गीता नेपाली सुतेकै कोठामा जलेर गम्भीर घाइते अवस्थामा भेटिन


नेपालगन्ज, १७- साउन, विभेद विरुद्ध अभियान  : बर्दियामा मुस्लिमसँग विवाह गरेकी गीता नेपाली जलेर सख्त घाइते भएकी छन् ।मोहम्मदपुर–१ गणेशपूरकी ३० वर्षीया गीता नेपाली  शेष शनिवार राति जलेर  गम्भीर घाइते भएकी हुन् । आफनै कोठामा शनिबार राति गीता जलेकी परिवारका सदस्यले जनाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले  बताएको छ ।

करिव ४५ प्रतिशत शरीर जलेकी गीताको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गीताको अवस्था गम्भीर रहेको भेरी अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. श्याम सुन्दर यादवले बताए ।  

घाइते गीताले आफँैले आगो लगाएको बाहेक अरु केही बोल्न चाहिनन् । नईवुद्दिन शेषकी जेठी श्रीमती हुन गीता ।   नइवुद्दिन शेष र गीता नेपालीबीच १२ बर्ष पहिले प्रेम विवाह भएको थियो । शेषले मुस्लिम महिलासँगै दोस्रो विवाह गरेका छन् । गीता र नैवुद्धिनका १० र ६ वर्षका दुई छोरी छन् ।

श्रीमान् शेष  ९÷१० दिन अघिमात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका हुन् । गीताको उपचारका लागि श्रीमान नैवुद्धिनले नै भेरी अञ्चल अस्पतालमा ल्याएका छन् ।

श्रीमती र आफूबीच माइती जाने बिषयमा सामान्य विवाद भएको नैवुद्धिनले बताए । त्यसपछि एक्कासी आगो लागेपछि मात्रै आफू थाहा पाएको नैवुद्धिनले  बताए ।  परिवारका सदस्यहरु घरमै रहेको अवस्थामा गीताले मट्टीतेल छर्केर शरीरमा आगो लगाएपछि उपचारका लागि अस्पताल ल्याएको नैबुद्धिनले बताए ।

मुस्लिमसँग बिवाह गरेकी कथित दलित समुदायकी गीता नेपाली जल्नु शंकास्पद भएको प्रहरीले जनाएको छ । बर्दियाका प्रहरी उपरीक्षक गोविन्दराम परियारले घटनाको अनुसन्धान भइरहेको बताए ।

उपरीक्षक परियार आफैँ घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाएको बताए । ‘म घटनास्थलमा नै आएको छु, सौता सौताको विषयमा केही भएको हुनुपर्छ’, उनले भने, ‘यसको हामी अनुसन्धान गरिरहेका छौँ ।’

अग्नि हिंसापीडित संस्था (बिभिएस) नेपालका प्रतिनिधि सुरेन्द्र कार्कीले  जलेकी गीताले घटनाबारे खुलेर कुरा गर्न नमानेले घटना शंकास्पद भएको बताए ।  

बाँके र बर्दियामा मधेशी तथा मस्लिम समुदायमा घर परिवारका सदस्यले महिलामाथि आगो लगाउने घटना धेरै हुने गरेका छन् । गत आर्थिक वर्षमा मात्रै भेरी अञ्चल अस्पतालमा एक सय ३१ जना महिलामाथि आगजनीका घटना भएको अस्पतालको तथ्यांकले देखाएको छ । 

No comments:

Post a Comment