बास बस्न थर नै परिवर्तन -निमेन्द्र शाही

कुनै पनि मानिसले आफ्नो परिचय कुनै गम्भीर अपराध गरेका बेला छुटकरा पाउने उद्देश्यले र अर्को भूमिगत हुँदाको समयमा लुकाउँछ, तर बाजुराका पूर्वीत्तर गाविसका दलित बालबालिकाहरुले बिना कुनै अपराधविना सदरमुकाम आउँदा नाम र थर परिवर्तन गर्ने गरेका छन् । आइतबार पाण्डुसैन  गाविसबाट सदरमुकाम सामान किन्न आएका १२ वर्षीय लोकेन्द्र नेपालीले आफ्नो थर र नाम परिवर्तन गरेर परिचय दिए ।
 उनीसँगै पाण्डुसैनका एक विद्यार्थी पनि थिए, तर उनी बोहरा थरका थिए । नेपालीले समेत आफूलाई बोहरा नै भनेर परिचय दिए । सो कुरा अर्कालाई सोध्दा उनलाई नचिन्ने बताए । यसको रहस्य खोतल्दै जादाँ उनी दलित भएका कारण आफ्नो नाम र थर परिवर्तन गरेको खुलेको थियो । कथित उपल्ला जातिकाहरुले गाउँका होटेलमा चियादेखि खाजा खाँदासमेत दलित भएकै कारण भाँडा माझ्न लगाउने भएका कारण सदरमुकाममा पनि त्यस्तै समस्या छ कि भनेर उनले आफ्नो थर लुकाएर बोहोरा भनेर परिचय दिन चाहेका रहेछन् । पाण्डुसैन गाविस–५ बाटुल सेरा घर भएका लोकेन्द्र नेपालीले लोकराज बोहरा भनेर आफ्नो परिचय दिएका थिए । गाविसको सत्य माविमा कक्षा ७ मा अध्ययनरत रहेको उनले बताए ।
‘बुबासँग साँफे जान आएको थिएँ, बाटोमा एउटा पसल थियो, त्यहाँ खाना खायौं,पैसा पनि तिरेका थियौं, तर भाँडा पनि माझ्नु पर्यो,’ उनले थर परिवर्तन गर्नुपर्दाको रहस्य खोले, ‘भारत गएर काम गर्नेहरु पनि वास्तविक जात भन्दैनन् किनकि त्यहाँ काम पाइँदैन । यहाँ मार्तडीमा पनि होटल नपाइने हो कि भनेर मैले जात नभनेको हुँ ।’ जिल्लाका सबैजसो गाविसमा जातिय छुवाछूतको प्रचलन कायमै छ ।
सरकारले जिल्लामा गठन गरेको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समन्वयन समिति बाजुराले दिएको जानकारीअनुसार बाजुराको सबैभन्दा बढी जातीय छुवाछूत हुने गाविसमा जुकोट, वाई, बाँधु, पाण्डुसैन,कोटिला, गोत्री बारबिस,काँडा, जयबाग्यवरी छन् । ‘जिल्लामा ४५ हजारभन्दा बढी जनसंख्या दलितको छ, तर पनि जिल्लामा छुवाछूतको अपमान व्यक्तिगत र घरयसी हिसाबको धेरै छ । सामाजिक रुपमा हुने छुवाछूतलाई सहेर बस्न सक्ने अवस्था छैन, हामीले केही नयाँ योजना बनाएका छौं,’ उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समन्वय समिति बाजुराका उपाध्यक्ष रमेश विकले भने ।
(स्रोतः राजधानी दैनिक)

No comments:

Post a Comment