दलित आयोगमा छिर्न भ्रष्टहरुको ताँती - सुजन पन्त

काठमाडौं, चैत ९ – नयाँ सरकार गठनलगत्तै नेतृत्वविहीन बन्न पुगेको राष्ट्रिय दलित आयोगको अध्यक्ष र सदस्यसचिवलगायतका पदहरू हाल रिक्त छन् । नेपाली कांग्रेसको भागमा परेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा यतिबेला दलित नेताहरुबीच मारामार चलेको छ । अध्यक्षको नियुक्ति पाउन विगतमा दलित वर्ग उत्थान तथा विकास समितिमा निर्देशक पदमा रहेका नेपालगञ्जतिरका कृष्ण बीके रसाइली प्रत्येक दिन बिहानै चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा धाइरहेका छन् । दलित वर्ग उत्थान तथा विकास समितिका वर्तमान उपाध्यक्ष खिमबहादुर सुनारका अनुसार कृष्ण रसाइली र तत्कालीन उपाध्यक्ष डीबी परियारले ६६ लाख रुपैयाँ भ्रष्टाचार गरेको हुँदा विकास समितिद्वारा गत वर्ष अख्तियारमा मुद्दा दायर भएको छ । सोही कारण कृष्ण बीके २०६९ फागुनमा झापामा सम्पन्न नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल दलित संघ’को चौंथो महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार हुन पाएनन् । अख्तियारका क्लिनचिट पेस गर्न नसकेकोले उनी उम्मेदवार बन्न नसकेका हुन् । कांग्रेस सभापति सुशील कोइरालाले उनका संरक्षक मानबहादुर विश्वकर्मालाई अख्तियारको क्लिनचिट ल्याउन ठाडो चुनौती दिएका थिए । कृष्ण बीकेले पदको दुरुपयोग गरी कुम्ल्याएको ६६ लाखमध्ये २० लाख केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मालाई दिएको खुलासा गत साल भएको थियो । 

स्मरण रहोस्, झापामा सम्पन्न नेपाल दलित सङ्घको चौथो महाधिवेशनमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले कृष्ण बीकेलाई संस्थापन पक्षको उम्मेदवार भनी घोषणा गरेर सभापतिलाई सहमत गराउन लागिपरेका थिए । तर, सुशील कोइरालाले खड्गबहादुर बस्याललाई आधिकारिक उम्मेदवार बनाएपछि मानबहादुरले आफ्ना स्वजातीय मतदातालाई देउवा पक्षका उम्मेदवार मीन विश्वकर्मालाई भोट हाल्न लगाएका थिए । त्यसैगरी, संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार सीता देवकोटालाई हराउन अन्तर्घात गरेकी समानुपातिकतर्फकी उम्मेदवार पाल्पा–३ रामपुरकी रूपा विश्वकर्मा पनि आयोग वा विकास समितिको सदस्यमा नियुक्ति पाउन नेताहरू कहाँ धाउने गरेकी छिन् । रुपा उपर नेतृ सीता देवकोटाले पार्टीमा कारबाहीको माग गर्दै निवेदन दिएकी छिन्, जसमा हालसम्म छानबिनको क्रममा रहेको छ । 

त्यस्तै, साधारण लेखापढी गर्ने गुप्तबहादुर मोते र विगतमा दलित आयोगको सदस्य रही अनियमित लाभ लिएका दोबाटे विश्वकर्मा पनि आयोगको अध्यक्ष बन्न जीवन परियारलाई अघि लगाई नेताहरूका घरघर धाउँदै छन् । त्यसैगरी, साङ्गठनिक हैसियतविहीन बिजुल विश्वकर्मा पनि आयोगको अध्यक्ष नभए २६ सिटमध्ये एक सिट पाउँ भनी नेताका ढोका चहार्दै हिँडेका छन् । तर, बिजुललाई मानबहादुर विश्वकर्माले ‘कुनै पनि हालतमा ल्याउनुहुन्न’ भनी प्रधानमन्त्री र उपप्रधानमन्त्रीसँग भलाकुसारी गरेको थाहा हुन आएको छ । स्रोत : रातो पाटी

No comments:

Post a Comment