बाजुराका भोटे समुदायले छुवाछूतजन्य व्यवहार मान्दैनन्

कथित दलित-गैरदलितबीच छुवाछूत विभेद कायमै भए पनि यहाँका भोटे समुदायले भने छुवाछूतजन्य व्यवहार नगर्ने पाइएको छ ।अछूत भनेर गैरदलितको घरमा दलितलाई प्रवेश निषेध गरिन्छ अनि दलित समुदायकालाई होच्याउने व्यवहार हुन्छ । गाउँघरका चिया पसलमा त दलितले चिया खाएको गिलाससमेत आफैंले माझ्नुपर्ने परम्परा हटेको छैन । 'भोटे जनजातिले भने दलितलाई विभेद गर्दैनन्,' जिल्ला दलित नेटवर्कका अध्यक्ष रामबहादुर सुनारले भने ।
भोटे जनजाति समुदायलाई यहाँको गैरदलित समाजले समेत गैरदलित नै मान्छन् । उनीहरूलाई छुवाछूतको विभेद पनि हुँदैन । गैरदलित समुदायमै पर्ने भए पनि अन्य गैरदलितले दलितमाथि गर्ने जातीय विभेद जनजातिले गर्दैनन् । 'हामी कसैसँग पनि कुनै प्रकारको छुवाछूतको विभेद गर्दैनौं,' नेपाल भोटे जनजाति सेवा समिति अध्यक्ष नृप भोटेले भने ।    दलितहरूमै पनि जातीय विभेद छ । लोहारले सार्कीलाई आफूभन्दा तल्लो मान्दछन् । दमाईले बादी (गन्दर्भ) लाई तल्लो जाति ठान्दछन् । दमाई र विश्वकर्माबीच पनि विभेद छ । उनीहरूबीच एकआपसमा बिहेबारी चल्दैन । पानी र भान्सासमेत अलग्गै गर्नुपर्ने परम्परा छ ।
दलितले भर्खर मात्रै सदरमुकाम क्षेत्रका सार्वजनिक होटलमा छाकबास पाउन थालेका भए पनि गाउँघरमा भने उनीहरूलाई गैरदलितको घरमा बास बस्न असजिलो छ । दलित समुदायको कुनै व्यक्ति पाहुना भए गैरदलितले बासका लागि गैरदलितकै टोलमा पठाउने व्यवहार अझै छ ।
सार्वजनिक स्थलमा गरिएको भोजभतेरमा समेत दलितले छोएको भान्सा गैरदलितका लागि अमान्य हुन्छ । अछूत भनिएकालाई अलग्गै खाना पानी दिने गरिन्छ । 'वल्लो-पल्लो गाउँ जाँदा बास नपाएर अपहेलित हुनुपर्ने समस्या सहँदै आउनुपरेको छ,' जिल्ला दलित नेटवर्कका अध्यक्ष रामबहादुर सुनारले भने, 'खासगरी गाउँघरका बूढापाकामा जातीय छुवाछूतको भावना कडा छ ।'
भोटे जनजाति गैरदलितको घरमा बास बस्न र बास दिन कुनै असजिलो मान्दैनन् । दलितको घरमा खाना खान्छन् तर गाउँको कुनै गैरदलित युवाले गाउँकै दलितको घरमा खाना खाएपछि पूरै गैरदलित समुदायले होच्याएर अपमानित गर्छन् । दलितलाई मठमन्दिरमा छुवाछूत गरिन्छ ।
पानी पँधेरामा विभेद हुन्छ । तर जनजातिले भने आफ्नो कुनै पनि संस्कारमा दलितलाई छुवाछूतको विभेद गर्दैनन् । 'भोटे जनजातिले दलितलाई कतै विभेद गर्दैनन्,' अध्यक्ष सुनारले भने । जनजातिको बसोबास जिल्लाका विभिन्न गाविसमा छ ।  
स्रोत: कान्तिपुर 

No comments:

Post a Comment