जातीय विभेद भनेको एक–दुई दिनको भेदभाव होइन - देवेन्द्र बस्याल

नेपाली समाजमा व्याप्त छुवाछूत प्रथा बाहिरबाट हेर्दा, सुन्दा र कुरा गर्दा जति सहज जस्तो देखिन्छ, त्योभन्दा हजारौँ गुणा पीडादायी,  नारकीय, अपमानित र अमानवीय जीवन भोगाइ छ दलितहरूका लागि । मानिस सामाजिक प्राणी हो । ऊ समाज विना जीवन जिउन सक्दैन । समाज मानिसको यस्तो ठाउँ हो, जहाँबाट मानिसको जीवनको भावी मार्ग निर्देशित भएको हुन्छ । यस हिसाबले पनि समाज मानिसको एक पाठशाला हो । बालकको पहिलो पाठशाला घरपरिवार हो भने समाज दोस्रो पाठशाला हो । समाजबाट व्यक्तिले जीवनमा धेरै कुरा सिकेको हुन्छ । व्यक्तिले भविष्यमा के गर्ने ? कस्तो व्यक्ति बन्ने ? भन्नेसम्मको एउटा आधार हो, समाज । जीवनको जग हो समाज । भावी लक्ष्यको उद्गम स्थान हो, समाज मानिसको । समाजमा हुने हर घटनाको प्रत्यक्ष प्रभाव परेको हुन्छ व्यक्तिमा । समाजमा घट्ने राम्र– नराम्रा घटनाको प्रभावले मानिसलाई अगाडि बढ्न उत्पे्ररित गरिरहेको हुन्छ । यति महत्वपूर्ण समाजमा मानिसहरूको बीचमा हुने भेदभाव र व्यक्तिलाई गरिने व्यवहारले बालकको मन–मष्तिष्कमा कस्तो असर पार्ला ? हामीले सहजै अनुमान गर्न सक्दछौँ । यहाँ कुरा जातीयताको छ । भेदभावको छ । छुवाछूतको छ । मानिसले मानिसलाई गर्ने व्यवहारको छ । समाजमा मानिसले एक–अर्काप्रति गर्ने असल व्यवहारले व्यक्तिमा असलै प्रभाव पर्छ भने खराब व्यवहारले व्यक्तिमा नकरात्मक असर पार्छ । मानिस जुन समाजमा जन्मेर हुर्केको हुन्छ, त्यही समाजमा ऊ अपमानित भयो भने, घृणित भयो भने उसको मानसपटलमा कस्तो असर पर्ला ? हरेक मानिसको आ–आफ्ना इज्जत हुन्छ । प्रतिष्ठा हुन्छ । त्यही प्रतिष्ठाले मानिसलाई बाँच्न सिकाउँछ । यो जातीय विभेद भनेको कस्तो कुरा हो भने यो एक–दुई दिनको भेदभाव होइन । सदियौँदेखि निरन्तर चलिरहने हुँदा यसले व्यक्तिलाई बढो गम्भीर रूपमा गालिरहेको हुन्छ । व्यक्तिको उन्नति र प्रगतिका पाइलाहरूमा जातीय भेदभाव एक अभिशाप बनेर उभिएको छ । दैनिक जीवनमा छुवाछूतको प्रभाव बालकदेखि बृद्धासम्म कस्तो हुन्छ ? त्यसबारे यहाँ सङ्क्षिप्तमा चर्चा गरौँ ।
एउटा अछूत परिवारमा जन्मेको बालक जब जान्ने बुझ्ने हुन्छ, त्यति बेला सँगीसाथीसँग खेल्दा, बस्दा, हिँड्दा, खाना खाँदा साथीहरूबाट हुने विभेदको उसलाई महशुस हुन्छ । साथीहरूको खाना छोइएको खण्डमा साथीहरूले तँ सानो जात, सार्की, दमाई वा कामी आदि भनेर घृणा गर्दछन् । अपमान गर्दछन । तैँले छोएको हामीले खानु हुन्न । तँ हाम्रो घरभित्र जानु हुन्न । तँ सानो जात हो । हामी ठूलो जात हो भनिन्छ । यस्तो अवस्थामा त्यो सानो दलित बालकको मानसपटलमा कस्तो प्रभाव पर्ला ? त्यो बालकमा एक खालको हीनताबोध हुन्छ । आफू निरिह