रामेछाप । माघ १८ गते,- पहिला हामीलाई मान्छेहरुको अगाडि आफ्नो परिचय दिन पनि आँउदैनथ्यो । परिचय
गर्न हात जोडेर उभियो, त्यत्तिकै काम छुटेर थचक्क बस्नु जस्तो हुन्थ्यो ।
पहिलाको कुरा सम्झदा त अहिले आफैलाई अचम्म लाग्छ । पहिला भन्दा त अहिले त
धेरै सुधार भयो नी । आफ्ना कुरा खुलेर राख्न सकिन्छ । चित्त नबुझेको कुरामा
छलफल गर्न सकिन्छ । आफ्ना अधिकारका कुरा किन नपाउने भनेर कुरा राखिन्छ ।
जायज कुरा गरेपछि मान्छेले काट्न पनि नसक्ने रहेछन्”–रामेछापको नागदह गाविस
५ को मानेडाँडा महादेव सामुदायीक संस्थाका सचिव नेत्रबहादुर विकले आफ्नो
विगतलाई वर्तमानसँग तुलना गर्दै भने ।
नागदह गाविस ५ मानेडाँडामा २४ घर परिवार दलित छन् । जहाँ १२ घर विश्वकर्मा र
१३ घर दर्जी समुदायका मानिसहरु बसोबास गर्दछन् । आर्थिक तथा सामाजिक रुपमा
पछि पारिएको दलित समुदायको अवस्था सुधारको लागि विभिन्न सामजिक
संस्थाहरुले सञ्चालन गरेको कार्यक्रमले अहिले त्यहाँका दलित समुदायको
अवस्थामा निक्कै सुधार आएको छ । उनीहरु सामाजिक रुपमा निक्कै सचेत भएका छन्
। आर्थिकरुपले आयआर्जनको काममा लागेका छन् । स्वास्थ्य र सरसफाईको पनि
ख्याल गर्ने भएका छन् ।
सामुदायीक संस्थाका अध्यक्ष वुद्धिवहादुर विक भन्छन्–“हामीलाई सबैभन्दा
पहिला जिल्ला विकास समितिको स्थानिय विकास कोषको कार्यक्रमले परिचय गर्न
सिकायो । आरएचडिपिले शौचालयमा दिसापिसाव गर्न सिकायो । गरिवि निवारण कोषको
कार्यक्रमले आयआर्जन गर्न सिकायो । लिवर्डको घर बगैँचा परियोजनाले तरकारी
लगाउन र खान सिकायो । इन्सेकले आफ्ना अधिकार खोज्न र कुन निकायमा गएर कस्तो
सेवा कसरी लिने भनेर सिकायो । सबै संस्थाको साझा प्रयासले हामी यहाँसम्म
आइपुग्यौँ । केही केही संस्थाहरुले त हामीलाई अपमानित पनि गरेका
छन्”,बुद्धिवहादुरले सुखद अनुभवसँगै तितो यथार्थ पनि सुनाए । उनले
भने–“एउटा संस्था आयो । केही काम ग¥यो । पछि त तिमीहरु दलित काम नगर्ने
रहेछौ भनेर त्यत्तिकै अपमानित गरेर छाडेर हिड्यो” ।त्यहाँको दलित बस्तीका सबै बालबालिकाहरु अहिले विद्यालय जान लागेका छन् ।
सो वस्तीका २७ जना बालबालिकाहरु १ कक्षादेखि १० कक्षासम्म पढ्न विद्यालय
जान्छन् । सबै घरमा शौचालय बनेका छन् । सामुदायीक संस्थामा आवद्ध सबैले
आयआर्जन हुने तरकारी खेती, गोलभेडा खेती, बाख्रा, बंगुर वा किराना पसल सानो
ठुलो केही न केही काम गरेका छन् । स्थानियलाई परेको समस्यामा सबैले
सघाउँछन् । स्थानिय सुकमायाँ नेपाली भन्छिन्–“नबुझेको कुरा बुझ्नेले
अथ्र्याउँछन् । आपद पर्दा सबैले सघाउँछन् । पहिलाभन्दा टोलमा अहिले धेरै
राम्रो भएको छ” ।
सामाजिक सचेतनाकै कारण दलित समुदायका मानिसहरुको स्थानिय श्रोत र साधनमा
पहुँच पनि वृद्धि भएको छ । गाउँ विकास समितिको योजना तर्जुमा र बजेट
विनियोजन गर्ने बैठकमा पनि दलित प्रतिनिधिहरुको सहभागीता हुन लागेको छ ।
नेत्रबहादुर विक नागरिक वडा मञ्चको तर्फबाट यस पटकको गाउँ परिषदमा सहभागी
भए । वुद्धिबहादुर दलित प्रतिनिधिबाट । “पहिला पहिला हामीलाई गाउँ परिषद
हुने, बजेट छुट्याउने कुरा थाहा नै हुँदैनथ्यो । हामीले कुरा बुझेर खोजी
गर्ने लागेपछि राजनितिक दल र गाविस हामीलाई बोलाउन बाध्य भयो । यसपटक हामी २
जना गयौँ । दलितको लक्षित बजेट पुरै २९ हजार ७ सय ९६ रुपैयाँ छुट्याउन
लगायौँ । त्यो रकम बाख्रा पालनमा खर्च गर्ने योजना बनाएका छौ”,नेत्रबहादुर
सामाजिक आन्दोलनमा भएको जित सगर्व सुनाए ।
नागदहको मानेडाँडाका दलित बस्तीका यी दलितहरुको लागि मात्र हैन रामेछापका
अन्य गाउँका पनि दलित र विपन्नलाई लक्षित गरी यस्ता कार्यक्रमहरु गएका छन् ।
तर मानेडाँडाका दलितहरुले आफूहरुलाई आएको सेवा लिन सिकेका छन् । आफ्नो
अधिकार उपभोग गरेका छन् । यो दलित बस्तीबाट अन्य ठाउँका दलित समुदायका
मानिसहरुले किन पाठ नसिक्ने ।
No comments:
Post a Comment