शब्दको अर्थ पनि ठाउँ, समय र परिस्थितिअनुसार फरक हुने रहेछन्। ‘अछुत' भन्नेबित्तिकै हामीलाई मनु ऋषिले प्रतिपादन गरेको र कथित उच्च जातीय शासकले नेपालमा सशक्त तरिकाले लागु गरेको जाति प्रथा अनुसार सबैभन्दा तल्लो र कसैले छुनसमेत नहुने, पशुभन्दा तल्लो मानिस भन्ने बुझिन्छ।धेरै हदसम्म प्रायः दक्षिण एसियाली समाजमा पनि यसरी नै बुझिन्छ। यसको अङ्गे्रजी भावार्थ हुन्छ– ‘अन्टचेबल', जसको पश्चिमा मुलुकहरूमा बिलकुल भिन्न अर्थ लाग्छ। हाम्रो समाजमा अछुत भन्नाले ‘छुन नहुने' वा ‘नमिल्ने' अर्थ लाग्छ भने युरोपअमेरिकामा भने यसलाई छुनै नसकिने, कुनै नियम/कानुन, नीतिनियम वा सार्वजनिक मुद्दाले छुन नसक्ने भन्ने अर्थ लाग्छ। शायद अब हामीले पनि उक्त शब्दको अर्थ पश्चिमबाट सापटी लिएर नयाँ ढंगले बुझ्नु बढी उपयुक्त हुन्छ। एक मानिसलाई अर्को मानिसले छुन हुन्न भन्ने कुरा धर्म संस्कृतिमा गढेको विषय भए पनि यसमा खासै वैज्ञानिक सत्य छैन। यसै पनि कुकुर छुन हुन्छ भने मानिस छुँदा कुनै धर्म जान्छ वा कुल रुन्छ भन्नु अन्धज्ञानबाहेक के हुन सक्छ र?
भलै ‘अछुत' को यो नयाँ शाब्दिक ब्रान्ड नेपालमा त्यति प्रचलित नहोला तर नेपालमा पनि अचेल धेरै ‘अन्टचेबल' छन् जो आफूलाई सारा नियम/कानुनभन्दा माथि राख्छन् वा राख्न चाहन्छन्। हिजोका यी उच्च जातीय अछुतहरू राजारजौटा थिए, आज अर्कैथरी उच्च जातीयहरू छन्। अब हामीले यी वास्तविक अछुत पहिचान गर्न र उनीहरूमाथि छुवाछुतको व्यवहार गर्न थाल्नु उपयुक्त हुन्छ। परम्परागत अछुतहरू जन्मद्वारा परिभाषित थिए, यी उत्तराधुनिक अछुतहरूको साइनो फगत शक्ति, सत्ता र पैसासँग जोडिएको छ। मैले निश्चित जातजातिको उत्पीडन र शोषणमा पर्र्यौं भन्ने दलित, मधेसी, जनजाति सबैलाई यही भन्दै आएको छु कि हामीले एक दुई जातिका सारालाई एकै तराजुमा हालेर जोख्न मिल्दैन। मेरो परिभाषाको अछुतहरूमा निश्चय पनि धेरै बाहुन क्षत्री पर्छन् तर सबै पर्दैनन्। घाँस काट्ने, गोवर सोर्ने अनि दूध बेचेर अलिकति पैसाले जोहो गर्ने चितवनको एक बाहुन परिवार र देशको ढुकुटीको चरम दुरुपयोग गर्दै पुस्तौंसम्मलाई पुग्ने अकुत सम्पत्ति जोडेर उल्टो आफैं ठालु बन्ने परिवारमा हामीले अवश्य पनि भिन्नता देख्न सक्नुपर्छ। यी नवीन अछुतहरूलाई नंग्याउने र पाखा लगाउने, राष्ट्रको भान्सा/चुलाबाट टाढा राख्ने पहल हामीले गर्नैपर्छ।