भएको महशुस हुन जान्छ । धेरै कुराहरूमा पक्षपात, अपहेलना र घृणा गरेपछि बालकले आफ्नो समूह विस्तारै छोड्न थाल्छ । आफ्ना आमाबाबालाई बालकले सोध्न थाल्छ ः म को हुँ ? किन म साथीहरू सँगसँगै बसेर खाना खान र उनीहरूको घरभित्र जान हुन्न भनेर ? विचरा निरिह बाबुआमाको पनि जवाफ के हुन्थ्यो र ? आपूmहरू सानो जात भएकाले ठूला जातको घरभित्र जान हुन्न । खाना पानी छुन हुन्न । ठूला जातलाई लात्ताले हिर्काउन पनि हुन्न, पाप लाग्छ इत्यादि । यसरी एक निर्दोष बालकको दिमागमा सानैदेखि आफू नीच व्यक्ति भएकाले ठूलाहरूको सामु केही गर्न नहुने शिक्षा दिएपछि विचरा बालकको साहस र मनोवलमा गिरावट आउँछ । ऊ निराश हुन्छ । उसका हातखुट्टा सेलाउन थाल्छ्न । जोश, जाँगर पनि मरेर जान्छ । जब बालक जवान हुन्छ, उसले समाजलाई माया गरेको हुन्छ । समाजलाई असल बनाउन उसले कोसिस गर्न थाल्छ । ऊ अघि बढ्ने कोसिस गर्दछ । तर अनगिन्ती बाधा र विघ्नहरू हुन्छन्, उसका सामु । स्कुलमा खाजा खाँदा साथीहरूले छुवाछूत गर्दछन् । मेलापात, पिकनिक जाँदा छुवाछूत गर्दछन । विचरा दलित युवकलाई अलग व्यवहार गरिन्छ । खानपिन अलग्गै दिइन्छ । धेरै मानिसहरूको बीचमा, तरूनीतन्नेरीहरूको बीचमा गरिएको घृणा र छुवाछूतले युवक मरेतुल्य हुन्छ । जीवन एउटा निर्रथक जस्तो ठान्छ । केही गरौँ भन्ने जाँगर सेलाएर जान्छ । मानिहरूका बीचमा कसैले दमाई, कामी, सार्की शब्द निकाले पनि युवा झस्किन्छ । स्कुल, कलेजमा पनि जातीय कुरा उठ्दा साथीहरूको बीचमा कति नरमाइलो हुन्छ ? कति हेपिएका शब्दहरू छन् ? ती गाइने, दमाई, कामी र सार्की युवकले यी शब्दहरू नै सुन्न चाहान्नन् । तुरून्त यी शब्दहरू खारेज गर्ने माग गर्दछ । तर बाधाहरू छन । विशाल छ । तब उ, उकुसमुकुस पर्न थाल्छ । कतिपय युवायुवतीले जातीय छुवाछूतका कारण स्कुल, कलेज छाडेका हुन्छन् । कतिपयले समाज नै छाडेका हुन्छन्, त कतिपय राजनीतितिर पनि अग्रसर हुन्छन् । तर पार्टीभित्र पनि जातीय विभेद देख्दा युवक निराश हुन्छ । एउटा दलित युवक आपूm अगाडि बढ्ने क्रममा साथीहरूको समूह, स्कुल, कलेज, मन्दिर, विवाह पार्टी, समाजिक कार्यक्रमहरू सबै ठाउँमा धेरै मानिसहरूको जमघट भएको ठाउँमा छुवाछूत गरिँदा अत्यन्तै दुःखी हुन्छ । आत्मग्लानी हुन्छ । हीनताबोधले सताउँछ उसलाई । यसरी हेर्दा यो छुवाछूत प्रथा गम्भीर र भयानक छ । भनिन्छ, आर्थिक उपार्जनले जातीय छुवाछूत अन्त्य गर्न सहयोग गर्छ । तर कुरा त्यसो होइन । आर्थिक र इज्जत फरक कुरा हुन् । अपमानलाई पैसाले मेटाउन सक्दैन । दलितहरूलाई जिउँदै मारिएको छ । कुकुरलाईभन्दा पनि घटिया व्यवहारले दलितहरूको जीउने आधार खोसिएको छ ।
