हामीले दुईचार मुठी अन्नमा होइन, व्यवसायिक बनाउनुपर्ने रहेछ

दुइपिपल÷ पुस्तौँदेखि नै बालिघरे पेशामा गुजारा चलाउँदै आएको दुईपिपल गाविस वडा नं.६ की लक्ष्मी बर्देवाको परिवारलाई यस अघि खानलाउन मुस्किल थियो । गत बिहिवार समानुपातिक सभासद् राधिका तामाङले उनलाई आधुनिक सिलाई मेसिन दिँदै ‘अब पेशालाई परम्पराबाट व्यवसायिकीकरण गर्नुस्’ भनेपछि उनी खुसीले गद्गद् भइन्, र भनिन्–‘हामी साना जातीले विष्टको मात्रै सेवा गर्नुपछ भनेर हेपिन्थ्यौँ, अब आफ्नै लागी गरिखान पाइयो ।’ दुईपिपल–४ की इश्वरी मिजार पनि सिलाई मेसिन (कल) पाएर औधी खुशी छिन् । त्यसमाथि आर्थिक रूपमा आफू सक्षम हुनेमा पनि ढुक्क छिन् । ‘मलाई पनि अब काम गर्ने आँट आएको छ मिजारले भनिन्– ‘हामीले दुई÷चार मुठी अन्नमा होइन, सिलाई कटाईलाई व्यवसायिक बनाउनुपर्ने रहेछ ।’ लक्ष्मी र इश्वरी मात्र होइन, दुईपिपल गाविसभरिका २५ जना उत्पीडित समुदायका महिला तथा व्यक्तिहरूले सिलाई मेसिन पाएपछि दलितहरू पनि समाजका सम्मानीत नागरिक भएको अनुभूति गरेका छन् । 
नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समितिले दुईपिपलको डबलीमा दलित समुदायको जीवनस्तर विकास र आयआर्जनको लागि सिलाई मेसिन प्रदान गरेको स्थानिय युवा आरपी नेपालले बताए । समितिको ३ लाख रूपैयाँको लागतमा २५ थान आधुनिक सिलाई मेसिन एकिकृत नेकपा माओवादीका सभासद राधिका तामाङले हस्तान्तरण गरेकी थिइन् । सिलाई मेसिन प्रदान गर्दै सभासद तामाङले दोस्रो संविधान सभाले समयमा नै संविधान दिएर पिछडिएका नेपाली जनताको मुक्तिको मार्ग खोल्ने बताइन् । ‘
दलित र उत्पीडित समुदायको मुक्ति दिन आदर्श होइन, व्यवहारगत र नितिगत तवरले अधिकारसम्पन्न गराउने मुख्य दायित्व हो, तामाङले भनिन्, ‘यसका लागी राज्यले कानुनमै दलितका अधिकार र समस्याको सम्बोधन गरेर जानुपर्छ ।’ पेशालाई परम्परागतबाट आधुनिकिकरण बनाउन सकिए दलितहरू आर्थिक रूपमा सवल बन्ने र भेदभाव तथा छुवाछुतको अन्त्य हुँदै जाने सभासद् तामाङको विश्वास छ । उपेक्षित उत्पीडित दलित वर्ग उत्थान समितिका बोर्ड सदस्य लक्ष्मण बर्देवाको सभापत्विमा भएको उक्त कार्यक्रममा आदिवादी जनजाति महासंघका सचिव बुद्धीमान तामाङ, तामाङ विद्यार्थी घेदुङका महासचिव निर्मल तामाङ, शम्भु तामाङ, नेपाली काँग्रेसका गाउँ सभापति रामहरि भूर्तेल, पुरूषोत्तम लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

No comments:

Post a Comment