कथित अछुत जातिलाई घरभित्र ल्यायो भने वा उनीहरूसँग घुलमिल भयो भने परिवार र समुदायको कुल देवता अर्थात् पितापुर्खाका आत्मा रुन्छ भन्छन् रुढिवादले ग्रस्तहरू। यस्तो पुरातन विचारले हाम्रो समाजलाई अगाडि बढाउन पक्कै सक्दैन, उल्टो पछाडि धकेल्छ। संसार कहाँबाट कहाँ पुगिसक्दा पनि हामी जहाँको तहीँ रहन्छौं जुन कुरो हाम्रा पितापुर्खाका आत्माले पक्कै देख्न चाहँदैनन्। कुन मानिस आफ्ना सन्ततिको उन्नति र प्रगति चाहँदैनन् र? बरू शक्ति र द्रव्यको अत्याधिक मोहले नैतिकताको रछ्यानमा पुगेका फोहोरी नवअछुतहरू हामीले चिन्न र समाजबाट, घरटोलबाट अलग राख्न सक्नुपर्छ किनभने उनीहरूको दुष्कर्मले धेरै परिवारलाई पुस्तौँसम्म सताइरहन्छ। धेरै जनताको भविश्य अन्धकारमय बनाइरहन्छ। यति धेरै प्राकृतिक स्रोत र साधन, हावापानी हुँदाहुँदै पनि किन अधिकांश युवा हाम्रो मुलुकमा भविश्य देख्दैनन्? सिधै मुलुकलाई अँध्यारो भविष्यतर्फ धकेल्ने, व्यक्तिगत, परिवारगत, गुटगत स्वार्थका निम्ति देशको र समाजको भविष्य दाउमा राख्ने मानिस अछुत कि लुगा सिलाएर इज्जत ढाकिदिने, हलो कोदालो बनाएर खेतीपाती गर्न अत्यावश्यक सेवा पुर्याेउने मानिस अछुत?
थोरै आम्दानीमा धेरै मेहनत र कला देखाउने सोझो, इमानदार मान्छे कसरी अछुत हुनसक्छ? अनि निहित स्वार्थका निम्ति मान्छे मार्ने, यातना दिने, बेपत्ता पार्ने, ठग्ने, लुट्ने मान्छेचाहिँ कसरी उल्टै प्रतिष्ठित भए? ठूला भनिएकहारू कसरी समाजको नियम/कानुनभन्दा माथि भए? के उनीहरू देवता हुन? यदि देवता नै थिए भने उनीहरू किन दिनानुदिन हाम्रो देश, हाम्रो समाज दुर्गन्धित पार्दैछन्? सप्तरी र सिरहाका डोम होइन अब त्यहाँका जाली फटाहाहरूको छायाँसमेत पार्न हुँदैन त्यहाँका नागरिकले। कुनै जमानामा राजनीतिक दलहरूले यस्तै आग्रह गर्थे तर आज ती दलका कतिपय मानिस नै नवअछुत बनेका छन्, कतिपय बन्ने ब्यग्र प्रतीक्षामा छन्। अब जनताले टुलुटुलु हेरेर बस्न हुन्न, अनेक घाउ/चोट सहिरहन हुन्न।
हुन त पश्चिमा मुलुकमा सबै थोक ठीक र राम्रो हुन्छ भन्न खोजेको होइन तर एक कुरा साँचो हो कि त्यहाँ समाज हरतरिकाले सफा र कञ्चन राख्न सबै जनताले भूमिका खेलेका हुन्छन्। बाटोमा हेर्दा कसैले कसैको मतलब नगरेको जस्तो देखिएला तर वास्तवमा सबैले सबैको याद गरिराखेका हुन्छन्। र, झ्याप्प केही दुर्घटना वा कुनै नराम्रो चिज सडकमा देखे भने तुरुन्तै पुलिस बोलाइहाल्छन्। परिआएको खण्डमा अपिरिचित नै भए पनि पीडितको पक्षमा अदालतमा उपस्थित भई बयान दिन खुसी मान्छन्। त्यसैले त्यहाँ मानिस पुलिसभन्दा बेसी छरछिमेक र बटुवासँग बढी सतर्क हुन्छन्। हामी पनि बाटोमा हिँड्दा केही नराम्रो देखियो भने तुरुन्तै पुलिसलाई खबर गर्ने बानी किन नबसाल्ने? घुस दिएको वा लिएको थाहा पाउँदा किन पत्रपत्रिका र सरोकारवाला निकायको ढोका नढक्ढक्याउने? हामी धेरैले यसरी चेतनशील भएर थोरै मात्रै पनि तत्परता देखायौं भने हाम्रो समाजमा नियम/कानुनप्रति मानिस अलिक डराउँथे कि? आफूलाई कुनै पनि नियम/कानुनबाट अछुत ठान्नेहरूको मनोबल अलिकति भए पनि गिर्थ्यो कि?
