'कम्युन' बाट कंगाल बने गणबहादुर दमाईंको परिवार

रुकुम , चैत्र १ - प्वाङ-६ की अमृता बोहरा नौ वर्षअघि आफ्नो घरजग्गा र सम्पत्ति बिक्री गरी माओवादीले द्वन्द्वकालमा सुरु गरेको 'जनकम्युन' मा बस्न थालिन् । सबैसँगै बस्न पाइने भएपछि उनले घरजग्गा र बस्तुभाउ बिक्री गरी ८० हजार रुपैयाँ बुझाएकी थिइन् ।

'सबै पैसा पार्टीमा बुझाएर त्यहाँ गएका थियौं,' उनले भनिन्, 'अहिले सबैले छोडे, कहाँ जाने-के खाने ?' बोहरा अहिले वाईसीएलका केन्द्रीय अध्यक्ष तथा सभासद गणेशमान पुनको प्वाङस्थित घरमा बस्दै आएकी छन् । 'कम्युन' को घर भत्किन थालेपछि उनी पुनको घरमा सरेकी हुन् ।

'कम्युन' मा छिर्दा तत्कालीन माओवादी पार्टीका नेताबाट फूलमाला र अबिरले स्वागत गरेका थिए तर अहिले बस्न लायक छैन । जीवनभर त्यहीँ बस्ने वाचा गर्दै त्यहाँ पुगेर पछुताउने अमृता एक्ली होइनन् । प्वाङ-९ का गण्ाबहादुर दमाईंको परिवार पनि 'कम्युन' बाट कंगाल बनेपछि अहिले मजदुरीका लागि भारत छिरेको छ ।

माओवादीले प्वाङ छिपखोलामा स्थापना गरेको 'बलिदान जनकम्युन' बन्द भएपछि उनीहरू मात्र होइन, त्यहाँ लामो समय बसेका १३ परिवारको बिचल्ली भएको छ । हिंसात्मक गतिविधि उत्कर्षमा पुगेका बेला २३ भदौ २०६१ मा स्थापित 'कम्युन' मा बसेका माओवादीका कार्यकर्ताहरू बिचल्लीमा परेका हुन् ।साम्यवादी कम्युनिस्ट व्यवस्थाको नीति अँगाल्दै घरबारी बेचेर त्यसमा गएका उनीहरूमध्ये कोही रोजीरोटीका लागि परिवासहित भारत पलायन भएका छन् । कोही भने गाउँमै बिचल्लीमा परेका छन् । 'कम्युन' अपेक्षा गरेअनुसार चल्न नसकेपछि त्यहाँ बस्दै आएका सदस्यहरू घर फकिर्ने क्रम सुरु भएको हो ।

'प्रहरीले गाउँमा आएर सधैं दुःख दिन थालेपछि कम्युनमा गयौँ,' दुई वर्षअघि घर आएकी साँख गाविसकी बिनकुमारी बुढाले भनिन्, 'अरू घर र्फकन थालेपछि कम्युनको कष्ट सहन नसकेर हामीले पनि छाड्यौं ।' कम्युन परिवारका सदस्यहरूबीच कुरा मिल्न नसक्दा सामूहिक बसाइ त्यागेको बुढाले बताइन् । त्यहाँ परिवारको आवश्यकता पूर्ति र  कामको बाँडफाँडमा पनि तालमेल नभएको उनले जनाइन् ।

जायजेथा बेचेर १० वर्षअघि १२ परिवारका ६४ जना बस्ने 'कम्युन' मा अहिले अमृता बोहराको चारजनाको परिवार मात्र बाँकी छ । वाईसीएल अध्यक्ष पुन तथा पूर्वमन्त्री कमला रोकासमेत सदस्य थिए । कम्युनले चलाएको सहकारी किराना पसल घाटामा गएपछि एक वर्षमै बन्द भयो । द्वन्द्वकालमा त्यहाँको बसाइ राम्रै भए पनि शान्ति प्रक्रिया सुरु भएपछि नेताहरू सहर र सदरमुकाम बस्न थालेकाले बिरक्तिएर धेरै लाखापाखा लागेका हुन् । माओवादीले द्वन्द्वकालमा यहाँस्थित छिपखोलामा 'बलिदान कम्युन', जाजरकोटको दह गाविसमा 'जुनी जनकम्युन', रोल्पाको थबाङमा 'अजम्बरी जनकम्युन' र जेलबाङमा जलजला गरी ४ वटा सञ्चालन गरेको थियो ।

-स्रोत: कान्तिपुर 

No comments:

Post a Comment