कास्की, चैत्र ७ -
चार वर्षको उमेरमा पोलियो रोगले अपांग भएका कास्की केउरेनीका ४५ वषर्ीय सूर्य विकको कम्मरदेखि तल्लो भाग चल्दैन । खुट्टा नचलेका कारण हिँडडुल गर्नुपर्दा उनी दुई हातको सहारामा घसि्रँदै हिँड्छन् ।
तर आफू अपांग भए पनि उनले १४ वर्षदेखि आरनको तातो फलामसँगै खेलेर पसिना बगाउँदै पाँच जनाको परिवार पाल्दै आएका छन । मेरुदण्डसमेत बाङ्गो भएकाले बसेर काम गर्न अप्ठ्यारो भए पनि उनले तीन छोरा, श्रीमती र आमाको पालनपोषणको जिम्मेवारी पूरा गर्दै आएका छन् । 'छोराछोरी पढाउने र बिहानबेलुकाको गुजारा उहाँकै पौरखले चलेको छ,' श्रीमती सुकुमायाले भनिन्, 'अपांग शरीर कामका घोटिँदा समस्या हुँदाहुँदै पनि काम गर्नु बाध्यता भएको छ ।' उनका अनुसार सूर्य बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म आरनकै काममा खटिन्छन् । छोराहरू सानै र घरमा कमाइ गर्ने अरू कोही नभएकाले उनी सकी नसकी भए पनि आरनमा काम गर्छन् ।
उनले फलामका हँसिया, कोदाली, चक्कु, खुकुरीलगायत सबै किसिमका उपकरण बनाउँछन् । कुशल कालिगढ मानिने उनले गाग्रीलगायत भाँडा पनि बनाउन जानेका छन् । अपांग भएर पनि सूर्यको सीप देखेर सबैले उनलाई गाउँका कुशल कालिगढका रूपमा चिन्छन् । उनले डोको नाम्लो बुन्नसमेत जानेका छन् । 'सामानको माग त धेरै हुन्छ,' शरीर कमजोर भएकाले मागजति पुराउन अझै सकिरहेको छैन,' आरनमा खटिने उनले भने, 'यति काम गरिएन भने त घरको चुलो नै बल्न गाह्रो छ ।' बिहानै उठेर दुई हातले टेकेर घिसि्रँदै घर छेउमा रहेको आरनमा फलाम पिटेर सामान बनाउँदै उनको जीवन व्यतित भइरहेको छ । उनले पीडा सहेर पनि काम गर्नुपरेको दुखेसो पोखे ।
बाबुबाजेले गरेको पेसालाई यिनले निरन्तरता दिएका हुन् । गाउँले हसियाँलगायत औजार बनाइदिएबापत सात मुरी अन्न र केही रुपैयाँ पनि उठ्छ । यसैबाट उनको परिवार चल्दै आएको छ । आर्थिक अवस्थाले पढ्ने क्षमता नभएपछि १४ वर्षको उमेरदेखि आरनमा बसेर फलामको काम गर्दै आएको उनले बताए । घिसि्रएर हिँड्दाहिँड्दा उनका हात र खुट्टाका छाला खुइलिएर खोपिल्टा परेका छन् । त्यस्तै दाहिने खुट्टाको पछाडिको कुर्कुच्चोसमेत अगाडि फर्किएको छ । तीन वर्षअघि कोखो दुखेर हैरान भएपछि उनलाई उपचारका लागि आफन्तले बोकेर पोखरा लगे । अस्पतालले मृगौलामा पत्थरी भए पनि अपांग भएकाले पोखरामा शल्यक्रिया गर्न नसकिने भन्दै अस्पतालले काठमाडौं रिफर गर्यो । काठमाडौ गएर उपचार गर्ने आर्थिक अभाव भएपछि गाउँकै गोर्खासैनिकका क्याप्टेन पूर्ण गुरुङ ह्याल्मोको सहयोगले शल्यक्रिया गरेर मृगौलाको पत्थरी फाल्न पाए । गुरुङको सहयोग नपाएको भए अहिलेसम्म उनको मृगौलामा समेत समस्या आइसक्थ्यो । उनको दयनीय अवस्था देखेर गुरुङले नै टिनले छाएर बस्ने घरसमेत बनाइदिएका छन् ।
अरू उभिएर हिँडेको देख्दा आफूलाई पनि हिँड्ने रहर लाग्ने गरेको उनले बताए । 'कतै उपचार हुन्छ भन्ने पनि सुनेको छु तर आर्थिक अवस्थाले उपचार गराउने अवस्था छैन,' उनले दुखेसो पोखे । आरनका लागि वनमा गोल पोल्न आफन्तले सहयोग पुर्याउँछन् । स्रोत : कान्तिपुर
No comments:
Post a Comment