पर्साको गुलरिया टोलको दलित बस्ती जलेर खरानी

Add caption
वीरगन्ज/ २०७०–११–३० -पर्साको हरिहरपुर गाविस वडा नं–९ गुलरिया टोलमा भएको आगलागीमा परी एक दर्जनभन्दा बढी फुसको घर जलेर नष्ट भएका छन्।आगलागीमा परी लत्ताकपडा, गरगहना, अन्नपात गरी ३० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ। बिहान ११ बजेबाट शुरू भएको आगलागी दिउँसो साढे २ बजे मात्रै नियन्त्रणमा आएको थियो। हावा चलेकाले आगो नियन्त्रणमा कठिनाइ भएको प्रहरीले जनाएको छ। स्थानीय राजदेव पासवानको घरबाट निस्केको आगाले छेउछाउका घरसमेत जलेको स्थानीय बासिन्दाले बताएका छन्।

खाना पकाएर आगो राम्रोसँग ननिभाएका कारण सल्किएर एक दर्जन घर जलेको उनीहरूले बताएका छन्। आगलागीमा राजदेवसहित स्थानीय रामदेव पासवान, नरेश पासवान, उमेश पासवान, जोखन पासवान, भरोसी पासवान, पहाडी पासवान, लाली पासवान, मञ्जु पासवान, शम्भु पासवान, रमाकान्त पासवान, उमाकान्त पासवान, मङ्गली पासवान, दिनेश हजरा, राजिन्द्र महतो, महेन्द्र महतो, चन्देश महतो, जोखन कंकर, इनल कंकर, वीरेन्द्र महतो, अनिल हजरालगायतको घर जलेर नष्ट भएको छ।गरिब दलित बस्तीमा भएको आगलागीका कारण २४ परिवारको बिचल्ली भएको छ। आगो नियन्त्रणका लागि वीरगन्ज उपमहानगरपालिकाबाट गएको २ वटा दमकल, इलाका प्रहरी कार्यालय लङ्गडी, प्रहरी चौकी भिश्वा, जानकीटोल, मिर्जापुर, आसवारी, र सशस्त्र प्रहरी बेस क्याम्प भिश्वा र भिखमपुरको सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दासमेत खटेको हाम्रा सहकर्मी लालबाबु बानियाँले जनाएका छन्।

यसैबीच आगलागी पीडित २२ जनालाई नेपाल रेडक्रस सोसाइटी तथा उद्योग वाणिज्य संघको टोलीले राहत वितरण गरेको छ। रेडक्रसले २२ जनालाई त्रिपाल, लत्ता कपडा, भाँडाकुँडा र वीरगन्ज उद्योग वाणिज्य संघले चिउरा र मिठ्ठा वितरण गरेको हो।राहत वितरण गर्न जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय, प्रहरी उपरीक्षक धिरजप्रताप सिंह, अनुसन्धानका प्रहरी उपरीक्षक राजेन्द्र जिसी, रेडक्रस पर्सा शाखा सभापति फुल महम्मद मिया, उपशाखा हरिहरपुरका सभापति श्यामकुमार पटेललगायतको उपस्थिति रहेको थियो।
स्रोत: नेपाल समाचारपत्र

No comments:

Post a Comment