २९ गते साउदी अरब हिँडेका नवलपरासीको अमरापुरीका राजेन्द्र परियार छोरा जन्मेर चार वर्ष भइसक्दा पनि फर्केर आउनु भएन । ‘छोरा जन्मेको खबरले एकदमै खुशी हुनुहुन्थ्यो,’ पूजा भन्नुहुन्छ, ‘छोरा जन्मेको २६औं दिनमा फोन आएको रहेछ, तर दुई घण्टापछि मात्रै श्रीमानको फोन रहेछ भन्ने चाल पाएँ ।
यताबाट फोन गर्दा लागेन, त्यसपछि फोन सम्पर्क अहिलेसम्म पनि हुन सकेको छैन ।’ त्यसको तीन दिनपछि पनि पूजाको घरमा फोन आयो । तर श्रीमान नभइ अर्कैले फोन गरेका रहेछन् । ‘श्रीमानको हो कि भनेर उठाउदा अर्कै व्यक्तिको रहेछ उसले राजेन्द्रको दुर्घटनामा मृत्यू भयो भन्यो ।’ राजेन्द्रको मृत्यूको खबर सुनेपछि त्यही मान्छेको नम्बरमा परिवारका अरु सदस्यले पनि फोन गरे ।  उताबाट कहिले दुर्घटना मात्र भएको हो, कहिले मृत्यू भैसक्यो, कहिले मलाई थाह छैन भनेर फरक फरक जवाफ दिन थालेपछि परिवार अन्योलमा परेका छन ।
श्रीमान् खोजीदिन अनुरोध गरेपछि सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी, काठमाडौं) लाई सहयोगका लागि आग्रह गरेको छ । ‘साउदीमा काम गर्न गएको कम्पनी छोडेर भागेकाले राजेन्द्रको खोजी भैरहेको तर पत्ता लागेको छैन’ पिएनसिसिका केस सर्पोट अफिसर युवराज नेपालले जानकारी दिनुभयो ।
विदेश हिँडेका श्रीमानको अवस्था पत्ता लगाएर खोजी गरिदिन श्रीमती पूजा विभिन्न संघसंस्था र व्यक्तिलाई आग्रह गर्दै हिँडिरहनुभएको छ । उहाँलाई श्रीमान गएको देश मात्र थाहा छ । कुन म्यानपावर कम्पनीले पठायो, विदेशमा काम गर्ने ठाउँ, कम्पनी, पासपोर्ट नम्वर केहि थाहा छैन् ।
सम्पतिको नाममा एक कठ्ठा जग्गा मात्रै भएकी पूजाले अर्काको अधियाँ गरेर भएपनि छोरा र सासूलाई त स्याहार्नु भएको छ, तर चार वर्षदेखि श्रीमान सँगै नहुँदा उहाँलाई घरबार सम्हाल्न भने गार्हो भैरहेको छ ।

No comments:

Post a Comment