राजेन्द्र ताम्राकार ,काठमाडौं÷२० साउन, विभेद विरुद्ध अभियान ।नयाँ संविधानमा केन्द्रमा ३ संघमा ५ र स्थानीय तहका व्यवस्थापिकामा १० प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने लगायतका विभिन्न ९ बुँदे माग गर्दै आएका दलित समुदायले आज बानेश्वरमा विशाल जनप्रदर्शन गरेका छन् ।
संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, दलित सभासद् समन्वय मञ्च र दलित नागरिक समाजको संयुक्त आयोजनामा बबरमहलदेखि निकालिएको उक्त ¥यालीसहितको जुलुस नयाँ बानेस्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
नयाँ संविधानमा पहिलो संविधानसभा, संविधानसभा अन्तर्गतको निक्र्यौल समितिले सर्वसम्मतीबाट पारित गरेका व्यवस्थालाई यथावत राखिनुपर्ने, राज्यका सबै संयन्त्रमा क्षतिपूर्तीसहित समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने लगायतका नौबुँदे साझा माग राख्दै आएका दलितहरुले चरणबद्ध आन्दोलन अन्तर्गत आज विशाल जनप्रदर्शन गरेका हुन् ।
कोणसभालाई सम्बोधन गर्दै सभासद् मीन विश्वकर्माले पूर्व सहमति भइसकेका र सबैले स्वामित्व ग्रहण गरिसकेका दलित समुदायका मुद्दालाइ राजनीतिक दलका शीर्ष नेताहरुले कटौती गरेको भन्दै घोर भत्सना गर्नुभएको छ ।
विश्वकर्माले विगतमा राणा, पञ्च र शाहहरुका विरुद्धमा लडेका दलितलाई नयाँ संविधानमा आफ्ना हकहित र अधिकार सुनिश्चित गराउनका लागि आज फेरि व्राम्हणवादका विरुद्धमा लड्न बाध्य बनाइएको आरोप लगाउनुभयो ।
सभासद् जीतु गौतमले आफूहरुका मुद्दा एकाएक कटौती गरि संविधानको मस्यौदा ल्याइएकाले बाध्य भएर आन्दोलनमा होमिएको बताउँदै अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभयो ।
उहाँले अरुका मौलिक हकमा कानुन बनाउनु नपर्ने तर दलित समुदाय सम्बन्धि व्यवस्था गरिएको मौलिक हकका विषयमा कानुन बमोजिम हुनेछ भन्ने व्यवस्था राखिनु घोर अपराध भएको बताउनुभयो ।
सभासद् दलजीत श्रीपाइलीले दलित समुदायको हकहित र अधिकार प्राप्तिका लागि जनयुद्धमा ज्यानको बाजी थापेर नाफामा आएको जिन्दगीलाई दलितको अधिकार प्राप्तिका लागि आहुति दिन तयार भएको बताउनुभयो ।
उहाँले आफूहरुले उठाएको केन्द्रमा ३ संघमा ५ र स्थानीय तहमा १० प्रतिशतको सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो । श्रीपाइलीले आन्दोलन दुइचारजनाको हातखुट्टा भाँचिदैमा र केही साथीहरु घाइते हुँदैमा आन्दोलन नरोकिने बताउनुभयो ।
दलित समुदाय अरिङगालको गोलो भएको र यो बाघ समुदाय भएकाले यसका विरुद्धमा कदम नचाल्न शासकलाई चुनौति दिनुभयो ।
सभासद् अनिता परियारले दलित समुदायले राज्य नमागेर नयाँ संविधानमा आफ्नो अधिकार मागेको बताउँदै सत्तामा बसेका केही व्यक्तिले आफूहरुका अधिकारलाई जबर्जस्ती कटौती गरेको बताउनुभयो । यसका लागि आफूहरु अधिकार प्राप्त नहुँदासम्म आन्दोलनमा होमिने बताउँदै ऐक्यवद्धताका लागि सबैमा अपिल गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै गैर सरकारी संस्था महासंघकी अध्यक्ष शर्मिला कार्कीले दलित आन्दोलन न्यायको आन्दोलन भएकाले यो राष्ट्रको आन्दोलन हो भन्नुभयो । उहाँले आन्दोलनप्रति आफ्नो ऐक्यवद्धता जनाउँदै घाइतेको उपचारका लागि नागरिक समाजद्वारा स्थापित कोषलाई पाँचहजार दिने घोषणा गर्नुभयो ।
सभामा नागरिक अगुवा तथा सभासद् श्याम श्रेष्ठले दलितका विषयमा कोही नबोलेको अवस्थामा पनि आफूहरुले संविधानसभामा दलितका मुद्दा सम्बोधन गराउन निरन्तर दबाब दिइरहेको बताउनुभयो ।
श्रेष्ठले आन्दोलन जायज भएको र यो मानवअधिकार र सामाजिक न्यायको आन्दोलन भएकाले यसलाई सबैले सम्बोधन गर्नु आवश्यक रहेको बताउँदै अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी राख्न आग्रह गर्नुभयो ।
सभालाई दलित नागरिक समाजका अगुवा पदम सुन्दास, भक्त विश्वकर्मा, अधिवक्ता दिनेश त्रिपाठी, प्रमिला दास, दिलबहादुर विश्वकर्मा, विजयलाल कर्ण, पदम विश्वकर्मा, उपेन्द्र छटुन्जेल लगायतले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा दलित अधिकारका लागि अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउँदै आएको ग्लोबल फोरमका संयोजक धर्म विश्वकर्माले घाइते उपचार कोषमा फोरमका तर्फबाट ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
आन्दोलनलाई थप सशक्त बनाउन आजसम्मको कार्यक्रमको समीक्षा गर्दै आन्दोलनका नयाँ कार्यक्रम छिट्टै घोषणा गरिने संयुक्त दलित आन्दोलनले जनाएको छ ।
दलित एकता जिन्दावाद
ReplyDelete