दलित भएकै कारण खरिद गरेको जग्गा भोगचलन गर्न बाट बन्चित

खोटाङ, चैत १४ – खोटाङका एक दलित परिवारको जग्गा छिमेकीले परिवारले हडपेका छन् ।साउनेचौर ७ का बिचारी दर्जीको जग्गा स्थानीय चार जना गैर–दलित परिवारले हडपेका हुन् । २०६९ साल चैत ४ गते जिल्ला मालपोत कार्यालय खोटाङबाट कित्ता नम्बर ११४ को जग्गा स्थानीय कृष्णप्रसाद निरौला र तुलसी निरौलाले, कित्ता नम्बर १८१ को जग्गा रामप्रसाद बञ्जराले तथा कित्ता नम्बर १८५ को जग्गा स्थानीय छत्र राईले कब्जा गरेर आफुलाई भोगचलन गर्न नदिएको दर्जीले गुनासो गर्नुभयो ।
दर्जी परिवारले हडपिएको जग्गा स्थानीय चन्द्रबहादुर परियारबाट २०६४ सालमा खरिद गरेको थियो । ४ वर्षअघि ५४ हजार रुपैयाँमा किनेको जग्गामा आफुलाई खेतीपाती गर्न नदिएको र जग्गामा भएको रुख काटेको दर्जीले बताउनुभयो । ‘नापी नक्सा देखाउँदा पैसा लेउ तर जग्गा दिदैनौं भन्छन्,’ दर्जीले भन्नुभयो ।
किनिएको जग्गा हालसम्म भोगचलन गर्न नदिएपछि पटक–पटक गरिएको छलफलका क्रममा आफुहरुलाई नसोधी जग्गा किनेको भन्दै उनीहरुले दर्जी परिवारलाई जग्गामा बस्न नदिएको स्थानीयको भनाई छ । स्थानीयका अनुसार जग्गा किन्नुअघि सँधियारको नाताले आफुहरुको पूर्व स्वीकृति लिनुपर्ने उनीहरुको तर्क छ ।
जग्गा हडपिएपछि धन र ज्यानको सुरक्षाको माग गर्दै दर्जी परिवारले बिहीबार जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरी दिएको छ । घटनाका विषयमा छानबिन गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।
अपाङ्ग दाजु सहित चार दिन लगाएर सदरमुकाम दिक्तेल आएका बिचारीले आफूलाई दलित भएकै कारण खरिद गरेको जग्गा भोगचलन गर्न नदिएको आरोप लगाउनुभयो । ‘जग्गा तेरो भएपनि हामी भोग चलन गर्छौ भन्छन्,’ उजुरी दिन सदरमुकाम आएका दर्जीले भन्नुभयो ‘भोग चलन गरे ज्यान मार्ने धम्की आइरहेको छ ।’ यसप्रति प्रहरी प्रशासनले समेत चासो नदिएको दर्जी परिवारको आरोप छ । स्थानीयका अनुसार दर्जीलाई उनीहरुले पटक–पटक कुटपिट गर्दै आएका छन् ।    स्रोत:- उज्यालो 

No comments:

Post a Comment