जसका लागि विदेसिएँ, उनीहरू नै नभएपछि अब के गरौं ? - राजु बिक

रमेशचन्द्र अधिकारी, सौरपानी (गोरखा), जेष्ठ १८ -  विभेद बिरुद्ध अभियान  । सौरपानी ८ रनचोकका राजु बिक अर्धचेतजस्तै छन् । ४ महिनाअघि पत्नी र छोराछोरी छाडेर रोजगारीका लागि मलेसिया पुगेका थिए ।
परिवारका अधिकांश सदस्यको महाभूकम्पमा मृत्यु भएपछि उनी गत शुक्रबार फर्किएका छन् । भत्किएर खण्डहर बनेको घरको भग्नावशेष अघिल्तिर बिलौना गरिरहेको अवस्थामा भेटिए ।
‘जसका लागि बिदेसिएँ, उनीहरू नै नभएपछि अब के गरौं,’ उनले भने । महाभूकम्पमा घर भत्किँदा उनका ४ वर्षीय छोरा राज र ३४ वर्षीया पत्नी च्याङ्ग्रीको मृत्यु भयो । १३ वर्षीया छोरी सिरु मात्र उनको साथमा छिन्।
घरभित्र सुतिरहेका छोरा राजलाई घरले किच्यो, उनलाई बचाउन घरभित्र पुगेकी च्याङ्ग्री गम्भीर घाइते भइन् । उपचारकै क्रममा ३ दिनपछि उनी पनि
बितिन् । पत्नीले मृत्यु हुने अन्तिम क्षणसम्म सकिनसकी मोबाइलमा कुरा गरेकी
थिइन् । ‘मसँग कुरा गर्दागर्दै प्राण त्याग गरिछन्,’ उनले भने । प्राथमिक उपचारसमेत हुन नपाउँदा उनको मृत्यु भएको सिम्जुङ ८ ढोडेनीका तुलबहादुर थापाले बताए।
एकै गाउँका धेरैको ज्यान गएको खबर पाएपछि थापा रनचोक पुग्दा उनले घाइते च्याङ्ग्रीलाई भेटेका थिए। ‘सामान्य घाइते जस्तै देखियो, भित्री चोट बढी रहेछ,’ थापाले भने । महाभूकम्पको केन्द्रबिन्दु रहेको बारपाकसँग सीमा जोडिएको रनचोकमा १४ जनाको ज्यान गएको थियो ।
राजुका छरछिमेकसमेत उनीजस्तै शोकमा छन्। भूकम्पले उनका छरछिमेक र नजिकका आफन्तसमेत १४ जनाको मृत्यु भयो । छोरी सिरु पनि आमा र भाइ गुमाएयता विक्षिप्त छिन्। बाँचेकाहरू आपसका समान पीडा बोकेर मन बुझाउने प्रयासमा छन्।
पत्नी, सन्तान र आफन्तजन गुमाएको पीडामा पनि विदेशबाट घर फर्कने बिदा नपाउँदा बिक महिना दिनसम्म मलेसियामै अर्धचेत अवस्थामा बसे । आफ्नो अवस्थाबारे धेरै बिन्ती बिसाउँदा बल्ल कम्पनीले बिदा दियो । आफ्नै खर्चमा फर्किएका विक अब विदेश जाने नजाने दोधारमा छन्।
आगामी दसैंमा विदेशबाट फर्कने सोचमा थिए । यस्तो विपत्तिको चपेटामा परेर फर्कनुपर्ने कल्पनासमेत गरेका थिएनन् । साहुबाट ऋण काढेर विदेश पुगेका उनी ४ महिनापछि रित्तो हात फर्कन बाध्य छन्।
तोते स्वरमा छोराले खेलौनाको माग गरेको प्रसंग कोट्याउँदै उनी भक्कानिन्छन्। तर, मन केही दह्रिलो गर्दै भन्छन्, ‘हुन त के पो गरौं र सबैको हालत मेरै जस्तो छ, यस्तो विपत्ति कहिल्यै कसैलाई नआओस्।
स्रोत :-कान्तिपुर

No comments:

Post a Comment