१६ वर्षीय विकास परियारको काँधमा ५ जनाको परिवार

चरौंदी (धादिङ), फाल्गुन ३० - उनको उमेरका साथीभाइ स्कुल-कलेज जान्छन् । बाबुआमाको परिश्रममा रमाउँछन् । १६ वर्षीय विकास परियार भने हरेक बिहान कामको खोजीमा हुन्छन् । काम खोज्नु उनको बाध्यता हो । बावुआमा दुवैको मृत्युपछि टुहुरा बनेका विकासको काँधमा तीन भाइबैनी र ८९ वर्षीया हजुरआमा पालनपोषण गर्ने जिम्मेवारी छ ।

बेनीघाट-७, चरौँदी देवीटारको पखेरोमा जीर्ण एकतले घर छ । गोठमा गाईवस्तु केही छैनन् । भान्सामा केही थान थोत्रा भाँडा छन् । टिनले छाएको घरको मुनि ओढ्ने, ओछ्याउने र पुराना कम्बल छन् । घरसँगै दुई महिनालाई अन्न उब्जने भिरालो जग्गा छ । विकासको ५ जनाको परिवारको सम्पत्ति भनेकै यही हो ।

आमा ओमकुमारी मानसिक रोगी भएपछि पढ्न नपाएका उनले पाँच महिनाअघि आमाबाबु नै गुमाए । आमाको सोही रोगका कारण निधन भयो भने बाबुको पनि बसको ठक्करले मृत्यु भयो ।आमाको मृत्यु भएको महिना दिन नपुग्दै मंसिरमा विकाससहित १२ वर्षीया सरिता, १० वर्षीय प्रदिप र ५ वर्षीया विनिताले बाबु गुमाएका हुन् । त्यसै त गरिबीले ग्रसित परिवारका उनीहरू बाबुआमाको मृत्युपछि टुहुरा भए । बाबुआमाको मृत्युपछि स्याहारको कमीले गोठका गाईबाच्छा पनि मरे । उक्त परिवारको अबको आयस्रोत भनेको दुई रोपनी पखेरो र पालनपोषणको जिम्मेवार विकास मात्र हुन् ।

विकास दैनिक काठमा मुढा लोड गर्ने मजदुरीका लागि निस्कन्छन् । काम पाए बेलुकी भाइबहिनी र हजुरआमालाई खानेकुरो बोकेर र्फकन्छन् । 'काम गरेर हामीलाई पाल्ने मान्छे गइहाले, यही नातिको सहारा छ,' बुद्धिसराले भनिन् । काम पाएको दिन मजदुरी गरेर ५ सय कमाउने गरेको विकासले बताए । 'बाबुआमा बितेपछि गाउँमा सबैले माया गर्छन्, भोको बस्नुचाहिं परेको छैन,' उनले भने । सन्चो-आरामको दिन त कमाएर हजुरआमा र भाइबैनीलाई खुवाउन सक्ने अठोट विकासको छ । 'म बिरामी परेर थला परे भने के खान्छन् ?' उनले चिन्ता व्यक्त गरे ।

पढ्न नपाए पनि भाइबैनीलाई नजिकैको कालिका प्राविमा पढ्न पठाउने गरेका छन् । सरिता ३ र प्रदीप तथा विनिता १ कक्षामा पढ्छन् । भोक टरे पनि छोराबुहारीको किरिया खर्चको ऋण तिर्न नसकेको बुद्धिसराले गुनासो गरिन् । 'छोरालाई ठक्कर दिएको बसले क्षतिपूर्ति दिन्छ भन्छन्,' उनले भनिन्, 'पाँच महिना भयो, दिएका छैनन्, आस मात्रै देखाउँछन्, के चाला हो ?'

नातिनातिनाको बाटो भगवान्ले लगाउने उनले बताइन् । 'खान, लाउन दिन नसके पनि यी टुहुरालाई लखेट्न भएन,' उनले भनिन्, 'सागसिस्नु, खोले, गिठा, भ्याकुर खाएर भए पनि प्राण राखुँला ।' नियमले पाउनुपर्ने क्षतिपूर्ति नपाउँदा उनले चित्त दुखाइन् । 'ठूलाठालूलाई सबैले हेर्छन्, हामीलाई कसले हेर्छ र ?' दुर्घटनाको बिमा रकमसमेत नपाएको उनीहरूको गुनासो छ ।

- स्रोत : कान्तिपुर 

No comments:

Post a Comment