जातीय छुवाछुतबारे सरोकारवाला पक्षहरुले अनुगमन गरे

दिलीप सिंह/सिरहा, २० साउन, विभेद विरुद्ध अभियान ।
धनगढी गाविस–३ नयनपुरका दीपक मलिकमाथि भएको जातीय छुवाछुतबारे मंगलबार सरोकारवाला पक्षले अनुगमन गरेका छन् ।
जातीय विभेदका कारण स्थानीयले मलिक (डोम) का दुई घर–परिवारलाई छेउमै रहेको इनारबाट पानी खान नदिएकोबारे सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि सरोकारवालाहरूले अनुगमन गरेका हुन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा र स्थानीय अधिकारकर्मीले घटनाको अनुगमन गरेका हुन् । त्यस क्रममा राष्ट्रिय मानव अधिकार आयोगका जनकपुर कार्यालय प्रमुख सुवर्ण कर्माचार्य नेतृत्वको टोलीले मलिक परिवार र स्थानीयसँग घटनाबारे जानकारी लिएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामकृपाल साहले पनि मंगलबारै घटनास्थल अनुगमन गरेका छन् । प्रहरी उपरीक्षक साहले आफूले मंगलबार सञ्चार माध्यमबाट थाहा पाएपछि घटनाबारे बुझ्न आएको बताए ।
घटनास्थल पुगेका आयोग र प्रहरीका अधिकारीसमक्ष दीपककी ५५ वर्षीया आमा प्रमिलाले ‘आफूहरूले पनि इनारबाट उनीहरूसँगै पानी भर्न किन नपाउने’ भन्दै प्रश्न गरेकी थिइन् । उनको थप प्रश्न थियो, ‘हामीले सामाजिक मर्यादा पाउने कि नपाउने ?’ प्रमिलाले आफूलाई इनारमा पानी खान नदिने गैरदलितसँगै स्थानीय दलित (मुसहर र चमार) हरू पनि रहेकाले सबैलाई कारबाही गर्न आग्रह गरिन् ।
अनुगमन टोलीलाई स्थानीयले आफूहरूले कसैमाथि जातीय विभेद नगरेको दाबी गरेका थिए । डोम परिवारलाई पानी खान नदिन एकमत देखिएका स्थानीय दलित समुदाय (मुसहर र चमार) ले डोम परिवार फोहोरी भएको र स्थानीयसँग झै–झगडा गरिरहने भएकाले आफूहरूले पानी भर्न नदिएको बताए ।
प्रहरी उपरीक्षक साहले जातीय छुवाछुत गर्नु अपराध भएको भन्दै सामाजिक रूपमै मिलेर पानी खाने वातावरण बनाउन आग्रह गरे । उनले छुवाछुत गरिरहे कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिए ।
के भन्छन् सरोकारवाला ?
मानबहादुर विके
प्रमुख जिल्ला अधिकारी, सिरहा
म जिल्लाबाहिर काठमाडौंमा छु । तर, पनि जिल्लामा विभिन्न निकायबाट बुझ्ने काम भइरहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीलाई उजुरीसमेत आएको छैन । विभेद भएकै देखिए प्रहरी प्रतिवेदनअनुसार कारबाही
अगाडि बढ्छ ।
सुवर्ण कर्माचार्य
राष्ट्रिय मानवअधिकार
आयोग, जनकपुर
घटनास्थल पुग्दा लज्जाबोध भयो । केही शिक्षकले पनि विभेदलाई पृष्ठपोषण गरेको पाइयो । नयनपुरमा कानुनविपरीत काम भएकै हो । हामी राज्यलाई केही सिफारिस गर्नेछौँ ।
देवराज पोखरेल
इन्सेक प्रतिनिधि, सिरहा
घटनामा गैरदलित मात्र होइन, दलित पनि दोषी छन् । गैरदलितलाई मात्रै मुछ्ने गरी स्वार्थवश आवाज उठेका छन् ।
रामकृपाल साह
डिएसपी, जिप्रका, सिरहा
डोमलाई पानी भर्न नदिनु गैरकानुनी हो । स्थानीय समाजले समाधान निकाले ठीकै छ, नभए बुधबार प्रहरीले मलिक परिवारलाई त्यही इनारबाट पानी खुवाउँछ । स्थानीयले प्रतिकार गरे कारबाही हुन्छ ।
गोविन्द विष्ट
अध्यक्ष, गैसस महासंघ, सिरहा
दलित परिवारविरुद्ध समुदायका अरू सबै एकमत हुनु राज्यका लागि ठूलो चुनौती हो । सिंगै गाउँ अज्ञानताको सिकार भएको देखियो । डोमलाई दलितले पनि विभेद गरेको देखियो । राज्यले चेतनाका लागि गरेका कार्यक्रम निष्प्रभावी छन् ।
अर्जुन बस्नेत
जिल्ला शासन विज्ञ
चेतनाको कमीले मात्र यसो भएको होइन, राज्य कमजोर भएर हो । घटनामा संलग्न जो–कोहीलाई कारबाही गर्नुपर्छ । छलफल गरेर मिलाउनु हुँदैन ।

नयाँ पत्रिका  बाट

No comments:

Post a Comment