रमेश सार्की दलित बस्तीकै एक जना मात्रै एसएलसी उत्तीर्ण


खलङ्गा (बैतडी),  चैत ३ गते ।  सित्तड गाविस वडा नं ५ मा रहेको दलित बस्तीमा हालसम्म एक जना छात्रले मात्रै एसएलसी उत्तीर्ण गरेका छन् । स्थानीयवासी रमेश सार्कीले दुई वर्षअघि एसएलसी उत्तीर्ण गरे पनि हालसम्म अन्य कसैले  एसएलसी गर्न सकेका छैनन् । एक्काइस जनाको परिवार बसोबास गर्ने उक्त बस्तीमा बीचमै पढाइ छाड्ने र एसएलसी उत्तीर्ण गर्न नसकेर कामको खोजीमा भारत जाने परम्पराका कारण एक जना मात्रैले एसएलसी पास रहेको स्थानीयवासी गोमती सार्कीले बताउनुभयो । गोमतीका अनुसार ८० प्रतिशत निरक्षर रहेको उक्त बस्तीमा साक्षरता कक्षासमेत चलेको छैन । वर्षौं पहिले विद्यालय छाडेर घरायसी काम गर्दै आएका युवा र प्रौढलाई साक्षरता अभियानबारे कुनै जानकारी नभएको १३ वर्षीया हजारी सार्कीले बताउनुभयो । 

विद्यालय जाने उमेरमा घरपरिवारले जबर्जस्ती बिहे गरिदिएपछि पढ्ने सपना अधुरै रहेको उहाँले गुनासो गर्नुभयो । दुई वर्षअघि ११ वर्षको उमेरमा बिहे भएकी हजारीका लोग्नेले समेत सात कक्षाबाट पढाइ छाडेर भारतमा काम गर्न गएका छन् । 
गाउँका छात्रछात्रा निमावि तहमा पुग्दा बिहे गरिदिने चलन रहेकाले पनि पढाइ अधुरै छोड्ने गरेको वृद्धा गोमतीको भनाइ छ । पहिराको छेउमै रहेको उक्त बस्तीमा ठूला जातका मान्छे मात्रै पढेर नोकरी खान्छन् भन्ने धारणा रहेको आठ कक्षामा पढ्ने किशोरी लक्ष्मी सार्कीले बताउनुभयो ।  “हामीले पढेर पनि के गर्न सक्छाँै र ?”, सित्तडकै भगवती उच्च मावि आठ कक्षामा पढ्ने सार्कीले भनिन् “पढेर पनि घरकै काम गर्नुपर्छ नपढे पनि गर्नैपर्छ ।”

एक वर्षअघि बिहे भएकी लक्ष्मीले अहिलेसम्म गाउँमा सरकारी जागिरे कोही नभएको र सबै जना भारत गएर मजदुरी गर्ने भएकाले पढाइतर्फ कसैको ध्यान नभएको बताउनुभयो । दलित बस्तीमा बसोबास गर्ने १४ वर्षमुनिका किशोरकिशोरीको बिहे हुने गरेको पाइएको छ । पहिलेदेखि नै सानो उमेरमा बिहे गर्ने चलन अझै यथावत् रहेको स्थानीयवासी विश्राम सार्कीले बताउनुभयो । रासस 

No comments:

Post a Comment