दलित भएकैले सार्वजनिक धारामा प्रतिबन्ध

चौतारा,  चैत  ८ गते । सिन्धुपाल्चोकको साँगाचोक–४ की विष्णु विकको परिवारलाई दलित भएकै कारण सार्वजनिक धारामा पानी प्रतिबन्ध लगाएका छन् । कथित माथिल्लो जातिको आडम्वर देखाउँदै एमाओवादी र राप्रपाका कार्यकर्ताले सार्वजनिक धारामा पानी थाप्न प्रतिबन्ध लगाएका हुन् ।

 हालै निर्माण गरिएको सार्वजनिक धाराको लागि उपभोक्ता समितिलाई अरुसरह आफूले पनि एक हजार ५० दस्तुर तिरेकी थिइन् । स्थानीय पानीचौर खानेपानी योजनाबाट ल्याइएको सार्वजनिक धारामा पानी थाप्न जाँदा एकीकृत माओवादी साँगाचोक गाउँ कमिटीका अध्यक्ष विष्णुलाल श्रेष्ठ र उनकी श्रीमतीले तल्लो जात भएकाले पानी थाप्न पाउँदिनस् भन्दै प्रतिबन्ध लगाएको पीडित विकले बताइन् ।गाविसका पूर्व अध्यक्ष एवम् राप्रपाका स्थानीय नेता नवलाल श्रेष्ठले पनि छोइछाइ हुने भएकाले अन्तैबाट ल्याएर पानी खाउँ भनी आँगनको धारामा पानी थाप्न नदिएको विकले दुःखेसो पोखिन् । रासस

दलित भएकाले आफूलाई हेपेको हुनसक्ने

दलित भएकै कारण राजनीतिक दलका स्थानीय नेताले आफूलाई धारामा पानी उपयोग गर्न नदिएको गुनासो गर्दै एक महिला सदरमुकाम आएकी छन्।साँगाचोक गाविस-४ की विष्णु विकले आफूलाई दलित भएकै कारण एमाओवादी र राप्रपाका स्थानीय नेताले सार्वजनिक धारामा पानी थाप्न नदिएको गुनासो गरेकी हुन्।एमाओवादी साँगाचोक गाउँ कमिटीका अध्यक्ष विष्णुलाल श्रेष्ठ र राप्रपाका स्थानीय नेता एवं गाविसका पूर्वअध्यक्ष नवलाल श्रेष्ठले आफूलाई घरनजिक रहेको सार्वजनिक धाराको पानी उपभोग गर्न नदिएको विकले बताइन्।

नजिकको धारामा पानी थाप्न नपाएपछि सञ्चारकर्मीलाई गुहार्न सदरमुकाम चौतारास्थित पत्रकार महासंघमा आएकी विकले भनिन्, ‘तँ कमिनीले छोएको हामीले घरमा लान हुँदैन। अर्को धारामा जा भनेर पानी थाप्नै दिएनन्। उनीहरूकै कारण म आँगनमा भएको धारा छाडेर टाढा जानुपरेको छ।’टोलमै एक घरमात्र दलित भएकाले आफूलाई हेपेको हुनसक्ने उनको बुझाइ छ। १७ जनाको परिवारका लागि आँगनको धारा छाडेर अन्यत्र पानी लिन जानुपरेको उनले गुनासो गरिन्।विक परिवार धारामा पानी थाप्न नपाएपछि स्थानीय पानीचौर खानेपानी योजना उपभोक्ता समितिमा एक हजार ५० रुपैयाँ तिरेर सदस्य बनेका छन्।

‘सदस्य नबनेकाले पानी थाप्न नदिएको होला भनेर पैसा तिरियो, तर पैसा तिरेपछि पनि पानी थाप्न दिएनन्’, विकले भनिन्, ‘गाउँमा मिलेर बस्नुपर्छ भनेर यति दिनसम्म चुप लागें, अब त अति भयो।’उपभोक्ता समितिका अध्यक्ष माधव गिरीले नियमानुसार सदस्य बनेकाले उनीहरूको परिवारले पानी लिन पाउनुपर्ने बताए। गिरीले नै विकले सदस्यता शुल्क बुझाएको रसिदमा नवलालको घरअगाडिको धाराबाट पानी थाप्न पाउने लेखेर दिएका छन्।

‘सदस्य भएकाले पानी उपभोग गर्न पाउनुपर्छ, बाँकी कुरा स्थानीय रूपमा मिलाएर जान मैले सल्लाह दिएको छु’, गिरीले भने।विष्णुलाल भने आफूले दलित भएकाले पानी थाप्न नदिएको भन्ने आरोप गलत भएको बताए। आफ्नो राजनीतिक चरित्र समाप्त पार्न आरोप लगाएको दाबी उनको छ।उनले अहिलेको धारामा पानी कम र उपभोक्ता बढी भएकाले पहिलादेखि उपभोग गरेको धारा उपभोग गर मात्र भनेको बताए।
स्रोत : अन्नपुर्ण 

No comments:

Post a Comment