जातीय भेदभाव पहिले र अहिले ज्युँका त्युँ छ । पहिला दलितलाई हेपेर बोल्थे । अहिले केही कम भए पनि कथित उपल्ला जातहरूको भेदभाबको तरिका फेरिएको छ । कसैसँगै खाना खानु पर्‍यो भने उनीहरू आपैm उठेर तर्किन्छन् । पहिला ‘तँ उता जा’ भन्थे, तर अहिले आपैm तर्किन्छन् । भेदभावको व्यवहारमा केही कमी छैन । अहिले धेरै दलित युवायुवतीहरूले नाम परिवर्तन गर्ने, बास बस्ने ठाउँमा ढाँट्ने गर्दछन्, किनभने यो बाध्यता हो । सोझो औँलाले घिउ ननिक्लेपछि बङ्गाउन बाध्य भएको अवस्था हो यो । कतिपय ठाउँमा मन्दिरको सवाललाई लिएर, विवाहलाई लिएर जातीय हिंसा पनि भएका छन् । कथित उपल्लो जातिले तल्लो जातिका मानिसहरूलाई काटमार गरेका घटना पनि छन् । यस्तो देशकै बेइज्जत हुने खालको जातीय विभेदलाई निर्मूल पार्ने कानुन फितलो छ । त्यो पर्याप्त छैन । भएको कानुन पनि व्यवहारमा कार्यन्वयन हुँदैन । यो एउटा गम्भीर चिन्ताको विषय हो । दलित युवायुवतीहरू बढीभन्दा बढी शिक्षित र अध्ययनशील हुनु जरूरी छ । शिक्षा नै त्यो हतियार हो, जसले जातीय विभेदको अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्ने छ । तर पैसाले मानिसको संस्कृति तथा प्रथा परिवर्तन गर्दैन । त्यसैले शिक्षा, आन्दोलन र सङ्घर्ष नै अन्तिम कडी हो ।
जब युवा पाको मानिस बन्दछ, उसलाई व्यवहारले च्यापेको हुन्छ । उसलाई जीउनको लागि केही गर्नु पर्ने हुन्छ । तर गर्ने के ? होटल, रेष्टुरेन्ट गर्‍यो भने सानो जातको होटल भनेर कोही आउँदैनन् । अन्य व्यवसाय पनि त्यति राम्रो फष्टाउन पाउँदैनन् । अहिले शहरीकरणले र दलितहरूले थर परिवर्तन गरेका कारण कतिपयले व्यवसाय पनि गरेका छन्, नत्र जातीय विभेद हर क्षेत्रमा व्याप्त छ । कुनै दलित स्कुलमा शिक्षक छ भने खाजा खाँदा उसलाई अछूतको व्यवहार गरिन्छ । ऊदेखि सबै कथित उपल्ला जातिहरू तर्किन्छन् । त्यति बेला कति दुःख लाग्छ भने त्यो अवस्थाको त्यो पीडाको दुखाइको अभिव्यक्त गर्ने कुनै शब्द नै भेटिदैन । अनि कसरी खाने जागिर ? कसरी गर्ने व्यवहार ? कति कहालीलाग्दो र भयावह छ यो जातीय छुवाछूतको पीडा ? शब्दमा बताउन सकिँदैन । दलितहरू भयङ्कर डरलाग्दो सास्ती खेपेर बाँचेका छन् । अपमानित भएर मरेर पनि जिएका छन् । अब दलित जातिहरू एकीकृत आन्दोलनको पक्षमा एक ढिका हुनु जरूरी छ । किनभने हामी कहिलेसम्म हेपिने हो ? कहिलेसम्म जिउने हो यस्तो नीच जीवन ? के दलितहरूलाई मानिस भएर जिउने अधिकार छैन  ? यो जातीय विभेद तत्काल अन्त्य गर्नका लागि सरकारलाई निरन्तर दवावमूलक आन्दोलनको कार्यक्रम आयोजना गर्नु जरूरी छ ।
अन्तमा, यो जातीय भेदभाव केवल दलितहरूमा मात्र नभएर कथित उपल्लो जातको जातभित्र पनि भएको हुनाले यसलाई जरैदेखि उखेलेर मिल्काउनका लागि आन्दोलनमा आबद्ध हुनु पर्ने आवश्यकता छ ।
स्रोत : हाँक 

No comments:

Post a Comment