शौचालयमा बस्दै आएकी ज्ञानीले भनिन्, अब त म मेरै घरमा बस्छु

गुल्मी : पाँच वर्षदेखि सार्वजनिक शौचालयमा बसिरहेकी ज्ञानी परियार सहयोग रकमबाट गाउँलेले बनाइदिएको आफ्नै घरमा सरेकी छिन्। 'अब त म मेरै घरमा बस्छु, छोडेर कतै पनि जान्नँ', घर पाएपछि परियार सोद्धै थिइन्, 'उ त्यो ढीक माथिको नासपातीको रूख पनि मेरै हो नि?'

'अब यो घर छोडेर कहीँ जाने हैन नि !' स्थानीयबासी उनलाई सम्झाउँदै थिए। मुसुक्क हाँस्दै उनले भनिन्, 'नाइँ, अब त किन जाम् र, जादिनँ। ट्वाइलेटको टिन पनि झिकेर ल्याए, चप्पल पनि छैनन्। अब एउटा कटेरो पनि बनाइ दिनु पर्‍यो, भैंसी पाल्ने हो।'ज्ञानी २० वर्षदेखि सिमलटारीमा घरबारबिहीन जीवन बिताइरहेकी थिइन्। बच्चामै घरपरिवारबाट बाहिरिएकी उनी सडकमा बस्न वाध्य भएकी थिइन्। विगत पाँच वर्षदेखि मर्भुङको सिमलटारी बजारमा स्थानीय क्लबले बनाएको शौचालयमै बसेर गुजारा गर्दै आएकी ज्ञानी परियारका तीन छोरा छन्। सडकमै बस्दा बलात्कारबाट उनका तीन छोरा जन्मेका छन्। परियार आफैंलाई छोराहरूका बाबुको पत्तो छैन।

'पहिले उनी सडकमै बस्थिन्। पछि शौचालयमा सरिन्। त्यहीँ बस्दा कसले बलात्कार गर्‍यो र सन्तान जन्माइन् नै थाहा छैन,' स्थानीय समाजसेवी टिका जिसीले बताए।ज्ञानीका जेठा छोरा १४ वर्षका भइसकेका छन् भने माइला र कान्छा छोराको उमेर क्रमश: १२ र १० वर्ष छ। उनका छोराको न्वारन नभएको भएपनि गाउँलेले उनीहरूको नाम राखिदिएका छन्। गाउँलेहरू उनका छोरालाई बिर्खे, तिर्खे र गोर्खे नाम दिएका छन्।

घर सरेसँगै स्थानीयले परियारको स्थायी बन्ध्याकरण पनि गराइदिएका छन्। स्थानीय बजारभन्दा केही टाढाको ठाउँमा घर किनिदिएकोले परियारले फेरि घर छोड्ने हुन् कि भन्ने चिन्ता छ स्थानीयबासीलाई।

परियारका बारेमा विभिन्न मिडियामा समाचार आएपछि उनको लागि आर्थिक सहयोग शुरू भएको थियो। विभिन्न संस्था र व्यक्तिहरूबाट प्राप्त रकमबाट चार लाखमा वाग्ला गाविस ८ का मधुराम पन्थिको दुई तले ढुंगे घरसहित दुई रोपनी सात आना जग्गा खरिद गरिएको थियो।परियारका लागि गुल्मी जिल्ला समाज युकेले १ लाख २२ हजार, बेलायतमा रहेको एड्म्यु नामक संस्थाले १ लाख ४१ हजार, काभ्रे जिल्ला घर भइ हाल अमेरिका बसोबास गर्दै आएका अर्जुन मैनालीले ३५ हजार र स्थानीय महिलाहरूको पहलमा जम्मा भएको ५६ हजार गरेर ३ लाख ५४ हजार संकलन भएको थियो।घर जग्गा हस्तान्तरणपछि स्थानीबासी र सञ्चारकर्मीहरू हिँड्नेबेला ज्ञानीले भनिन्, 'बिहेको निम्तो खान भोलि त तलतिर झर्ने हो।'
स्रोत: अन्नपुर्ण 

No comments:

Post a Comment