वृद्ध दलित दम्पत्तिलाई सहयोग

रामपुर बालिमखोला किनारमा बस्दै आएका वृद्ध दलित दम्पत्तिलाई विभिन्न क्षेत्रबाट प्राप्त सहयोग प्रदान गरिएको छ । बुधबार वृद्ध दलित दम्पत्तिको रामपुर–३, बालिमखोलास्थित घरमै पुगेर सात हजार मूल्यबराबरका खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा प्रदान गरिएको हो । बालिमखोलाको किनारमा जीर्ण बनेको झुप्रो घरमा बस्दै आएका दलित दम्पत्तिको दयनीय अवस्थाका बारेमा पत्रकार जनक नेपालीले ‘२० वर्षसम्म पशु र मान्छे एउटै थलोमा’ शीर्षकमा लेखेको समाचार गत असार ९ गते नौलो जनउभार साप्ताहिकमा छापिएको थियो । त्यस्तै, सोही विषयमा पत्रकार डिल्ली मल्लले ‘हाम्रा लागि भगवान पनि टेढा भए’ शीर्षकमा लेखेको समाचार असार १९ गतेको गोरखापत्र दैनिकमा छापिएको थियो । दुवै पत्रिकामा छापिएका समाचार पढेपछि तुलसीपुर दाङ घर भई हाल लण्डनमा बस्दै आउनुभएका सुमन गुरुङले ५ हजार रुपैयाँ, दाङका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले १ हजार र काठमाण्डौंका हरिप्रकाश पुडासैनीले १ हजार रुपैयाँ वृद्ध दम्पत्तिका लागि सहयोग प्रदान गर्नुभएको थियो ।

 नगदभन्दा आवश्यक सामान ल्याइदिन वृद्ध दम्पत्तिले गरेको आग्रहबमोजिम ७ हजार रुपैयाँबाट दुई बोरा चामल, ४ किलो दाल, दुई किलो नून, २ लिटर तेल र बेसार, एक सेट सिरक डसना र एक सेट भाँडाकुडा प्रदान गरिएको हो । बुधबार वृद्ध दम्पतिको घरमा एक कार्यक्रमको आयोजना गरि सो सहयोग सामग्री प्रदान गरिएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नरेन्द्र केसी, रामपुर गाविस सचिव प्रवीण खनाल र नौलो जनउभार साप्ताहिकका कार्यकारी सम्पादक एवम् गोरखापत्र दैनिकका घोराही समाचारदाता डिल्ली मल्ल सहयोग सामग्री प्रदान गर्नुभएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष नरेन्द्र केसीले मानवीय नाताले समाजका असहाय, गरिब र विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभयो । पत्रकारिता क्षेत्र समाजलाई सूसुचित गर्नुका साथै समाजसेवा, अग्रगामी रुपान्तरण र विकासका लागि सबैलाई सचेत गराउने क्षेत्र रहेको भन्दै उहाँले समाचारका माध्यमबाट असहाय दलित दम्पत्तिको विषय उजागर गरेर सहयोग जुटाउने पत्रकार, पत्रिका र सहयोग प्रदान गर्ने दाता र घर निर्माणलगायत उनीहरुको रेखदेख गर्ने स्थानीयबासी सबै धन्यवादका पात्र भएको बताउनुभयो । कार्यक्रममा रामपुर गाविस सचिव प्रवीण खनालले आफूहरुले वृद्ध दलित दम्पत्तिको नागरिकता बनाउनेदेखि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न पहल गरेको बताउनुभयो । सो अवसरमा नौलो जनउभार साप्ताहिकका कार्यकारी सम्पादक डिल्ली मल्लले सहयोग प्रदान गर्ने दाताहरु र संकलन गरिएको सामग्रीको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार जनक नेपालीले गर्नुभएको थियो ।
समाचार छापिएपछि नयाँ घर पनि !
वृद्ध दलित दम्पत्तिको दयनीय अवस्था र उनीहरुलाई स्थानीयबासीले सहयोग नगरेको भावको समाचार नौलो जनउभार साप्ताहिकमा प्रकाशित भएपछि स्थानीयबासीले बृद्ध दम्पत्तिका लागि सानो घर नै बनाइदिएका छन् । स्थानीयबासी सबैले सहयोग संकलन गरेर ९ हजार १ रुपैयाँ जम्मा गरी बाँसले बेरेर टीनको छाना भएको एककोठे घर बनाइदिएका हुन् । समाचारमा स्थानीयबासीले वृद्ध दलित दम्पत्तिलाई सहयोग नै नगरेको भन्ने खालको समाचार आएको रहेछ, स्थानीय वीरबहादुर विकले भन्नुभयो, हामीले पनि अलि–अलि सहयोग त गरिरहेका थियौं, तैपनि जति गर्नुपर्ने गर्न सकिएको थिएन । समाचार पढेपछि आफूहरुले केही गर्नुपर्छ नत्र गाउँ समाजकै बेइज्जत हुन्छ भन्ने ठानेर घर बनाइदिएका हौं ।’ उहाँलगायत अन्य स्थानीयले पनि वृद्धवृद्धाहरुको नागरिकता बनाउनेदेखि सामाजिक सुरक्षा भत्ताका लागि आफूहरुले पहल गरेको बताए । एक्लै सोचेर मात्र केही नहुने भन्दै स्थानीय शिक्षक नारायण थापाले सबैले मिलेर सहयोग गरेमा उनीहरुको दयनीय अवस्था नहुने बताउनुभयो ।साभार :kapilvastuonline / July 28, 2013

No comments:

Post a Comment