|
सिन्धुपाल्चोक कर्थलीकी फूलमाया विक भूकम्पमा ज्यान गुमाएका श्रीमान्को सम्झनामा भक्कानिँदै(माथि) । उनको भत्केको घर भएका ठाउँमा दाताले बनाइदिएका अस्थायी टहरा र पुरिएका घरबाट निकालिएका आरनका सामान। तस्बिर : किरण पाण्डे/कान्तिपुर |
२०७२ जेठ १९ – कर्थली (सिन्धुपाल्चोक), विभेद बिरुद्ध अभियान । थाप्लैमाथि रहेको चुच्चेखर्कको भीर खसिहाल्छजस्तो उनलाई कहिल्यै लागेन। त्यसकै आडबाट कैयौंपल्ट खर्क चढिन्, घर झरिन्। तर, वैशाख १२ गतेको महाभूकम्पले यति साह्रो हल्लाइदिएछ, डाँडै खस्यो।
खस्यो मात्र होइन, उनको प्राणभन्दा प्यारो श्रीमान्को प्राणै उडायो। त्यस दिनयता फूलमाया विकका आँखा ओभाना छैनन्।
भीरमाथि खर्कमा गोठ थियो। भीरमुनि पाखामा घर। घरमा वस्तुभाउ पाल्ने र चराउने ठाउँ नभएकाले कर्थली ७ का धेरैजसोले डाँडामाथि ऐलानी जग्गामा गोठ राख्छन्। त्यही वडाको दलित बस्तीका फुन्द्रबहादुर र फूलमायाले पनि त्यसै गरे।
गोठ भएपछि तलमाथि गरिरहनुपर्ने। ‘त्यस दिन बिहानै घर गएर चामल, पिठो, नुन, तेल ल्याउन मैले नै उहाँलाई घर पठाएँ,’ भक्कानिँदै फूलमायाले भनिन्, ‘आउने बेला भयो होला भन्दै बाटो हेर्दै थिएँ, भुइँचालो पो आयो।’
भुइँचालो जाउन्जेल उनी खरको थुप्रो अँठ्याएर बसिन्। ‘जब रोकियो मेरा आँखा उँधै भए। श्रीमान् आउनुहुन्छ कि भनेर हेरिरहेँ। फेरि भुइँचालो आएको आयै गर्यो,’ उनले सुनाइन्, ‘मनमा आँधी हुरी चल्यो। श्रीमान् र छोराछोरीको मायाले भतभती पोल्यो। आ, मरे मर्छु भनेर आँट बटुली उँधो हुर्रिएँ।’
भीर धसारिएर बाटातिर पहिरो झरेको परैबाट देखियो। करिब २० मिनेटमा उनी त्यहाँ पुगिन्। ‘पहिरोबाट फाल हान्दै दौडिँदै थिएँ, आफ्नै श्रीमान् लडिरहेको देखेँ। टाउको उँधो थियो, खुट्टा उँभो,’ उनले त्यो हृदयविदारक घटना सुनाइन्, ‘ढुंगाले लागेर टाउको कच्याक्कै भएको थियो। उठाएर छाती छामेँ, चलिरहेको थियो। नजिकैको गोठमा पानी मागेँ। खुवाएँ। एकैछिनमा उहाँ बित्नुभयो।’
छिन–छिनमा डड्याम्–डड्याम गर्दै भूकम्प गइरहन्थ्यो। पहिरोको फेदमा अर्धचेत फूलमायाको काखमा मृत पतिको सिरानी थियो। उनका आँखाबाट झरेको आँसु पतिको अनुहारमा तपतपाइरहेको थियो। उँभोबाट फुसफुस पहिरो गइरहेको थियो। उँधो जमिन भुकभुक हानिरहेको थियो। जानु, कहाँ जानु? कसरी जानु? बस्नु, ज्यानमारा ठाउँ छ † बिलखबन्दमा थिइन् उनी।
‘नरोऊ भाउजू’, परिचित स्वर सुनियो। नजिकै गोठ रहेका गोरे तामाङ सम्झाउन आइपुगे। बल्ल उनलाई सहारा मिल्यो। केही सम्हाल्लिइन्। उनले आफ्नै गोठबाट डोको ल्याए। ‘उहाँ नै मेरो देउता हुनुभयो। मेरो श्रीमान्को लास डोकामा बोक्नुभयो,’ उनले भनिन्, ‘म पछि–पछि आएँ। त्यस्तो मान्छे संसारमा कमै जन्मेलान्।’
धेरै ठाउँमा कथित दलित र गैरदलितबीच मरुमारुमा समेत छुवाछूत हुन्छ। कर्थली यस्तो गाउँ रहेछ, जहाँ मिनेट–मिनेटका कम्पनको पर्वाह नगरी तामाङ दाइले विश्वकर्माको शव डोकामा बोकेर घर पुर्याइदिए।
‘यहाँ कसैसँग धन छैन,’ त्यो दिन सम्झिँदै स्थानीय डम्बरी तामाङले भनिन्, ‘तर सबैसँग मन छ।’
