२७ जना दलित परिवारले एउटै आरनबाट गुजारा चलाउँदै


खलङ्गा (बैतडी),  चैत १४ गते । बैतडी भटना गाविसमा २७ जना दलित परिवारले एउटै आरनबाट गुजारा चलाउँदै आएका छन् । पुर्खौैंदेखि चलिआएको आरन उद्योगलाई नयाँ पुस्ताले समेत रोजगारीको माध्यम बनाएका छन् । भटना–१ भिताडी गाउँमा बसोबास गर्ने २७ दलित परिवारले आरन उद्योगबाट विभिन्न धातुका भाँडावर्तन निर्माण गर्दै दैनिक गुजारा चलाएका हुन् । 
बाजेको पालादेखि नै सञ्चालनमा रहेको आरनबाट पछिल्लो समयमा परिवार पाल्न भने गाह्रो भएको स्थानीय चक्र लुहारले बताउनुभयो । तामा, फलामजस्ता धातुका विभिन्न सामग्री निर्माण गरेर स्थानीय ठाउँमा बिक्री गर्ने र केही भाँडाकुँडा दैनिक ज्यालादारीमा निर्माण हुने लुहारले बताउनुभयो । कुवाँकोट र भटना गाविसका छवटा गाउँका कृषकका लागि दैनिक ज्यालादारीमा काम गर्दा न्यून पारिश्रमिक पाइने भएका कारण आफूहरू अप्ठेरोमा पर्दै गएको रघो लुहारको भनाइ छ । १२ वर्षको उमेरदेखि आरनको काम गर्दै आएका ६० वर्षीय लुहारले दिनभरि काम गरेको केही माना धान अथवा मकै दिने गरेको बताउनुभयो । 
पछिल्लो समय परिवारको आकार बढ्दै जाँदा आरनबाट गुजारा चलाउन समस्या हुने भएकाले युवाहरू भारतमा ज्यालादारी गर्न जाने गरेको उहाँले बताउनुभयो । सबै जनाको साझा आरनमा काम गर्न भने रमाइलो हुने भए पनि आर्थिक हिसाबले सङ्कटमा परिरहेको उहाँको भनाइ छ । समुदायको आफ्नै लगानीमा सञ्चालित उक्त आरन उद्योगका लागि सरकारी निकायहरूबाट भने कुनै सहयोग नभएको स्थानीयवासीको गुनासो छ । रासस 

No comments:

Post a Comment