दलित र गैरदलित भन्ने मात्र होइन, विवाहका लागि उमेरले पनि छेकेन

याम्फुदिन, ताप्लेजुङ । दलितसँग विवाह गर्नु अहिले पनि कतिपय स्थानमा अचम्म मानिन्छ । परिवारले नै स्वीकारेर विवाह भएका उदाहरण त कमै मात्र छन्, तर ताप्लेजुङको याम्फुदिनका एक जोडीलाइ दलित र गैरदलित भन्ने मात्र होइन, विवाहका लागि उमेरले पनि छेकेन ।  याम्फुदिनका सरस्वतीकुमारी घतानी र कुमार मगरको उमेरको अन्तर थियो— १४ वर्ष । सरस्वतीको उमेर ३९ र कुमारको २४ वर्ष थियो, तर एक वर्षको प्रेमपछि उनीहरू दुवै जना विवाह बन्धनमा बाँधिए । विवाहपछि कुमारले भने— 'मन मिलेपछि न उमेर हे रिूदो रहेछ न जात, घरमा ल्याएर भित्र्याएँ र आफन्तलाई बोलाएर भोज ख्वाएँ ।' 
उमेरको अन्तरमा सबैले जिज्ञासा राख्दा कुमार भन्दै थिए— 'उनको र मेरो उमेरको अन्तरचाहिँ ६ वर्ष मात्र छ, तर नागरिकता बनाउँदा मेरो उमेर बिगारिदिएको रहेछ ।' तेल्लोक-८  माइती भएकी घतानी र याम्फुदिन घर भएका कुमारबीच गत असार महिनामा विवाह भएको थियो । याम्फुदिन माध्यमिक विद्यालयकी शिक्षिका सरस्वती र पेदाङ घर भै याम्फुदिनमै व्यापार गरेर बस्ने कुमारले एक वर्ष प्रेम गरेका थिए । 'एक वर्ष त प्रेम गर्यौं,  अब भविष्य राम्रै हुन्छ भनेपछि विवाह गरेका हौं,' सरस्वतीले भनिन् । उनीहरूको विवाहलाई दुवैतर्फका परिवारले स्वीकार गरिसकेको छ । 'सासूले पनि उमेर खाएका बुहारी परिपक्व हुन्छन् भन्नुभयो,' सरस्वतीले ठट्टा गर्दै भनिन् ।

No comments:

Post a Comment