दलित, द्रौपदी र महाभारत - अरुणा उप्रेती

सिंगो संसार
आदरणीय समाजका नेता, पण्डित र विद्यार्थीहरू,
म नेपाली समाजको एक बलात्कृत र मोसो लगाइएकी दलित द्रौपदी। मेरो शताब्दीयौंदेखि चीरहरण गरिएको छ। मेरो नांगो जीउ खेलौना बनाइएको छ। रामायण, महाभारतको बेलादेखि सबैमा मेरो अपमान गरिएको छ। रजस्वला भएकी द्रोपदीलाई दु:सासनले सभामा ल्याएर ‘तँ हाम्री दासी भइस्’ भनेर चीरहरण गर्न खोज्दा भीष्म, दोणाचार्य जस्ता बलशाली योद्धा र राजा धृतराष्ट्रले केही पनि बोलेनन्।

द्रौपदीले भारी सभामा प्रश्‍न गरिन्- के मेरो अपमान गर्नेलाई सजाय दिने यहाँ कोही वीर पुरुष छैन? सबै नामर्द र नपुसंक भएका छन्? द्रौपदीको प्रश्नमा सभाका सबै वीरहरू घोसे मुन्टो लगाएर बसे। कोहीले पनि औंला ठड्याएनन् दु:सासनप्रति। द्रौपदीको चीरहरण गर्न लागेको थियो दु:सासनले। सबै चुप लागेर बसिरहे। कसैले पख भनेर रोकेनन् र द्रौपदीको त्यही अपमानको कारणले महाभारत युद्ध भयो। कौरव वंश त नष्ट भयो। बाँचेका पाण्डवको पनि जीवनमा कुनै खुसी थिएन। अहिले नेपाली समाज त्यस्तै अवस्थाबाट गुज्रिरहेछ।
हामी जस्ता बोल्‍न नसक्‍ने र दलित युवतीलाई कालोमोसो दल्दा, जुत्ताको माला लगाउँदा, त्यसविरुद्ध कुनै दलका नेता, विद्यार्थी, संघसंगठनले आवाज उठाएनन्। नेताजीको बिरालोले ‘म्याउँ’ गर्‍यो भने, उनलाई भोक लाग्यो होला भनेर आफैं गएर दूध किनेर ल्याएर उमालेर मुसार्दै दूध ख्वाउँछन्। नेताजीको गाईलाई त काखैमा राखेर दिनरात पुच्छर मुसार्छन्।
तर म मधेसकी दलित युवतीलाई चाहिँ राजनीतिक नेता, विद्यार्थी नेता कसैले पनि गाई, कुकुर, बिरालोजतिको महत्त्व दिएन। त्यसैले मलाई पिट्दा र कालोमोसो दल्दा कोही विद्यार्थी बोलेनन्। जब यो दु:खद घटनाबारे बोल्नुपर्‍यो, तब दलितले स्थापित गरेका संघसंस्थाले मात्रै विरोध गरे।
के म दलित भएकीले अन्य कुनै ठूलो जातका मानिसले नबोलेका हुन् कि? अरू बेलामा महिला मधेस र दलितप्रति हामी विशेष ध्यान राख्नेछौं र उनीहरूलाई बराबर अधिकार दिन कदम चाल्नेछौं’ भनेर भाषण मच्याउने नेता कसैले पनि म मधेसकी दलित महिलालाई अझ शारीरिक पीडा र अपमान हुँदा, घाउ दुख्दा बोल्ने जरुरत ठानेनन्। यस्तो समाजलाई त्यस्तो समाजले के महाभारतको युद्ध व्यहोर्नुपर्दैन र? जब नेताहरूले आज दलित र गरिब मधेसकी महिलाको अपमान हुँदा टुलुटुलु पो बसेर हेर्छन् तब भोलि आफ्नै परिवारमा त्यस्तो समस्या भयो भने यिनले के गर्लान्?
द्रौपदीका देवरले उनको शरीर नांगो पार्न खोजेका थिए, मलाई पनि कहिले मेरो काका, मामा, कहिले देवर, कहिले लोग्‍नेका साथी वा कहिले त बाबुसमेतले बलात्कार गर्न खोज्दा गरेका छन्। मैले त बाबुबाट बलात्कृत भएर गर्भ रहेर बच्‍चा पनि जन्माएकी छु। त्यो बच्चाको नागरिकतामा मैले कसको नाम लेख्‍ने? मेरो नामबाट नागरिकता बलात्कृत बाबुको नाम लेखूँ? मेरो बाजे र बच्‍चाकी बाबुको नाम लेखूँ? के दिन्छ मलाई नागरिकता? यो बच्चालाई मैले गर्भपतन गराउन पनि सकिन। यो बलात्कृत भएको बेलामा पुलिसमा रिपोर्ट पनि गराउन गइन्। घरका सबै परिवारले यो कुरा लुकाउन खोजे, गर्भ बढेपछि टाढाको गाउँमा गएर बच्चा पाएँ। मेरो बाबु अझै समाजमा सम्मानित भएर बाँचिरहेका छन्। पीडा त मैले नै भोग्नुपरेको छ। त्यस्तै समाजमा म बाँच्‍नुको अर्थ छैन तर आत्महत्या पनि गर्न सक्दिनँ।
समाज दलितलाई पिट्न, मार्न, अपमान गर्न, बलात्कार गर्न सक्छ तर ठूलो नेताहरू विकृतिविरुद्ध आवाज उठाउन सक्दैन। विकृतिविरुद्ध विद्यार्थी समाजले विद्रोहको आगो बाल्न सक्दैन। भोकमरीमा कसैलाई अन्न दिन सक्दैन। बाढीमा कोही बग्दा, डुब्दा कसैले डोरी दिएर बचाउँदैन। म एक दलित युवती हुँ त्यसैले मेरो आवाज के ब्राह्मण र क्षेत्री नेतासमक्ष नपुगेको हो? म एक गरिब पारिवारिक छोरी हुँ, के त्यसैले मेरो पीडा भएका नेतालाई नघुसेको हो? म एक मूक र वधिर युवती हुँ, त्यसैले मेरो पीडा सुने र ठूलो आवाजले ‘माओ’ र ‘राम’ जप्‍ने नेताको कानमा नपुगेको हो? म मेरो यो प्रश्नको जबाफ मेरो समाजका भीष्म, द्रोणाचार्य, कर्ण कसले देलान्? 
source:annapost

No comments:

Post a Comment