गोरखामा जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको सालिक अनावरण

महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
काठमाण्डौ, फागुन २१ ।
जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको सालिक आज अनावरण गरिएको छ । गोरखाको पान्द्रुङ्ग—२ स्थित दिलबहादुरले पढेको विद्यालय श्री ब्रह्मचारिणी नि.मा.वि.को प्राङ्गणमा राखिएको उनको सालिक नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष एवम् संविधान सभाका सभासद दलजीत श्रीपालीले अनावरण गर्नुभएको हो ।
सालिक अनावरण गर्दै जनयुद्धका पूर्व कमाण्डर समेत रहनुभएका दलजीत श्रीपालीले क्रान्ति अझै पूरा नभएको बताउनुभयो । “क्रान्ति अझै जारी छ । पूरा भएको छैन” उहाँले भन्नुभयो, “क्रान्तिको रुप मात्रै फेरिएको हो । पुग्नुपर्ने ठाउँमा हामी पुगेका छैनौँ । सहिदको सपना पूरा भएकै छैन ।” जनयुद्धका प्रथम सहिदको सालिक अनावरण गर्न पाउँदा आफुलाई गौरव महसुस भएको भन्दै सहिदका सपना अनुसारको संविधान निर्माणका लागि आफु दिलोज्यानले लागिपर्ने पनि उहाँले बताउनुभयो ।
मारिएको यतिका वर्षपछि छोराको सालिक उसैले पढेको विद्यालयमा देख्न पाउँदा छोरा नै यहीँ भए झैँ लागेको दिलबहादुरका बुवा सेते रम्तेल र आमा सरीमाया रम्तेलले प्रतिक्रिया दिनुभयो । सालिक अनावरण गर्दा हर्षको आँशु आएको भन्दै उहाँहरुले सालिक निर्माण गर्ने नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा र अनावरण कार्यक्रम आयोजना गर्ने सहिद परिवार समाज गोरखालाई धन्यवाद पनि दिनुभयो । जीन्दगीमै आज जस्तो खुशी यसअघि कहिल्यै नमिलेको उहाँहरुले बताउनुभयो ।
सो विद्यालयमा कक्षा ५ मा पढ्दै गरेका १० वर्षीय (जन्म वि.सं. २०४२ कार्तिक १४) दिलबहादुर रम्तेलको २०५२ फागुन १४ गते प्रहरीको गोली लागी ज्यान गएको थियो । प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई माओवादीको आरोपमा घिसार्दै लैजाँदा अभिभावक र विद्यार्थीले ढुङ्गामुढा गर्दै पछि लागेपछि प्रहरीले गोली चलाउँदा दिलबहादुर रम्तेल र अर्का विद्यार्थी रामप्रसाद भट्ट घाइते भएका थिए । ब्राह्मणको छोरा रामप्रसादलाई तत्कालै उपचारको लागि अस्पताल लगिए पनि दलितको छोरा दिलबहादुर भने भुँइमै लडिरहेका थिए । विद्यार्थीहरु दिलबहादुरका बुवा सेते रम्तेललाई बोलाउन जाँदा उनी अर्कैको खेत जोत्न गएका थिए । गाउँका सबै मान्छेहरुलाई हारगुहार गरेर घटनास्थल पुग्दा साँझ परिसकेको थियो । काँधको कापमा गोली लागेका उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा राती साढे ९ बजेतिर बाटैमा ज्यान गएको थियो ।

No comments:

Post a Comment