संविधान सभाका दलित समुदायका सभासदहरुलाई राजधानीमा सम्मान

महावीर विश्वकर्मा, काठमाण्डौं, १० चैत्र । संविधान सभाका दलित समुदायका सभासदहरुलाई आज राजधानीमा सम्मान गरिएको छ ।कार्यक्रममा बोल्दै नेपाली काँग्रेसतर्फका सभासद मिनबहादुर विश्वकर्माले दलित सभासदहरु भाषणमुखी भन्दा प्राविधिक बनेर काममा लागि पर्नुपर्नेमा जोड दिनुभयो । दलितका मुद्दामा दलभित्र कुरा उठाउनुपर्ने तर गुट उपगुटका कारण हरेक पार्टीभित्र कुरा उठाउन अफ्ठ्यारो अवस्था रहेको पनि उहाँले गुनासो गर्नुभयो ।
यस्तै नेकपा एमालेतर्फका सभासद जीतु गौतमले दलित अधिकार सम्पन्न संविधान जारी गर्नु दलित सभासदहरुको कर्तव्य हो भन्दै आफुलाई खबरदारी गरिरहनका लागि दलित नागरिक समाजलाई आग्रह पनि गर्नुभयो । दलित नागरिक समाज भित्रको एकतामा साँच्चै को निखारता आउनुपर्ने पनि उहाँको भनाई थियो ।
यसैगरि एकीकृत नेकपा माओवादीतर्फका सभासद दलजीत सिर्पालीले यतिखेर दलित समुदायको मागलाई पूरा गर्न सक्छौँ की सक्दैनौँ भन्ने अग्नीपरीक्षा आफुहरुको अगाडी रहेको बताउनुभयो । “४१ जना दलित सभासद अहिले दलित समुदायको शक्तिशाली टिम हो”, उहाँले भन्नुभयो “हामी दलित सभासदलाई दलितको विषयमा सुझाव दिनका लागि नागरिक समाजले एउटा विज्ञहरुको टिम बनाउनुपर्छ ।”20140324_100429
मन्तब्य राख्ने क्रममा दलित जनजाती पार्टीका अध्यक्ष एवम् सभासद विश्वेन्द्र पासवानले अघिल्लो संविधान सभामा दलित नागरिक समाजको सहयोग पर्याप्त नरहेको भन्दै अब पर्याप्त सहयोग गर्नका लागि आग्रह गर्नुभयो ।
त्यस्तै नेकपा माले तर्फका सभासद कमला विश्वकर्माले राजनीतिक दलहरुभित्र अझै पनि दलितमुखी नीति नबनेका कारण संविधान सभामा त्यस्ता कुरा आउन नसकेको भन्दै दलभित्रै दबाब दिनुपर्ने विचार राख्नुभयो ।
नयां संविधान निर्माणका लागि संयुक्त दलित राष्ट्रिय नागरिक अभियानको आयोजना एवम् नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र समता फाउण्डेशनको संयोजकत्वमा सम्मान कार्यक्रम भएको हो ।
स्रोत: जागरण मिडिया 

No comments:

Post a Comment