लेखक :- महावीर विश्वकर्मा |
विहान साढे १० बजे भृकुटीमण्डपबाट र्याली शुरु हुने भनिएपनि तोकिएको समयमा सो स्थान सुनसान नै थियो । ११ बज्न केही मिनेट बाँकी हुँदा दलित एन.जि.ओ.का प्रतिनिधिहरु आ-आफ्ना ब्यानर सहित आउने क्रम शुरु भयो । केहीले त आउने बित्तिकै छेउका रुखमा ब्यानर टाँग्न पनि शुरु गरे । सायद आफ्नो सहभागिताको उद्घोष थियो त्यो । आहा ! कति राम्रो उपाय । कस्तो रचनात्मक प्रचार शैली । गेटकै अघिल्तिर ब्यानर टाँगिदियो, सबैले देखिहाल्छन्, संस्थाको प्रचार पनि मज्जैले हुने । कस्तो गज्जबको काइदा ।
केहीबेरमा र्यालीमा सहभागी हुन आउनेहरुको संख्या बढ्दै गएसँगै देखिन थाल्यो अर्को एउटा दृश्य । आ—आफ्ना संस्थाको ब्यानर समातेर फोटो खिचाउनेहरुको भ्याइ नभ्याइ । कसैलाई फोटो खिचाउन लगाउने, ‘खै कस्तो आएछ ?’ भनेर फोटो हेर्ने, अनि फेरी ‘अब यसरी खिचिदिनुन’ भन्दै क्यामेरा थमाउने । निक्कैबेर देख्न पाइयो यो दृश्य ।
र्याली शुरु हुनै लाग्दा फेरी देखियो अर्को दृश्य, सकेसम्म अगाडी नै आफ्नो संस्थाको ब्यानर लिएर उभिने दृश्य । त्यहाँ पनि दौडधुप भो एकछिन् । र्यालीमा दलित एन.जि.ओ.का मान्छेहरु मात्रै थिएनन् । त्यहाँ त्यस्ता संस्थाभन्दा बाहिरका दलित समुदायका व्यक्तिहरु अझ धेरै थिए ।
विद्यार्थी, पेशाकर्मी, सर्वसाधारण झन् धेरै थिए त्यहाँ । तर उनीहरुसँग आफ्नो संस्था थिएन । त्यसैले ब्यानर पनि थिएन । अनि आफ्नो ब्यानर नभएपछि त अरुकै ब्यानर पछि बस्नुपर्ने भइगो । ज—जसको ब्यानर पछि त्यस्ता बिना ब्यानरका सहभागीहरु थपिए, ती संस्थाहरुलाई त बोनस् नै पर्यो । अरुले देख्दा “फलानो संस्थाले त कति धेरै मान्छे ल्याएछ” भन्ने हुने । आहा ! क्या मज्जा ।
ती एन.जि.ओ.भन्दा बाहिरबाट आउनेहरु पनि तिनीहरुकै ब्यानर पछि बसेर उनीहरुको नामको सहभागी संख्या बढाइदिनुपर्ने ? यस्तो पनि हुन्छ ?
त्यो र्याली जब त्रिपुरेश्वर पुग्यो अनि ‘वल्र्ड ट्रेड सेन्टर’को लिफ्ट चढेर पाँचौँ तल्लामा पुगेर एउटा ठुलो हलभित्र कोचियो । त्यहाँ झन थपियो अर्को रमाइलो दृश्य । सकेसम्म आफ्नो संस्थाको ब्यानर सबैले देख्ने गरि अगाडीपट्टी नै भित्तामा टाँग्न लुछाचुँडी गर्नेहरुको भिड ।
हरे ! यो ब्यानर आतंक ।
अझ कुनै-कुनै एन.जि.ओ.ले त त्यहीँ माइनट तयार गरेर सहभागीलाई भटाभट नामथर, ठेगाना लेख्न लगाएर हस्ताक्षर गराउँदै हिँडेको पनि देखियो । सायद “हामीले आयोजना गरेको कार्यक्रममा यति धेरै मान्छे आए” भनेर रिपोर्ट तयार गर्नु थियो होला उनीहरुलाई ।
यति लेखिरहँदा म सोँच्दैछु की केही महानुभावहरु यो लेख पढेर मुर्मिरहनुभएको होला । त्यस्तो हुन पनि सक्छ र नहुन पनि । म कसैलाई वेइज्जत गर्नका लागि यो लेखिरहेको छैन । यदि त्यसो हुन्थ्यो भने त, र्याली शुरु हुनु अघि रुखमा ब्यानर टाँगेर राखेका दृश्यहरु, आफ्नो संस्थाको ब्यानर समातेर फोटो खिचाउन हानथाप गरेका दृश्यहरु अनि सभास्थलमा अगाडीपट्टी आफ्नो ब्यानर टाँग्न हत्तारिएका दृश्यहरु पनि सार्वजनिक गर्थेँ हुँला म । तर त्यसो गरिनँ मैले । ती त म सँग नै सुरक्षित छन् । अनि कार्यक्रम स्थलमा आफ्नो संस्थाको माइनुट जस्तो बनाएर सहभागीहरुलाई हस्ताक्षर गराउँदै हिँड्ने संस्थाको नामै समेत लेखिदिन्थेँ हुँला । तर त्यसो पनि गरिनँ मैले ।
मैले त्यसो किन पनि गरिनँ भने, दलित आन्दोलनमा हावी केही अनुपयुक्त प्रवृत्तिलाई हटाऔँ भन्ने मात्रै हो मेरो ध्येय । कुनै संस्था वा व्यक्तिलाई बदनाम गराउने नियत बिल्कुल होईन मेरो । किनकी मलाई राम्ररी थाहा छ, केही त्रुटीहरु बेलाबखत हुने गरेका भएपनि दलित आन्दोलनलाई यहाँसम्म ल्याइपुर्याउन यहाँका हरेक एन.जि.ओ.ले कुनै न कुनै रुपको भूमिका निर्वाह गरेकै छन् ।
तर अर्को तितो सत्य के पनि हो भने, यी एन.जि.ओ.हरुलाई हरियो डलरको खेती गरेको आरोप पनि सँधै लागिरहेकै छ । त्यही कार्यक्रममा पनि प्रमुख अतिथि रहनुभएका उद्योगमन्त्री कर्णबहादुर थापाले हरियो डलरले दलित प्रतिनिधित्वको कुरालाई गलत ढंगले व्याख्या गरिरहेको आरोप लगाइदिनुभयो । उहाँको आरोपको खण्डन गर्ने सामथ्र्य कुनै दलित एन.जि.ओ.सञ्चालकहरुसँग भएन । हो, यस्तै आरोपबाट मुक्त भएको दिन आओस् भन्ने मात्रै हो मेरो कामना ।
बरु हामीले यस्ता संयुक्त कार्यक्रममा हरेक संस्थाको ब्यानर सहभागी नगराएर एउटा मात्रै ब्यानर बनाए हुँदैन र ? सबै आयोजक संस्थाको नाम सोही ब्यानरमा लेखिदिने नी । सहभागी सबै जना एउटै ब्यानरको पछाडी बस्छन् । ब्यानर विहिनहरुलाई अरुको ब्यानरमा ओत लाग्नु पनि परेन । अनि यो “ब्यानर आतंक”को समाधान पनि हुने भो ।
“न रहे बाँस, न बजे बाँसुरी ।” कि कसो ?
No comments:
Post a Comment