चिनी नेपालीका दुइटै छोरीले आँखा देख्न सफल


बाजुरा, २२ फागुन - पान्डुसैन–९ खोयाकी ३२ वर्षीया चिनी नेपालीका दुइटै छोरी जन्मजात दृष्टिविहीन भएपछि छोरीहरूको भविष्य सोचेर चिन्तित हुन्थिन् । छोरा र छोरीमा समेत भेदभाव हुने समाजमा अझ दृष्टिविहीन छोरीहरू जन्मेपछि उनीमाथि परिवारकै सदस्यले समेत भेदभाव गर्न थालेका थिए । छोरा नजन्माएको भन्दै श्रीमान् नरेन्द्र नेपाली पनि बिदेसिएपछि उनलाई मर्नु न बाँच्नु भएको थियो ।

उनका आठ वर्षीया जालिमा र दुई वर्षीया सुजाता नाम गरेका छोरी छन् । गत २० पुसमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराको सहयोगमा गेटा आँखा अस्पतालबाट डा. दीपक खड्कासहितको टिमले दुवै छोरीको आँखामा रहेको मोतियाबिन्दु हटाइदिएपछि चिनी नेपालीमा हर्षको सीमा नै छैन ।जग्गाजमिन केही नभए पनि चिनी नेपालीमा अब आफं केही गर्छु भन्ने मनोबल जागेको छ । अहिले उनी मालिकले दिएको खलियाबापतको अन्नले बालबालिकाको पेट पालिरहेकी छन् । अहिले दुवै बालिकाको एउटा आँखाको अपरेसन भएको छ भने एउटा आँखा देख्न सफल भएका छन् ।

दुवै आँखाको अपरेसन एकै पटक नहुने भएकाले दुवैको एउटा आँखाको मात्र अपरेसन गरिएको डा. दीपक खड्का र डा. ज्ञानेन्द्र दवाडीले बताए । डेढ महिनापछि दुवै बालिकाको अर्को आँखाको पनि अपरेसन हुने उनीहरूले बताएका छन् । बालिकाको उपचारका लागि रकमसमेत संकलन गरिएको थियो । दुई वर्ष पहिले कोल्टीमा बसेको शिविरमा आखा जाँच गराउँदा उपचार गर्न सहर लैजानुपर्ने जानकारी पाएपछि खर्च अभावमा ती दुई बालिकाको उपचार हुन सकेको थिएन ।

No comments:

Post a Comment