दलितलाई मन्दिरमा विवाह गर्न अवरोध गर्नेले माफी मागे

०७० फागुन २१ गते, कास्की । दलित भएको भन्दै मन्दिरमा विवाह गर्न अवरोध गर्ने पोखरा उमनपा-७ मासवारस्थित पुष्केश्र शिव मन्दिरका पूजारी र मन्दिर व्यवस्थापन समितिले पीडित पक्षसँग माफी मागेका छन् ।मन्दिर व्यवस्थापन समितिले फागुन २१ गते मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी घटनाप्रति माफी माग्दै दुवैपक्षबीच समझदारी भएको जानकारी गराएको हो ।

बागलुङ जिल्ला घर भई पोखरा उमनपा-५ मा बसोवास गर्दै आएका २१  वर्षीय प्रविण बोहोरा र पर्वत जिल्ला सिवालय गाविस कुश्मा निवासी १९ वर्षीया सनम रुचेललाई फागुन १५ गते मन्दिरमा विवाह गर्न व्यवस्थापन पक्षले अवरोध गरेको थियो । घटनापछि पीडित पक्षले फागुन १५ गते नै घटनाका दोषीलाई जातीय छुवाछुत (कसुर र सजायँ ऐन २०६८) अनुसार कारबाहीको माग गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबीच फागुन २० गते साँझसम्म भएको छलफलमा मन्दिरका पूजारी र व्यवस्थापन पक्षले पीडित पक्षसँग आगामी दिनमा घटना नदोहोर्‍याउने भन्दै माफी मागेपछि सहमति भएको पीडित प्रविण बोहोराले बताए ।

मन्दिर व्यवस्थापन समितिका पिताम्बर बरालले जिल्ला प्रहरी कार्यालयका एसपी बसन्तकुमार लामा, डिएसपी राजेशनाथ वास्तोलासहित भएको छलफलमा दुवैपक्षबीच समझदारी भएको बताए । उनले भने, "उहाँहरूलाई हाम्रो कारणले परेको मर्का र चोटप्रति हामीले क्षमायाचना माग्यौ, उहाँहरूले पनि क्षमा दिनु भयो, त्यही समझदारी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हौँ ।"

विवाह र व्रतबन्धको लागि फागुन १३ गते नै मन्दिरमा गएर छलफल गरी फागुन १५ गतेका लागि मिति पक्का गरेर बाजागाजा सहित मन्दिर गएकोमा पूजारी देवीप्रसाद बराल र व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर बरालले जात ढाँटेको भन्दै व्रतबन्ध र विवाहमा अवरोध गरेको पीडित पक्षले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए ।मन्दिरमा विवाह गर्न अवरोध भएपछि उनीहरूले पोखरा उमनपा-३ नदीपुरस्थित नारायणस्थान मन्दिरमा गएर विवाह गरेका थिए ।

No comments:

Post a Comment