सहृदयी मन त धेरै छन्, तर फूलमायाको आधा मन अब यस संसारमै छैन। फूलजस्तै उनको जिन्दगी अब माटोजस्तै भएको छ। ‘काम गर्न खुट्टा लाग्दैनन्। मनमा आगोले पोलेजस्तै हुन्छ,’ सारीको फेरले आँसु पुछ्दै उनले भनिन्, ‘रुन मात्रै आउँछ। घरी–घरी त श्रीमान्सँगै सती जान पाएको भए हुन्थ्योजस्तै लाग्छ।’
गोरे दाइले शव घरमा ल्याइदिए पनि निरन्तरका परकम्पले घाट लान सकेनन्। चार दिनमा खाडी खोला लगेर दाहसंस्कार गरे। गाउँका करिब ४० जना मलाम गए। ‘बारीको पाटामा छाप्रो बनायौं। त्यहीं बुबाको लास राख्यौं। हामीले रुँदै रुँग्दै गर्यौं,’ जेठा छोरा सुनीलले भने, ‘चार दिनसम्म न कोही मलाम जाने स्थिति थियो, न घाट लाने नै।’
गरिखाने आरन भत्कियो
फुन्द्रबहादुरको घरमा आरन थियो। फलामको काम गरेर उनले परिवार राम्ररी पालेका थिए। भुइँचालोले घरसँगै आरन पनि पुरिदियो। हुन त आरनको के माया † जब त्यसलाई चलाउने मालिकलाई नै पुरिदियो।
‘हँसिया, खुकुरी, कोदालो टाकटाक–टुकटुक गर्नुहुन्थ्यो, जहान छोराछोरी पाल्नुहुन्थ्यो,’ फूलमाया सम्झिन्छिन्, ‘सबै पुरियो। अहिले विष्टहरूले हतियार भुत्ते भए भन्छन्। फेरि आरन जोरजाम गर्न छोराहरूसँग सीप छैन। गोल पोल्न त जान्दैनन्, कसरी गरिखालान्?’
रूखो डाँडाको यस गाउँमा मकै र कोदोबाहेक केही फल्दैन। दुई हलको मेलो बारीको उब्जनीले बढीमा ६ महिना ढिँडो खान पुग्थ्यो। बाँकी ६ महिना ७ जनाको परिवार उनै फुन्द्रबहादुरले आरनमा बगाएको पसिनाले पालिन्थ्यो। ‘उहाँको कमाइले केही चामल किन्थ्यौं,’ फूलमायाले भनिन्, ‘दिक्क लागेका बेला मुख फेरेर खान्थ्यौं।’
छोरी शान्तिको बिहे भइसक्यो। १८ वर्षीय जेठो छोरा सुनीलले ८ कक्षा पढ्दापढ्दै छोडे। कान्छो राजन ५ मा पढ्दै छन्। माइलो संगमलाई ७ मा पढ्दा पढ्दै दुई वर्षअघि मुटुको रोग लाग्यो। काठमाडौंमा गंगालाल अस्पताल लगेर शल्यक्रिया गरे। त्यसअघि रोग पत्ता लाउन पाटन, धुलिखेल आदि अस्पताल महिनौं घुमाउँदा एक लाख खर्च लाग्यो। दु:खले जोहो गरेको सम्पत्ति पनि त्यतै सकियो।
‘उसले महिनाको ८ हजार रुपैयाँको दबाई खानुपर्छ,’ संगमलाई सुमसुम्याउँदै फूलमायाले भनिन्, ‘डाक्टरले २५ वर्षसम्म खानुपर्छ भनेका छन्। ट्याम–ट्याममा जँचाउन लानुपर्छ। उहाँले अनेक दु:ख गरेर पुर्याउनुभएको थियो। भएको दबाई भुइँचालो जाँदा घरमै पुरपार भयो। त्यसयता खान पाएकै छैन। अब किनेर खुवाउने अवस्था पनि छैन।’
विक परिवारको कमाइको अर्को स्रोत हलगोरु पनि त्यही पहिरोमा पुरिए। साथमा दुइटा बोका मरे। ‘खर्कमा अब दुइटा भैंसी र दुइटा बाख्रा छन्,’ उनले शनिबार भनिन्, ‘अस्ति थरथर काँप्दै गएँ। त्यस दिनदेखि छाडै छन्। हातमै नआउने भएछन्। बल्लबल्ल पिठो खुवाएर आएँ। केही दिनमा गएर यतै ल्याउँछु।’
आफ्नै बास अस्थायी टहरोमा छ। थाहा छैन– ती वस्तुभाउ कहाँ पाल्ने? के खुवाउने? ‘भगवान् छन् भने अवश्य हेर्लान्’, फूलमायालाई आस अब यति छ।
स्रोत :-कान्तिपुर
No comments:
Post a Comment