बेलबारी घटनाका आरोपितलाई जनही २८ हजार धरौटी माग

मोरङ , ०७० साउन ३१ गते
 बेलबारी गाविस-३ करमडाँडाकी ३५ वर्षीया माया सार्की र सोही ठाउँ निवासी फाइट साप्ताहिकका कार्यकारी सम्पादक २८ वर्षीय मनोज विश्वकर्मामाथि गरिएको अमानवीय व्यवहारको घटनामा संलग्न भएको आरोप लागेका छ जनासँग जिल्ला प्रशासन कार्यालयले साउन ३१ गते जनही २८ हजार रुपियाँ धरौटी माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेशराज कार्कीको एकल आदेशले सो धरौटी माग गरेको हो । धरौटी माग गरिएकाहरूमा बेलबारी गाविस-३ का जीवन भेटुवाल, चन्द्रकला भेटवाल, अम्विका भेटवाल, सेविका भेटवाल र सञ्जय सुवेदी रहेका छन् । धरौटी माग गरिएकामध्ये एकजना महिला धरौटी राखेर रिहा भएकी छन् । रिहा हुनेमा कमला भेटवाल रहेकी छन् । उनीहरूविरुद्ध सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा लगाइएको थियो ।

जीवन भेटुवाल, चन्द्रकला भेटवाल, अम्विका भेटवाल, सेविका भेटवाल र सञ्जय सुवेदी गरी पाँच जनालाई जातीय छुवाछूत मुद्दाअन्तर्गत कारबाही चलाउन प्रशासन प्रमुख कार्कीले आदेश दिएका छन् । उनीहरूलाई धरौटी राखेर रिहा हुने भए पनि अर्को मुद्दामा थुनामा राखी अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाइएको छ ।

घटना साउन ७ गते भएको थियो । सो दिन पीडित माया र मनोजलाई मोसो दलेर जुत्ताको माला लगाई कुटपिट गरिएको थियो । पीडित माया विराटनगरस्थित ओरेकको सुरक्षित गृहमा रहेकी छन् । मनोज आफ्नै घरमा रहेका छन् । आरोपितहरूविरुद्ध साउन २९ गते जिल्ला अदालतमा जातीय छुवाछूतसम्बन्धी उजुरी दर्ता भइसकेको छ ।

No comments:

Post a Comment