झट्ट सुन्दा यो असम्भव परिकल्पना जस्तो लाग्न सक्ला तर स–साना कुराबाट सुरु गर्र्यौं भने हाम्रो समाजको मुहार बिस्तारै फेरिँदै जानेछ। सबैले सतर्कता अपनाउने हो भने असम्भव भन्ने केही छैन तर छुवाछुतविरुद्ध विज्ञापनमा खेल्ने अनि आफैँ कथित दलितलाई घरमा डेरा नदिने एक जना कलाकारको जस्तो प्रवृत्ति भयो भने समाजको उन्नति कहिल्यै हुन सक्दैन। देशमा मौलाएको भ्रष्टाचारविरुद्ध चर्कोरूपमा बोल्ने र अभियान सञ्चालन गर्ने मानिस आफूलाई पर्दाचाहिँ आफैं घुस दिन लालायित हुन्छ भने त्यसको के अर्थ भयो र? जति नै नैतिकरूपमा फोहोरी, गन्धे, अछुत भए पनि पावर र पैसा छ भनेर उसैसँग हात मिलाउन र कानेखुसी गर्न जाने हाम्रो आमरोग हो जसको सही उपचार खोज्न ढिला गर्न हुन्न। बलेको आगो मात्रै ताप्नेहरूले देशको सुन्दर भविष्य निर्माण गर्न कुनै भूमिका खेल्न सक्दैनन्। फलतः केही मानिसलाई हुन्छ मालामाल, अरु धेरैको खोसिन्छ मुखको माड।
तसर्थ हामीले जतिसुकै गाली गरौं समाजका नयाँ अछुतहरूलाई केहीले पनि छुन सक्दैन। आज थोरै चर्चा हुन्छ, भोलि त साम्य भइहाल्छ। देश, जिल्ला, गाउँ सहर टोल डुबाउने, त्यहाँको स्रोतसाधनको दुरुपयोग गर्ने सबै समाजका अछुत हुन्। आफ्नो परम्परागत सिप र कलामार्फत समाजको सेवा गर्नेहरू कदापि अछुत हुन सक्दैनन्। यो विवेक हामीमा नपलाएसम्म हाम्रो हविगत र हालत यही नै रहनेछ। हामी जहाँको तहीँ रहनेछौं, संसार कता पुगिसकेको हुनेछ। तसर्थ, अब हामीले हाम्रो समाजका खास अछुत को हुन्, कसले अत्याधिक फोहोर गर्दैछन्, कसले हानिकारक कीरा र भाइरस फैलाउँदै छन् भन्ने बुझ्नु जरुरी छ। नयाँ, आधुनिक, विकसित नेपाल बनाउने एक मुख्य सूत्र यो पनि हो।
समाज परिवर्तन गर्ने हो भने पहिला आफैँलाई परिवर्तन गर्न सक्नुपर्छ। विकास भन्ने कुरा भौतिकमात्र नभएर नैतिक र मानसिक पनि हो। हामी मानसिक रोगी रहुन्जेल समाज कसरी स्वस्थ रहन्छ? समयानुकूल हामीले आफ्नो मनलाई धुन/पखाल्न सक्नुपर्छ र समाजका, देशका, भविष्यका सन्ततिका वास्तविक सत्रु पहिचान गर्न सक्नुपर्छ। आफ्नो धर्म/संस्कृति पुरै बिर्सनु हुन्न तर त्यसले लगाएका कतिपय पट्टी हाम्रा आँखाबाट निकाल्न थाल्नुपर्छ। नत्र जहिले पनि, जता पनि अन्धकारै अन्धकारमात्र देखिनेछ।
No comments:
Post a Comment