दलित र एकल महिला मन्दिरका पुजारी

लहान। कतै निस्कँदा दलित र एकल महिलालाई देखे साइत नबत्रे अन्धविश्वासले जकडिएको नेपाली समाजमा त्यस्तो पनि गाउँ छ, जहाँ उनीहरूलाई नै मन्दिरको पुजारी बनाइएको छ । 
 
जनजाति र बाहुन क्षेत्रीसहित करिब ८० घरधुरीको बसोवास रहेको सिरहाको बडहरामाल गाविस– १ मा केही वर्षअघिसम्म विभेद यति चर्को थियो कि दलितहरू पानी भर्न जाँदा छेउसम्म पर्न दिइँदैनथ्यो । त्यस्तो ठाउँमा अहिले स्थानीय दलित र महिलालाई नै शिवमन्दिरको पुजारी बनाइएको छ । स्थानीय केही उपल्लो जातिका भनिनेहरूले दलितहरूमाथि गरेको अपमानको साङ्केतिक विरोध गर्दै निम्तो स्वीकारेर पनि गैरदलित छिमेकीको घरको विवाह र भोजसमेत बहिष्कार गरेपछि गाउँमा जातीय विभेद हटेको स्थानीय दलित बताउँछन् । 
 
स्थानीय गोपी बोहरा कार्कीले दिएको ६ लाख मूल्य बराबरको एक कट्ठा जग्गामा गत वैशाखदेखि बनाइँदै गरिएको शिवमन्दिरमा दलित महिला हरिमाया विश्वकर्मालाई पुजारी बनाइएको छ । मन्दिरको पुजारीको जिम्मेवारी हरिमायासँगै स्थानीय एकल महिला गोपी कार्कीलाई पनि दिइएको छ । प्रायः हरेक क्षेत्रमा पुरुषको आधिपत्य रहेको सन्दर्भमा दलित र एकल महिलालाई नै पुजारी बनाएको कारण खोतल्दै गाउँलेहरू भन्छन् ‘दलित र एकल महिलाहरूमाथि भइरहेको विभेद र छोइछिटो भ्रम हो भत्रे कुरालाई व्यवहारमै तोड्न र एकल महिलाहरूप्रति समाजले हेर्ने दृष्टिकोण बदल्न महिलालाई पुजारी बनाएका हौंँ ।’ 
 
स्थानीय महिला सञ्जालमा आबद्ध महिलाहरू गाउँ बस्तीमा हुने महिला उत्पीडन, जातीय विभेदका घटनाहरू विरुद्ध जागरुक बत्र थालेपछि गाउँको परिवर्तन भएको बुधनीदेवी महराले बताउनुभयो ।महिलाहरूले जातीय उत्पीडन र महिला हिंसाका घटनाहरू विरुद्ध स्थानीय स्तरमै सहजीकरण गर्ने र त्यसपछि न्यायिक निकायसम्म पु¥याउने गरिएको महराले सुनाउनुभयो । स्थानीय महिलाहरूले मदिराको कुलतमा लागेका गाउँका कतिपयको कुलतसमेत छुटाएका छन् । रासस

No comments:

Post a Comment