दलित अधिकार रक्षाका लागि मानवअधिकार आयोगको भूमिका

महावीर विश्वकर्मा
काठमाण्डौं, १६ चैत्र ।
राष्ट्रिय मानवअधिकार आयोग र दलित अधिकारकर्मीहरुको बीचमा जातीय विभेद न्युनिकरणका लागि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ । दलित अधिकार पनि मानव अधिकारसँगै सम्बन्धित रहेकोले दलित अधिकारकर्मीहरुले अबको बाटो के हुने भन्ने विषयमा आज आयोगसँग छलफल गरेका हुन् ।
समता फाउण्डेशनले संयोजन गरेको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका कायममुकायम सचिव वेदप्रसाद भट्टराईले जातीय विभेद अन्त्यका लागि दलित अधिकार र मानव अधिकारको क्षेत्रमा लागेकाहरुको एकजुट र ऐक्यबद्धता आवश्यकता रहेको औँल्याउनुभयो । जातीय भेदभाव र छुवाछुतका केही घट्नामा आयोगले निर्वाह गरेको भूमिका बारे उहाँले जानकारी समेत दिनुभएको थियो । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लगियो भने विभेद न्यूनीकरणमा उल्लेखनीय सुधार आउने उहाँको भनाई थियो ।
“दलितमाथी हुने ज्यादतीका घटनाका अवस्था र प्रकृति” विषयमा समता फाउण्डेशनका विजय विश्वकर्माको प्रस्तुती रहेको कार्यक्रममा बोल्ने दलित अधिकारकर्मीहरुले दलित अधिकार रक्षाका लागि अब राष्ट्रिय मानव अधिकार आयोग कसरी अगाडी बढ्नुपर्छ भन्ने विषयमा विचार राखेका थिए । साथै आयोगको रिक्त पदाधिकारी नियुक्ति गर्दा दलित समुदायको पनि प्रतिनिधित्व हुनुपर्नेमा सबैको जोड थियो ।
समता फाउण्डेशनका अध्यक्ष पदम सुन्दासले सहजीकरण गर्नुभएको कार्यक्रममा दलित अधिकारकर्मीहरु गणेश वि.के, कमला हेम्चुरी, अमृत विश्वकर्मा, चक्रमान विश्वकर्मा, रुकु रणपाल, ओमप्रकाश भि.के.लगायतको उपस्थिति रहेको थियो ।स्रोत :- जागरण मिडिया सेन्टर

No comments:

Post a Comment